भक्तपुर : मध्यपुर थिमि नगरपालिकास्थित बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाउने भएका छन्।
मध्यपुरथिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताए।
‘मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस वर्ष बैशाख २ गते नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु,’ उनले भने, ‘यो मेरो अन्तिम पटक हो, अर्को वर्ष म जिब्रो छेड्दिन, मेरो उमेरका कारणले पनि समस्या हुन्छ। अब युवापुस्ताले यो जात्रालाई जोगाउन जिब्रो छेड्न तयार हुनुपर्छ, लोप हुन दिनुहुँदैन।’
यो पनि पढ्नुस : बोडेको जिब्रो छेड्ने जात्रा : सुइरो बनाउनेदेखि छेडाउने भाइ र घोच्ने दाइसम्म सबैको एउटै चिन्ता- हामीपछि को?
बोडेको प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा बैशाख २ गते जिब्रो छेड्ने प्रचलन छ। जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ। हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडिएको तथ्यांक छ।
वि सं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए।
