PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चुनावबारे विप्लवको ढुलमुले नीति, न पूर्ण सहभागिता न त बहिष्कार



विधुर ढकाल

चुनावबारे विप्लवको ढुलमुले नीति, न पूर्ण सहभागिता न त बहिष्कार

काठमाडौँ: निर्वाचन उपयोग र बहिष्कारको नीतिबारे यतिबेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विवादमा तानिएको छ। गत चैत ३ देखि १३ गतेसम्म कपिलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको १२औं पूर्ण बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय त गर्‍यो। तर, यसपटक निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गर्न सकेन। केन्द्रीय कमिटीको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनबाट विवाद उत्पन्न भएको नेकपामा अहिले चुनावमा सहभागी हुने र नहुनेबीचको अन्तरद्वन्द्व चर्किँदै गएको छ।

केन्द्रीय कमिटीको बैठकले ६ वटा विषयमा निर्णय लिएको पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीको मुखपत्र रातोखबरमा लेख प्रकाशित गर्दै निर्वाचनबारे पार्टीको मत प्रकट गरेका छन्।

‘संसदीय व्यवस्था र स्थानीय चुनावबारे हाम्रो नीति’ उपशीर्षकमा विप्लवले संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको व्यवस्था भएको भन्दै लेखेका छन्- ‘यसको मुख्य चरित्र भनेको दलाल पुँजीपति वर्गको लुट एवम् अधिनायकत्वलाई श्रमिक जनतामाथि लाद्ने र आफ्नो लुटको स्वर्गलाई सुरक्षित गर्ने हो। यो व्यवस्थाभित्र हुने चुनाव पनि यही व्यवस्थालाई रक्षा गर्ने साधन वा विधि मात्र हुन्। यसर्थ केन्द्रको होस् वा स्थानीय यसका चुनावबाट जनताको सत्ता निर्माण गर्न सकिँदैन र सम्भव रहँदैन।‘

उनले यति हुँदाहुँदै संसदीय व्यवस्थाको चुनावमात्र व्यवस्था बचाउने साधन नभएको बताएका छन्। उनले निर्वाचनको मामिलामा क्रान्तिकारी पार्टीले कार्यनीति लिने भन्दै निर्वाचनलाई क्रान्तिकारी पार्टीले उपयोग वा बहिष्कार जे गर्दा पनि प्रभावकारी हुने दाबी गरेका छन्।

‘संसदीय चुनावको विषय आउँदा क्रान्तिकारीहरूले संसारभर वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षको ठोस वस्तुस्थिति अनुरूप उपयोग, बहिष्कार र सशस्त्र बहिष्कार गर्दै आएका छन्,’ उनले अगाडि लेखेका छन्,  ‘यो प्रयोगमा जुन पार्टी र नेतृत्वहरू वास्तविक इमानदार र क्रान्तिकारी छन् ती जे गर्दा पनि सफल देखिएका छन् भने जो इमानदार, वस्तुवादी एवम् क्रान्तिकारी छैनन् ती जे गर्दा पनि जनताबाट अलग भएका छन् र असफल भएका छन्।‘

उनले यसअघि पार्टीले गरेको बहिष्कार केही प्रभावकारी र केही देखावटी खालका मात्र भएको टिप्पणी गरेका छन्।

‘हाम्रो पार्टीले यसको निर्माण भएदेखि बहिष्कार गर्दै आएको छ। बहिष्कारहरू कुनै प्रभावकारी भएका छन् भने कुनै औपचारिक र देखावटी खालका मात्र भएका छन्,’ विप्लवले अगाडि लेखेका छन्, ‘जस्तो कि गएका सङ्घ र स्थानीय चुनावहरूको बहिष्कार सशक्त र प्रभावकारी रहे भने उपचुनाव औपचारिक खालका मात्र भए। तथापि तिनको राजनीतिक सन्देश ठिकै रह्यो।‘

उनले केन्द्रीय कमिटीले निर्वाचनबारे लिएको निर्णय अगाडि सारेका छन्। ‘पार्टी दर्ता गरेर चुनाव उपयोग नगर्ने तर एमसीसी र राष्ट्रघातविरोधी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति लिनु उपयुक्त हुनेछ।’

