काठमाडौं : निर्वाचन आचारसंहिता आजबाट लागू भएको छ। निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जारी गरेको संहिता आजबाट लागू भएको जनाएको हो। निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा यसअघि नै प्रकाशित भइसकेको छ।
आचारसंहिता नेपाल सरकार र मन्त्रीहरु, प्रदेश सरकार र मन्त्रीहरु तथा संवैधानिक निकाय र पदाधिकारीहरुलाई लागू हुनेछ। यस्तै, प्रदेश सरकारका निकाय, स्थानीय कार्यपालिका र सोका सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ। सरकारी, अर्धसरकारी र संगठित संस्था र कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ। राजनीतिक दल र भातृ संगठन, उम्मेद्वार र प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक संस्था र पर्यवेक्षक, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीलाई पनि आचारसंहिता लागू हुनेछ।
आचारसंहितामा तोकिएका सबै पक्षले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गरिएको छ। सबै पक्षहरुले कुनै पनि राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचार गर्न नपाइने उल्लेख छ। यस्तै, राजनीतिक दल वा उम्मेद्वारले आयोजना गरेको बैठकमा भाग लिन नहुने, वार्षिक कार्यक्रममा स्वीकृत भए बाहेकका नयाँ कार्यक्रमको घोषणा र स्वीकृति पनि बन्देज लगाइएको छ।
नयाँ पद सिर्जना, रिक्त पदपूर्ति भत्ता वृद्धि तथा ग्रेड लगायतका कुनै पनि कार्य गर्न नहुने आचारसंहितामा उल्लेख छ। निर्वाचनको काममा बाहेक कर्मचारीको सरुवा वा पदस्थापन गर्न नमिल्ने पनि आचारसंहितामा उल्लेख छ।
आयोगले जुलुस, आमसभा, कोणसभा तथा भेलाका लागि पनि नियम तोकेको छ। प्रचारका क्रममा हुने सवारी साधनको प्रयोगबारे पनि आचारसंहितामा उल्लेख छ। आयोगले चुनावी अभियानमा हेलिकोप्टर प्रयोग गर्दा अनुमति लिनुपर्ने र तोकिएको खर्च सीमाभित्र रहेर उपयोग गर्नुपर्ने व्यवस्था आचारसंहितामा गरेको छ।
आयोगले निर्वाचन प्रचारप्रसारमा आमसञ्चार माध्यमको प्रयोगलाई पनि कडाइ गरेको छ। निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेटभन्दा बढी नहुने गरी २४ घण्टामा बढीमा चार पटक प्रचार गर्न पाइने व्यवस्था गरेको छ।
राजनीतिक दलको प्रचार सामाग्री छाप्न आयोगले साइज नै तोकेको छ। यस्तै, आयोगले निर्वाचन खर्च बैंकमार्फत गर्नुपर्ने आचारसंहितामा उल्लेख गरेको छ। खर्च गर्ने अख्तियार प्राप्त अधिकारी राजनीतिक दलहरुले तोक्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ। २५ हजार रुपैयाँभन्दा माथिको चन्दा बैंकमार्फत लिनुपर्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ।
आयोगले जारी गरेको आचारसंहितामा सामाजिक सञ्जालको प्रयोगमासमेत कडाई गर्ने देखिन्छ। आयोगको परिभाषा खण्डमा एसएमएस, फेसबुक, म्यासेन्जर, भाइबर, ट्वीटर, युटुय्ब, इन्स्टाग्राम, ब्लग, गुगल प्लस, टिकटक, ह्वाट्स एप, इमो, वीच्याट, लिन्क्ड्इन, टमलरजस्ता सामाजिक सञ्जाललाई सामाजिक सञ्जालको परिभाषामा पार्दै यसमा कडाइ गरेको छ।
सम्बन्धित समाचार : चुनावका लागि सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै निर्वाचन आयोग, कसैको पक्ष-विपक्षमा लेख्न, लाइक - कमेन्ट गर्नसमेत नपाइने
मौन अवधिमा कुनै पनि प्रकारको प्रचार प्रसारलाई बन्देज लगाइएको छ।