
काठमाडौँः सत्तारुढ पाँच दलीय गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा सहकार्य र टिकट सिट बाँडफाँडको गृहकार्य जारी छ। सत्तारुढ पाँच दलको संयन्त्रको बैठकले महानगर तथा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको टिकटको अन्तिम निर्णय संयन्त्रमार्फत गर्ने निर्णय गरेको छ।
कतिपय स्थानमा जिल्लामा सहमति नहुने निश्चित भएको अवस्थामा संयन्त्रले यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महानगर तथा उपमहानगरका प्रमुख उपप्रमुखको सिट बाँडफाँड केन्द्रीय संयन्त्रबाट हुने बताए। कार्कीका अनुसार महानगर ÷उपमहानगरको वडाको सिटको हकमा सम्बन्धित जिल्लाबाटै निर्णय हुनेछ।
यस्तै, गाउँपालिका र नगरपालिकाको प्रमुख उपप्रमुखको सिट बाँडफाँडको जिम्मेवारी जिल्ला तहलाई दिइएको छ। तालमेलबारे आवश्यक निर्णय पनि जिल्ला तहबाटै हुनेछ।
संयन्त्रले वैशाख ३ गतेभित्र प्रदेश संयन्त्रमा नाम पठाउन र वैशाख ५ भित्र केन्द्रीय संयन्त्रमा नाम पठाउन मातहतलाई निर्देशन समेत दिएको कार्कीले बताए।
प्रदेश र जिल्ला संयन्त्रमा प्रत्येक दलबाट प्रमुखसहित दुई÷दुई प्रतिनिधि रहने जनाइएको छ। सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित जिल्लाका सभापतिले गर्नेछन्।
बैठकले गठबन्धनमा सिट बाँडफाँडका आधारमा पनि तय गरेको छ। यसअघि गठबन्धनमा आवद्ध दल विजयी भएका स्थानमा सम्बन्धित दलले नै उम्मेदवारी दिनेगरि समझदारी बनेको छ।
सम्बन्धित समाचार
स्थानीय निर्वाचनमा भागबन्डाबारे टुंगो लगाउन गठबन्धनले दियो वैशााख ४ गतेसम्मको भाका