विप्लवले किन लिए ढुलमुले नीति

स्थानीय तहको निर्वाचनबारे पार्टीको निर्णयको वचाउसमेत गरेका छन्। केन्द्रीय कमिटीको निर्णयले पार्टीको मुख्य राजनीतिक कार्यनीति प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादकै रहने भन्दै संसदीय व्यवस्थाको भन्डाफोर हुनेसमेत विप्लवले दाबी गरेका छन्।

उनले पार्टीले यस्तो कार्यनीति किन लियो? किन बहिष्कार, सशस्त्र बहिष्कार वा पार्टी दर्ता गरेर उपयोग गर्ने नीति किन बनाएन? विप्लवले यसको जवाफ पार्टीको दस्तावेजलाई उदृत गर्दै दिएका छन्- ‘देशको वर्तमान राजनीतिक परिस्थिति अनुरूप यो निर्णय गर्नु सही रहेको छ। जस्तो कि हामीले कुनै पनि कार्यनीतिलाई अन्य तरिकाले नभएर एकीकृत जनक्रान्तिको कार्यदिशा अनुरूप हेर्नु पर्दछ। त्यसरी हेर्दा हामी दुई वर्षको प्रतिबन्धपछि जनतामा खुला रूपले समावेश भएका छौँ। जनता पार्टीसँग सबै मोर्चामा सहकार्य चाहन्छन्, सहयोग र समर्थन सँगसँगै जाओस् भन्ने सोचेका छन्।‘

उनले तत्कालीन केपी शर्मा ओलीसँग भएको तीनबुँदे सहमतिलाई इमानदारीपूर्वक लागू गर्न नमानेको आरोप लगाउँदै कार्यकर्ताहरुलाई जेलमै सडाएर सरकारले दबाब दिन चाहेको भन्दै उनले अगाडि लेखेका छन्- ‘हामी तीनबुँदे कार्यान्वयन गराउँदै कमरेडहरूलाई मुक्त गर्न चाहन्छौँ।‘

स्थानीय चुनावबारे लिइएको कार्यनीतिलाई सही ठहर्‍याउँदै उनले संसदीय व्यवस्था, राष्ट्रघाती दलाल प्रवृत्तिलाई स्थानीय तहदेखि नै भन्डाफोर गर्दै देशभक्त, जनवादी एवम् क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्नका लागि यस्तो नीति लिएको दाबी गरेका छन्। उनले चुनावमार्फत प्रतिबन्धका कारण देशभरि टुटेका सङ्गठनात्मक कडीहरूलाई पुनः जोड्न, परिचालन गर्न र फैलाउन चाहेकोसमेत बताएका छन्।

‘जहाँ जनताको प्रत्यक्ष साथ र सहयोग छ ती ठाउँहरूलाई काङ्ग्रेस, एमाले, माकेको हातमा नछोडेर पार्टीकै वरिपरि गोलबन्द गर्न चाहन्छौँ,’ उनले अगाडि लेखेका छन्, ‘सहर र गाउँ, मजदुर–किसान र नयाँ श्रमिक वर्ग सबैलाई एकताबद्ध बनाएर दलाल पुँजीवादी सत्ताका विरुद्ध सङ्घर्ष तेज पार्न चाहन्छौँ। अन्य कैयौँ करणहरू पनि छन् जसले हाम्रो यो कार्यनीतिलाई उचित ठहर्‍याउँछन्।‘

चैतको अन्तिम साता सम्पन्न पार्टीको सचिवालय बैठकले पनि केन्द्रीय कमिटीको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। यद्यपी केन्द्रीय कमिटीको निर्णयपछि पार्टीभित्र निर्णयलाई नेताहरुले आफ्नो लाइन अनुरुप व्याख्या गर्न थालेका छन्।

पार्टी केन्द्रीय कमिटीको बैठक सकिएको १० दिन नपुग्दै चैत २४ गते पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता प्रकाण्ड निर्वाचन आयोग पुगेर पार्टी निर्वाचनमा सहभागी हुने प्रतिक्रिया दिए। उनले मतदाता नामावली र दल दर्ताको समय थप्न आग्रह गरेका थिए।

निर्वाचन आयोगबाट बाहिरिने क्रममा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनेका थिए, ‘निर्वाचन आयोगसँग परामर्श गर्न आएका हौँ, अहिलेको सोसल पोलिटिक्सको बारेमा। त्यसपछि निर्वाचनको बारेमा।’

उनले निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय भएको भन्ने जिज्ञासा राख्दा छोटो प्रतिक्रिया दिँदै भनेका थिए, ‘होइन हामी चुनावमा जान्छौँ।’

केन्द्रीय कमिटीको बैठकमा विप्लवले पेश गरेको निर्वाचन उपयोग सम्बन्धी प्रस्तावका समर्थक हुन प्रकाण्ड। तर, यसको विरोधमा धर्मेन्द्र वास्तोला र हेमन्त वली थिए। प्रस्ताव केन्द्रीय कमिटीले अस्वीकार गरेपछि विप्लवले संशोधनसहित मध्यमार्गी बाटो त अपनाए। तर, पार्टी विभाजनको मुखमा पुगेको छ।

विभाजनको डिलमा विप्लवको पार्टी

‘निर्वाचनबारे केन्द्रीय कमिटीले गरेको निर्णयलाई पार्टीको मुख्य नेतृत्वले नै लत्याउँदै हिँडेको छ। लगभग लगभग पार्टी विभाजनको अवस्थामा पुगिसक्यो,’ निर्वाचन उपयोग नीतिको विरोधमा रहेका एक केन्द्रीय कमिटीका सदस्यले भने, ‘अब घोषणा मात्र हुन बाँकी हो। उम्मेदवारी दर्ताको दिनसम्म एउटा स्पष्ट मार्गचित्र देखिन्छ।’

ललितपुरमा गत साता सम्पन्न एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै विप्लवलाई ‘सूर्य चिन्ह’को प्रस्ताव राखेका थिए।

‘(केन्द्रीय कमिटीको) बैठकले एमसीसी विरोधीलाई सहयोग गर्ने निर्णय गरेको हो। यहाँ त खुलमखुल्ला सूर्य चिन्हको प्रस्ताव आइसकेको छ। पार्टी नेतृत्वले लिन्नौँ भनेर सार्वजनिक रुपमा भन्न पनि सकेको छैन,’ ती केन्द्रीय सदस्यले भने, ‘उम्मेदवारी दर्ताको दिनसम्म दुईटा स्पष्ट लाइन देखिन्छ। एउटा चुनावमा उम्मेदवारी दिने अर्को बहिष्कार गर्ने। बहिष्कार गर्नुपर्ने मत भएका पार्टी विभाजनमा पुगेको निष्कर्षमा पुगेका छौँ। हामी छलफलमा छौँ घोषणा हुन मात्रै बाँकी छ।’

तत्कालीन नेकपा माओवादीको नेतृत्व संसदीय भाँसमा भाँसियो भनेर निर्वाचन बहिष्कारसहित क्रान्ति गर्न निस्किएका विप्लव पुन: निर्वाचनमा प्रवेश गर्दै गर्दा तत्कालीन संविधानसभा र स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन बहिष्कार गलत थियो भन्ने नजिर बसाल्न लागेको आरोप ती नेताले लगाए।

‘हिजो हामीले हाम्रै नेतृत्व प्रचण्डलाई संसदीय भाँसमा पसे भनेर विप्लवलाई क्रान्तिको नेतृत्व गर्ने नेताको रुपमा मानेर हिँड्यौँ। त्यसै क्रममा १२ जना शहीद भए,’ ती नेताले भने, ‘अहिले शहीदको शाहदत व्यर्थै थियो। निर्वाचन बहिष्कार गलत थियो भन्ने प्रमाणित गर्ने लाइनमा नेतृत्व लाग्दै छ। यही संसदीय व्यवस्थामा प्रवेश गर्नु थियो त किन? क्रान्‍तिको नारा दिएर लडाइयो?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell