PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भरतपुरमा गठबन्धनविरुद्ध बागी बनेका को हुन् जगन्नाथ पौडेल, उनको उम्मेदवारीले रेनुलाई कतिको अप्ठेरो?



नेत्र तामाङ

भरतपुरमा गठबन्धनविरुद्ध बागी बनेका को हुन् जगन्नाथ पौडेल, उनको उम्मेदवारीले रेनुलाई कतिको अप्ठेरो?

काठमाडौं : सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा तालमेलको भागबन्डा केन्द्रबाटै गरेपछि यतिबेला भरतपुर सर्वाधिक चर्चामा छ। अघिल्लो स्थानीय तह निर्वाचनमा पनि तालमेलमै नेकपा (माओवादी केन्द्र)की रेनु दाहाललाई केन्द्रबाटै गठबन्धनले टिकट दियो। नेपाली कांग्रेस बलियो मानिएको यस महानगरमा दुई-दुई पटक माओवादीलाई नै नेतृत्व सुम्पिदा पार्टीलाई हानी पुग्ने यहाँका कांग्रेस नेता कार्यकर्ताको ठहर छ।

‘यसपटक पनि माओवादीलाई नै मेयर दिने हो भने चितवनमा कांग्रेस खङरङ्गै हुन्छ,’ केन्द्रीय समिति चलिरहँदा सानेपामा आइपुगेका एक कांग्रेस कार्यकर्ता भन्दै थिए।

अघिल्लो स्थानीय निर्वाचनमा महानगर प्रमुखको टिकट गुमाएका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाको पनि जोड थियो - भरतपुरको मेयरमा माओवादी केन्द्रलाई सहयोग गर्न सकिन्न। तर, केन्द्रीय समितिले उनीहरुको मर्मविपरित निर्णय गर्‍यो तालमेलको।

राष्ट्रिय राजनीतिमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको सहयोगमा अहिले कांग्रेस सरकारमा छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेनुलाई फेरि दोहोर्‍याँदा राष्ट्रियस्तरमा यसको विरोध भयो पनि।

२०७४ मा दिनेश कोइराला बनेका थिए सिकार

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुरमा कांग्रेसको तर्फबाट मेयरको आकांक्षी थिए दिनेश कोइराला। कांग्रेसको निर्णयपछि उनी मेयरको उम्मेदवार बने। चुनाव प्रचारमा पनि लागे। बैशाख १९ गते उनले टिकट पाएका थिए। तर, २० बैशाखमा भरतपुरमा तालमेल गर्ने सहमतिमा पुगे गठबन्धनका शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड।

त्यसपछि रेनु दाहाललाई मेयरको उम्मेदवार बनाइयो। दिनेशलाई उम्मेदवारी फिर्ता गर्न दबाब दिइयो। तर, दिनेशले मानेनन्। त्यसपछि देउवाले निर्वाचन अधिकृतलाई पत्र लेखेर दिनेशको उम्मेदवारी फिर्ता गराए र उनी बाध्य भए ‘ब्याक’ हुन। कोइरालालाई त्यतिबेला देउवाले केन्द्रीय सदस्य बनाउने अफर गरेका थिए। यद्यपि, उनले अस्वीकार गरे। १४औँ महाधिवेशनमा देउवाविरुद्धको खेमाबाट उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए। र, निर्वाचित भए पनि।

ठिक त्यसैगरी जगन्नाथलाई कांग्रेसले दबाब दियो यसपटक। जगन्नाथलाई फकाउन गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर उत्रिए। तर, दुवै जनाको कुरा सुनिदिएनन् उनले। राजनीतिमा खारिएका कानुनमा अभ्यस्त जगन्नाथ आफ्नो कुरामा अडिग उभिए।

स्थानीय तह निर्वाचन संघारमा छ। कांग्रेसले फेरि भरतपुर महानगर प्रमुखमा रेनुलाई नै सघाउने भएको छ। कांग्रेसले उपप्रमुखमा चित्रसेन अधिकारीलाई उभ्याएको छ। कांग्रेसले प्रमुख पाउनुपर्ने माग गर्दै विद्रोहमा होमिएका जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन्। उनले ‘भुईकटहर’ चिह्न पाएका छन्। आफूले जित्ने दाबीका साथ पौडेल चुनावी घरदैलोमा लागिसकेका छन्। यता प्रमुख प्रतिपक्षी दल एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन्।

बागी उम्मेदवारीको असर के पर्ला?

कांग्रेसबाट विद्रोह गरि उम्मेदवारी दिएका पौडेलका कारण निवर्तमान महानगर प्रमुख रेनु दाहालको जितलाई मुश्किल बनाइदिने भरतपुरकै कांग्रेस कार्यकर्ताको अनुमान छ। यद्यपि कतिपयले भने पौडेलको उम्मेदवारीले दाहाललाई झनै सहज हुने दाबी प्रस्तुत गरेका छन्।

कांग्रेसबाट बागी बनेका उम्मेदवारलाई असन्तुष्ट कांग्रेसको मत जाँदा बलियो प्रतिद्वन्द्वी दल एमालेलाई घाटा लाग्ने तर्क चल्न थालेको छ। बागी नउठ्दा ती मत एमालेको पक्षमा जाने र एमाले उम्मेदवारलाई फाइदा हुने हुँदा पौडेलको उम्मेदवारीले रेनुलाई नै लाभ हुने आँकलन उनीहरुको छ। एमालेबाट फुटेको एकीकृत समाजवादीका साथै जनता समाजवादी पार्टी र कांग्रेसका मूलधारका मतदाताका साथै मेयर हुँदा भरतपुरमा ५ वर्षमा गरेको विकासका कारण रेनु फेरि जित्ने तर्क उनीहरुको छ।

तर, भरतपुरमा भड्किएका कांग्रेसको मत तान्न एमालेका उम्मेदवार विजय सुवेदीले ‘स्टन्ट’ सुरु गरिसकेका छन्। कांग्रेसले आफ्नो आदर्श बीपी कोइरालालाई मान्दै आएको छ। बीपीको आदर्श वर्तमान कांग्रेस कार्यकर्ताले बिर्सदैं गएको आरोप लाग्दै आएको छ। यही बुझ्दै कांग्रेसका असन्तुष्ट मतदाता आफूतिर आकर्षित गराउन सुवेदी उम्मेदवारी दर्ताको दिन बिपीको सालिकमा माला लगाउन पुगेका थिए।

२०७४ को निर्वाचनमा रेनुले ४३ हजार १२७ मत पाउँदा एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए। राप्रपाका बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ पाएका थिए।

यता, उपप्रमुखमा कांग्रेसकी पार्वती शाह ठकुरी ४७ हजार १९७ मत पाउँदै निर्वाचित भएकी थिइन् भने एमालेकी दिव्य शर्माले ३९ हजार ५२५ मत पाएकी थिइन्। उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी रिना गुरुङले ७ हजार २५२ मत पाएकी थिइन्। अघिल्लपटक भन्दा यसपटक मतदाता ३५ हजार ४७८ बढेको छ। अहिले कुल १ लाख ८५ हजार ७ सय ५२ पुगेको छ। थपिएका मतदाताको ‘मुड’ के हो? यो विषयले पनि जित हारको टुंगो अहिले नै लगाउन मुश्किल देखिन्छ।

पौडेल महाधिवेशन प्रतिनिधिमै हारेका व्यक्ति

बागी उम्मेदवार बनेका पौडेल कांग्रेसका चिनिएका नेता हुन्। यद्यपि यसपटक भने उनी महाधिवेशन प्रतिनिधिमै पराजित भए।

चितवनको जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएका उनी खुल्लातर्फ १० जनामा अटाएनन्। 'उहाँको मत एकदम कम थियो, वडाबाट प्रतिनिधिमा सहमति गरेर आउनुभएको हो,' चितवन जिल्ला कार्यसमितिका एक सदस्यले भने। पार्टीबाटै अस्विकार गरेका व्यक्तिको बागी उम्मेदवारीले खासै चुनावमा खासै असर नपर्ने ती नेताले दाबी गरे।

क्षेत्रीय प्रतिनिधिमा भने सहमतिमै उनी चयन भएका थिए। २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख बनेका पौडेल राष्ट्रिय सभाको सदस्यसमेत बनिसकेका छन्।

चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्षसमेत बनिसकेका पौडेल बालकुमारी कलेज नारायणगढका स्थापनाकर्तामध्येका एक हुन्। हाल पौडेल क्याम्पस संचालक समितिका अध्यक्ष हुन्।

कांग्रेसलाई डर : पौडेलको प्रभाव छ

गठबन्धनबाट उपप्रुमखको उम्मेदवार हुन् कांग्रेसका चित्रसेन अधिकारी। भरतपुर महानगर कांग्रेसका सभापतिसमेत रहेका अधिकारीले पौडेलको उम्मेदवारीले केही असर देखिन सक्ने बताए।

'केही न केही त प्रभाव पार्छ नै। विगतको घटना हेर्दा पनि देखिन्छ नै,' अधिकारीले भने।

तर मतदानको दिनसम्ममा पौडेलको सहयोग गठबन्धनको पक्षमा आउने उनले दाबी गरे। 'अझै विचार गर्ने समय छ। चुनाव हुन धेरै दिन बाँकी छ नि,' गठबन्धन जित्नेमा ढुक्क हुँदै उनले थपे, 'कांग्रेसका कर्मठ कार्यकर्ताले केन्द्रको कुरा मान्छन्। त्यसैले गठबन्धनले जित्छ भन्नेमा हामी ढुक्क छौं।'

वडा तहमै तालमेल गरेर जाने सहमति भएकोले गठबन्धनले सहज जित निकाल्ने उनको दाबी रह्यो।

बागी नबन्न आफूले पनि पौडेललाई मनाउने प्रयास गरेको उनले बताए। 'उहाँलाई बागी नउठ्न मैले पनि धेरै अनुरोध गरें। किनकि मलाई नगर कमिटीमा जिताउन उहाँले निकै मिहिनेत गर्नुभएको थियो। मेरो पक्षमा लाग्नुभएको व्यक्ति हुनुहुन्छ।'

पौडेलको मत : मेरो उम्मेदवारी हँसिया हथौडाविरुद्ध

भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका कांग्रेसका जगन्नाथ पौडेल कुनै पनि हालतमा गठबन्धनको पक्षमा नउभिने बताउँछन्।

गठबन्धनका उम्मेदवारहरु के भन्छन् भने, अझै पनि समय छ, तपाईँले गठबन्धनलाई सघाउनुहुन्छ? भन्ने प्रश्नको जवाफमा उनले भने, 'जगन्नाथ पौडेलले भन्ने एउटा गर्ने अर्को हुँदैन। गठबन्धनलाई सघाउँछ भन्ने कुरा भ्रम हो।'

पार्टीले उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन गर्ने चेतावनीपछि पौडेलले जनताकै आदेशका कारण आफू बागी भएको बताएका थिए। 'मैले नाम फिर्ता जनताको आदेशका कारण नगर्‍या हो,' भरतपुरमा शुक्रबार साँझ आयोजित भेलामा पौडेलले भने, 'म कुनै पनि हिसाबले मेयरमा निर्वाचित नभए पनि मुल्यको राजनीति छाड्दिनँ।'

कांग्रेसको विधानमा हँसिया हथौडामा भोट हाल भनेर निर्देशन नभएको पौडेलको तर्क छ। 'नेपाली कांग्रेसले रुख र चारतारे झण्डाको ग्यारेन्टी गरोस्। नेपाली कांग्रेसकको विधानमा हँसिया हथौडामा भोट हाल भनेको छैन,' पौडेलले भने।

पछिल्लोपटक पद्धति मिचेर नेताहरुले आफ्नो नातेदारलाई टिकट बाँड्न थालेको उनले आरोप लगाए। आफूलाई कारवाहीको कुनै डर नरहेको बरु कांग्रेस बलियो बनाउन बली चढ्न आफू तयार रहेको उनको भनाई छ।

'कारवाहीको डन्डाले रोक्न सक्दैन। हामी कांग्रेस हौं। हामीले रुखमा पानी हाल्नका निमित्त आफू बली चढ्न परे पनि तयार भएर पनि यो अभियान चालेको हो,' उनले भने, 'चितवनमा रुख चिह्नमा कोही लडेको छ भने जगन्नाथलाई देश निकाला गर्नुपर्छ। तर हँसिया हथौडामा भोट हाल भनेर भन्छ भने त्यो हामीलाई मान्य हुनेछैन। हँसिया हथौडामा भोट नहाल भन्दा म बागी हुन्छु?'

पौडेलले आफूलाई जनताले जिताउने दाबीसमेत पेश गरे। भने, 'आश्चर्य हुनेछ। परिणाम आउने दिन हेर्नुहोला, स्वतन्त्र उम्मेदवारले पनि जित्ने रहेछ भनेर तपाईहरु दंग पर्नुहुनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell