काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रशंसा सुन्ने बानी परेकाले आलोचना नपचेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा थापाले ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीबारे प्रतिक्रिया दिएका हुन्।
‘एकालप प्रशंसा सुन्ने बानी परेको उहाँ झुट पढेर सनक्क सन्किनुभएछ। कांग्रेसको घोषणापत्रमा ओलीको भक्तिगान गाउने त हैन होला,’ थापाले भने।
ओली झुटो बोल्ने गरेको थापाको आरोप छ। आफूलाई कसैले ओलीले पागल भनेको भनेर सुनाएको थापाले बताए। भने, ‘साथीले सुनाउनुभयो : फोन गरेर। दाइ ओलीले मुख छाड्नुभयो। मैले भने : जसको मुखमा आंगर छ। उसले ओकल्ने कालै हो। उताबाट कुरा आयो : हैन तपाईलाई त पागल भन्नुभयो। मैले भने : ओली झुट बोल्नुहुन्छ।’
आफ्ना पार्टीका कार्यकर्ताले घोषणापत्र पढ्न नभ्याएको भएपनि ओलीले रातिराति पढेर आलोचना गरेको थापाको भनाइ छ।
‘हाम्रा साथीहरुले पढ्न भ्याएका छैनन्। बरा बुढा राति उठेर पढेछन्,’थापाले भने।
ओलीलाई थापाले आफ्नो स्वास्थ्यको ख्याल गर्न र धेरै आवेगमा नआउन पनि आग्रह गरेका छन्। ओलीलाई तर्क भन्दा जादु मन पर्ने थापाले आरोप लगाए।
उनले भने, ‘धेरै सनक्क सन्किँदा शरीरलाई अप्ठेरो पर्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। ओलीलाई लजिक मन पर्दैन म्याजिक मनपर्छ। भ्याएको बेला ट्युसन पढाउने नै हो।’
ओलीको समृद्धि अहंकारको भ्युटावर भएको थापाले आरोप लगाएका छन्।
सम्बन्धित समाचार : सत्ता गठबन्धन बैठकको ढोकामा ढुकिरहेको हुन्छ एमाले : गगन थापा
बागी उम्मेदवारी फिर्ता लिन अनुरोध
थापाले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन अनुरोध समेत गरेका छन्। पार्टीको निर्णयलाई मान्नुपर्ने र त्यसको सम्मान गर्नुपर्ने थापाको भनाइ थियो।
‘पार्टीभित्र मैले पनि भोगेर आएको छु। जिम्मेवारी पाउँ भन्दा नपाएर भोगेर आएको छु। मैले त धेरै पाएको हो। कति साथीले उम्मेदवार पाउँ भन्दा पाइरहेका छैनन्,’ उनले भने।
पार्टीका कर्मठ नेताहरु आवेगमा पार्टी छाडेर जाँदा पछाडि फर्केर आउने अवस्था नरहने उनले बताए। उनले एक पटक पार्टीको निर्णय उल्लंघन गरेर फर्केर आएको व्यक्तिको अवस्था आफूले देखेको बताए।
‘सम्पूर्ण कांग्रेसका साथीहरुलाई अनुरोध गर्दछु। हामीसँग दुई दिन समय बाँकी छ। एउटा अन्यायको हिसाबकिताब हुन्छ, विभेदको क्षतिपूर्ति हुने गरी न्यायको निर्णय हुनेगरी हामी काम गर्छौँ।’
पार्टीभित्र भएका असन्तुष्टि जायज पनि भएको उनले बताए।