काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दलका नेता र कार्यकर्तालाई वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावबारे संशय व्यक्त हुने अभिव्यक्ति नदिन सचेत गराएको छ।
बिहीवारको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावबारे भ्रम नफैलाउन आग्रह गरेका हुन्। पौडेलले अहिले आयोग निर्धारित समयमा नै निर्वाचन सम्पन्न गर्न लागिपरेको बताए।
'निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका बारेमा सशंय व्यक्त गर्ने अभिव्यक्तिहरु राजनीतिक दलका इमानदार नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको ध्यानकर्षण भएको छ,' प्रवक्ता पौडेलले भने, 'निर्वाचनका विषयमा अन्योलता सिर्जनाका गर्ने खालका अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ।'
केहीदिन यता सत्तारुढ गठबन्धनमा रहेका नेताले निर्वाचन सर्न सक्ने भन्दै अभिव्यक्ति दिएका थिए। आयोगले तिनै कुराहरुलाई संज्ञानमा लिँदै त्यस्तो अभिव्यक्ति नदिन भनेको हो।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केही समय अघि नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको (नेकपा)का चुनावमा सहभागी हुने निश्चित भए चुनावको मिति सार्न सकिने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर आयोगले नेपालको नाम नलिई सचेत गराएको हो।
आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमाथि अनुसन्धान भइरहेको समेत बताएको छ। यसअघि नेपाली कांग्रेसका नेता शशांक कोइरालाले ६ करोड खर्च गरेर चुनाव जितेको अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको थियो। यस्तै, एकीकृत समाजवादीले गत शनिवार काठमाडौंमा आयोजना गरेको आमसभामा पनि आचारसंहिता उल्लंघन भएको गुनासो आएको भन्दै जवाफ दिन आयोगले निर्देशन दिएको थियो।
गत बुधवार नेकपा (माओवादी केन्द्र)ले चुनाव प्रचारका लागि बनाएको पोष्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्विर राखेर प्रचार गरेको थियो। कुलमानको तस्विर निर्वाचनको प्रचारप्रसारमा प्रयोग गरेपछि माओवादीको आलोचना भएको थियो। त्यसपछि माओवादीले प्रचार सामाग्रीबाट घिसिङको तस्विर हटाएको थियो।
आयोगका प्रक्ता पौडेलले निर्वाचन आचारसंहिता उलंघन गर्नेमाथि अनुसन्धान भइरहेको र चाडैँ कारबाहीको प्रक्रिया अघि बढ्ने बताए।