PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

निर्वाचन चिन्ह अंकित पहिरन लगाउन पाइन्छ? यस्ता छन् सबैले पालना गर्नुपर्ने आचरण



पहिलोपोस्ट

निर्वाचन चिन्ह अंकित पहिरन लगाउन पाइन्छ? यस्ता छन् सबैले पालना गर्नुपर्ने आचरण
काठमाडौंको बागबजारमा ब्याजको विज्ञापन।

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब २० दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता गत चैत २५ गतेबाटै लागू गरेको छ।

सम्बन्धित समाचार : निर्वाचन आचारसंहिता, के गर्न पाइन्छ के पाइँदैन ?

निर्वाचन नजिकिँदै गर्दा सबै पक्षले पालना गर्नुपर्ने निर्वाचन सम्बन्धी गर्न र गराउन नहुने आचरणबारे आयोगले स्पष्ट पारेको छ।

आयोगले ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार गर्न वा गराउन नहुने कुरामा जोड दिएको छ।

त्यस्तै, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टी-सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण वा प्रदर्शन गर्न वा गराउन नहुने पनि आयोगले स्पष्ट पारेको छ।

निर्वाचनलाई सौहार्दपूर्ण बनाउन आयोगले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई पनि सचेत गराएको छ। सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने आयोगले भनेको छ।

यसैगरी, घरजग्गा धनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने कुरालाई पनि आयोगले अघि सारेको छ।

निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्ने कार्यलाई पनि आयोगले निरुत्साहित गरेको छ। अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने आयोगको अनुरोध छ।

प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार गर्न वा गराउन आयोगले निषेध गरेको छ। यस्तै, सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने पनि आयोगले सचेत गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell