PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भागबन्डाको भद्रगोल : कर्णालीमा साझा उम्मेदवार छनोट गर्न गठबन्धन सफल होला ?



पी बी खड्का

भागबन्डाको भद्रगोल : कर्णालीमा साझा उम्मेदवार छनोट गर्न गठबन्धन सफल होला ?

सुर्खेत : आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेको छैन। तर, भागबन्डाको विषयमा टकरावहुँदा गठबन्धनबाट साझा उम्मेदवार टुंगो लगाउनै सकिएको छैन।

सिट बाडँफाँटको टुंगो लगाउन सत्ता गठबन्धन दलहरुबिचको बैठक पटक पटक बसे पनि आआफ्नो दाबी र अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन दलहरुबिचले सहमति हुन नसकेको हो।

विशेषगरी प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आआफ्नो अडानमा कायम हुँदा कर्णाली प्रदेशमा भागबन्डा टुंगो लाग्न नसकेको हो।

मनोनयन दर्ता गर्ने समय एक दिनमात्र बाँकी रहँदा अझै सिट बाँडफाँटको टुंगो लगाउन दलका नेताहरुलाई सकस भएको छ। जिल्ला संयन्त्रले भागबन्डा सहमति जुटाउन नसकेपछि प्रदेशलाई जिम्मा दिइएको छ। यता, प्रदेशले पनि सहमतिकालागि बिहिवारदेखि निरन्तर बैठक र छलफल गरिरहेको भए पनि निर्णयमा पुग्न सकेको छैन।

कांग्रेस र माओवादी यसअघि आफ्नो दलले जितेका स्थानीयतहको पालिका र वडामा आफ्नै दलका उम्म्मेदवार उठाउने गरि लविङ गरिरहेका छन्। दलका नेता, कार्यकर्ताले पनि सोहीअनुसार सिट बाँडफाँट गर्न दबाब दिईरहेका छन्।

एमाले विभाजनपछि गठन भएको नेकपा एकीकृत समाजवादीले पनि अघिल्लो निर्वाचनमा एमालेले जितेको पालिका र वडामा आफ्नो दलले पाउनुपर्ने दाबी गरिरहेको छ।

अघिल्लो निर्वाचनमा प्रदेशमा एमालेले धेरै स्थानमा जित हासिल गरेको थियो। कांग्रेस र माओवादी केन्द्रले २५-२५ पालिका प्रमुख जितेका थिए भने एमालेले २७ स्थानीयतहमा प्रमुख पदमा जित हात पारेको थियो।

हाल कांग्रेस र माओवादी केन्द्र ४०-४० पालिका प्रमुख आफूले पाउनु पर्ने अडानमा छ। माओवादीले कर्णालीआफ्नो आधार इलाका भएकाले पनि सोहीअनुसार भागबन्डा हुनुपर्ने बताउँदै आएको छ।

एकीकृत समाजवादीले भने २० पालिका प्रमुख माग गरिरहेको छ। यसअघिको निर्वाचनमा पालिका प्रमुखले पाएको मतलाई आधार मान्ने हो भने एमालेको ३८ प्रतिशत, माओवादीको ३१ प्रतिशत र कांग्रेसको २७ प्रतिशत हिस्सा देखिन्छ। एमालेबाट विभाजित भएपछि एकीकृत समाजवादीमा ३३९ जना जनप्रतिनिधिले सनाखत गरेका थिए। यद्यपि, केही अन्य पालिकाका जनप्रतिनिधिहरु अहिले पनि समाजवादीमा समाहित भएका छन्। 

सम्बन्धित समाचार : कर्णालीमा गठबन्धनबिच भागबन्डा मिलाउन सकस

निर्वाचन संघारमा पुग्दा एमालेले भने अधिकांश जिल्लाहरुमा उम्मेदवार सिफारिस गरिसकेको छ। कर्णालीमा ९० प्रतिशतभन्दा बढी स्थानीयतहमा उम्मेदवार सिफारिस गरिसकेको छ एमालेले। गठबन्धन दलहरु भने अन्योलमै छन्।

गठबन्धन दलहरुको छलफल सहमति नजिक पुगेको माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीको दाबी छ।

‘दलहरुबिच छलफल भइरहेको छ। करिव करिव सहमति नजिक पुगेका छौँ,’ उनी भन्छिन्,‘अन्तिम निर्णय हुन बाँकी छ।’

भागबन्डा मा ढिलाई हुदाँ दलको आफ्नै उम्मेदवार सिफारिस

निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा प्रदेशबाट सिट बाँडफाँटमा ढिलाई भएपछि केहीदलहरुले आफ्नाउम्मेदवार सिफारिस गर्न थालेका छन्।

कर्णालीका केहीजिल्लाका स्थानीय तहमा भागबन्डा मिले पनि केहीमा सहमति नहुदाँ कांग्रेस र माओवादीले उम्मेदवार सिफारिस गर्न थालेका हुन्। मनोनयन दर्ता गर्न एक दिनमात्रै बाँकी रहँदासम्म गठबन्धन दलहरु अन्योलमै रहेकाले दलले आन्तरिक रुपमा उम्मेदवार सिफारिस गर्न थालेका हुन्।

माओवादी केन्द्रले पनि शुक्रवारसम्म केही स्थानीयतहमा उम्मेदवार सिफारिस गरिसकेको छ। यद्यपि, गठबन्धनको साझा निर्णय आए सिफारिस गरेका उम्मेदवारहरुको नाम फिर्ता लिने माओवादी केन्द्रका एक नेताको भनाई छ।

‘गठबन्धनभित्र संयुक्त उम्मेदवार सिफारिसमा ढिलाई हुदाँ हामीले हाम्रो दलबाट उम्मेदवार सिफारिस गरेका छौँ,’ ति नेताले भने,‘गठबन्धनको अन्तिम निर्णय आयो भने हामीले सिफारिस गरेका उम्मेदवारहरु फिर्ता आउनुहुन्छ।’

गठबन्धनबिच भागबन्डामा सहमति जुटे साझा उम्मेदवार तयार हुने उनी बताउँछन्। त्यसका लागि दलहरुबिच अन्तिम निर्णयका लागि छलफल भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell