PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

एमाले कार्यकर्तालाई कांग्रेसको घोषणापत्र अनिवार्य पढ्न ओलीको निर्देशन : 'केही बुँदा एमालेको चोरेछ, शेरबहादुरजीलाई धन्यवाद'



एमाले कार्यकर्तालाई कांग्रेसको घोषणापत्र अनिवार्य पढ्न ओलीको निर्देशन : 'केही बुँदा एमालेको चोरेछ, शेरबहादुरजीलाई धन्यवाद'
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई कांग्रेसको घोषणापत्र पढ्न निर्देशन दिएका छन्। २३ औं मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ‌ओलीले यस्तो निर्देशन दिएका हुन्।

कांग्रेस घोषणापत्र गाली पुराण भएको दाबी गर्दै केही बुँदा भने राम्रो भएको र ती एमालेको घोषणापत्रबाट चोरिएको ओलीले आरोप लगाए। 'संविधानका राम्रा कुराहरु थपक्क निकालेको छ। चोर विद्यार्थीले निकालेको झैं एमालेको घोषणापत्रको पनि केही चोरिएका छन्। एमालेमाथि तथानाम गाली, एमालेको केही बुँदा कपी र संविधानको राम्रा कुरा। तर कुशल विद्यार्थीको चिट चोराई छैन। लद्दु विद्यार्थीले चोरेजस्तो। जनताले पढ्दै पढ्दैन कांग्रेसको घोषणापत्र। तर हामीले कांग्रेस चिन्नका लागि धैर्यसँग पढ्नु,' ओलीले भने, 'एमालेको घोषणापत्र त हामी लान्छौ नै। कांग्रेस के हो भन्ने कुरा पढाउन त्यो पनि लैजाउँ।'

‌ओलीले यो कुनै घोषणापत्र नभई पागलहरुको प्रलापमात्र भएको आरोपसमेत लगाए।

कांग्रेसको संकल्पपत्र सार्वजनिकका रोचक दृश्य: भद्रगोल व्यवस्थापनले बजेन राष्ट्रिय गान

'कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज हैन। केवल पागलहरुको प्रलाप हो। जम्माजम्मी धारे हात लगाएको छ,' कार्यक्रममा ओलीले भने। कांग्रेसले प्रस्तुत गरेको संकल्पपत्रमा गएको पाँच वर्षमा कम्युनिस्ट सरकारले गरेका कामको आलोचना गरिएको छ। एमालेलाई धारे हात लगाउँदै तथानाम गाली गरेको संकल्पपत्रमा कुनै भाव नभएकोसमेत उनको भनाई रह्यो।

'एमाले एमाले भनेको छ। उत्ताउलो विकास रे। रेल ल्याउँछु भनेको उत्ताउलो विकास रे। खेर गएको पाँच वर्ष भनेर लेखिएको छ। कुनै राजनीतिक दस्तावेज हैन त्यो। तथानाम गाली गरेको छ,' ओलीले भने, 'शब्द थुपारेर के हुन्छ? भावलाई जोडेपछि कविता हुन्छ भनेर एकजना कविले भनेका छन्। भाव नै छैन।'

कांग्रेसले पाँच हजार सुत्केरी भत्ता दिने, मृत्यु संस्कार खर्च पनि व्यहोर्ने (चुनावी सङ्कल्पको पूर्णपाठ)

यसखालको घोषणापत्रले एमालेलाई झनै सजिलो हुने उनको भनाई थियो। कमजोर घोषणापत्र निकालेकोमा ओलीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवादसमेत दिए। 'कांग्रेस रसातलमा पुगेको छ। दया लाग्छ। तर के गर्नु, यस्तो घोषणापत्र निकाल्दा हामीलाई सजिलो भएको छ। शेरबहादुरजीलाई धन्यवाद छ। यस्तै भइरहोस्। हामीलाई सजिलो हुन्छ।'

कांग्रेसलाई सञ्चो छ कि छैन?

एमाले अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र घटिया खालको भएको आरोपसमेत लगाए। 'कांग्रेसले बाहिर घोषणापत्र लेखेको छ बाहिर। भित्र गालीपुराण छ। एउटालेमात्र लेखेको भए हुन्थ्यो। पार्टीको घोषणापत्र हो। २३ सिट भएको देउवालाई थपक्क प्रधानमन्त्री बनाउनुपर्दैन भनेको छ,' ओलीले भने। राष्ट्रपतिलाई विवादमा मुछ्ने काम गरेर यस्तो कुरा लेख्ने कांग्रेसको स्वास्थ्य अवस्थामाथिसमेत ओलीले प्रश्न गरे। 'नेपाली कांग्रेसलाई सञ्चो छ कि छैन? एकपटक घोषणा गर्नुअघि सोध्नुपर्छ कि!' ओलीको भनाई थियो।

हेर्दा हेर्दै कांग्रेसको राजनीति सिद्धियो

अध्यक्ष ओलीले कांग्रेसको राजनीति हेर्दाहेर्दै सकिएको दाबी गरे। 'हेर्दा हेर्दै कांग्रेस के भो? कांग्रेसको राजनीति सिध्यो,' उनले भने। कांग्रेसको सिद्धान्त कतै कांग्रेसका दिवंगत नेताहरुले लिएर गए कि भनी प्रश्नसमेत ओलीले गरे। 'गिरिजाप्रसाद, कृष्णप्रसाद, गणेशमानले आफू वित्दा सिद्धान्त सबै लिएर जानुभएछ। नभए प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्नुस् लोकतन्त्रप्रति कांग्रेसको धारणा के हो भनेर,' ओलीले भने।

देउवाले यस्तो प्रश्नको उत्तर सोधेमा आउन सक्ने उत्तरबारेसमेत ओलीले कल्पना गरे। 'तपाई बढ्ता बोल्दै हुनुहुन्छ' भनेर जवाफ दिन बेर छैन,' ओलीले भने। कांग्रेसका अरु नेतालाई सोधे हुँदै नभएको विषयमा सोधेर होच्याएको भन्न बेर नलाग्नेसमेत उनको भनाई थियो। 'नेपाली कांग्रेसलाई सोधे जानीजानी सोधेको होच्याएर सोधेको भन्न बेर छैन,' ओलीले भने, 'कांग्रेससँग केही एजेन्डा छैन। उसले सत्ता भन्छ। सत्ता टिकाइराख्न गठबन्धनको लौरो खोज्छ।'

स्थानीय निर्वाचनमा कांग्रेसको लौरो कर्‍याककुरुक भाँचिनेसमेत दाबी गरे। 'हातको लौरो कर्‍याकुरुक हुन्छ ३० गते। कांग्रेसको हविगतको इन्जोय गर्नुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell