PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

घरदैलोमा चिरिबाबुलाई मतदाताको प्रतिक्रिया, 'तपाईं नआए नि हुन्छ!'



नेत्र तामाङ

घरदैलोमा चिरिबाबुलाई मतदाताको प्रतिक्रिया, 'तपाईं नआए नि हुन्छ!'

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार हुन् चिरिबाबु महर्जन। अघिल्लोपटकको निर्वाचनमा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पराजित गर्दै उनी मेयर बनेका थिए। पाँच वर्षे कार्यकालमा चिरिबाबुले जति चर्चा बटुले विवादमा पनि उतिनै तानिए। पाँच वर्षपछि फेरि चिरिबाबुविरुद्ध हरिकृष्ण नै चुनावमा पुन: भिड्न आएका छन्। चिरिबाबुविरुद्ध हरिकृष्णका दर्जन आरोप छन्।

यसपटक जसरी पनि जित्ने दाउमा हरिकृष्ण लाग्दा चिरिबाबु पनि पछि परेका छैनन् - आफू नै जित्छु भन्दै आधार प्रस्तुत गर्न। ललितपुरको पुल्चोकस्थित आफ्नै घरअगाडि सानो पाल टाँगेर चिरिबाबुले चुनावी अभियान सुरु गरेका छन्। दिनमा कम्तीमा तीन वटा वडामा घरदैलो पुग्ने उनको योजना छ। पुन: मेयरमा दोहोरिने दृढ देखिएका उनै चिरिबाबु महर्जनसँग पहिलोपोस्टका लागि नेत्र तामाङले गरेको कुराकानी :

ललितपुर त चिटिक्क भइसकेको चर्चा छ, तपाईँ भने बाँकी काम पुरा गर्न फेरि उम्मेदवारी दिएको भन्नुहुन्छ?

धेरै बाँकी छ। सोमवार बिहानमात्र वडा नम्बर १ मा रहेको गुसिंगल पुगें। त्यहाँ हाम्रो प्रोजेक्ट अझै सकिएको छैन। त्यहाँ हिड्नै गाह्रो भयो। उकालोओरालो चढेजस्तै भयो। प्रोजेक्ट पुरा नहुँदा गाह्रोसाह्रो पर्‍यो। तर त्यो काम अब पूरा हुन्छ।

कतिले त तपाईंले केही कामै बाँकी राखेको छैन भन्छन् त?

हैन, मैले गरेको काम सम्भवत: धेरैले मन परेर त्यस्तो प्रतिक्रिया दिएको हुन सक्छ। तर गर्नुपर्ने काम थुप्रै बाँकी छ। यो त २०७४ सालको चुनावमा पो महानगर बनाएको हो त। पहिले त उपमहानगर थियो। २२ वडामात्र थियो त्यतिबेला। पछि छिमेकी गाविसहरु जोडिए। २९ वडा हुँदा जोडिएर महानगर बनायो। हिजोका गाविसहरु प्रायजसो चक्रपथ बाहिरका छन्। चक्रपथबाहिर त्यति विकास भइसकेको छैन। काम गर्न थुप्रै व्यवस्थापन गर्न बाँकी छन्। खोकना, बुङ्मती, हरिसिद्धि, धापाखेलजस्ता पछि थपिएका वडाहरुमा चै थुप्रै काम बाँकी छ। भित्रतिर चै काम भएकै छन्।

गर्न बाँकी काम भनेको यिनै हुन् त्यसो भए?

सारमा यिनै हुन्। त्यसको पुरकको रुपमा प्रोजेक्ट बैंकहरु बनाएका छौं। विगतको ५ वर्षको बेस्ट प्राक्टिसहरु बाँकी छन्। पाँच वर्षको अनुभव छ मेरो। अब जानसाथ काम गर्न सक्ने भएँ नि। यस्तो किसिमको लाभ नयाँ आउनेलाई हुँदैन नि। नयाँका लागि फ्यमिलियर हुँदैन। बुझ्न बुझाउनै समय लाग्छ नि उसलाई।

तपाईँले तयार गर्नुभएको अघिल्लो घोषणापत्र चर्चामा आयो। यसपटक खासै चर्चामा आएन नि?

हाम्रो भूगोल पनि सानो छ। सबैभन्दा सानो महानगर हो नेपालको। काम चै धेरै भइसकेको छ। मेघा प्रोजेक्ट धेरै गर्नु त्यति आवश्यक छैन पनि। किनभने यो हेरिटेज बस्ती हो। हेरिटेज बस्तीमा मेघा प्रोजेक्ट गर्नुपर्छ भन्ने मलाई लाग्दैन। नगरवासीको लिभिङ स्ट्यान्डर्ड जुन छ त्यसलाई कसरी हाइ गर्ने? शिक्षा स्वास्थ्य रोजगारीमा कसरी अभिवृद्धि गर्ने विषयमा ध्यान केन्द्रित गर्दा राम्रो हुन्छ भन्ने मेरो ठम्याइ हो। त्यसपछि महानगरपालिकाभित्र सानो सानो काम गर्दा पनि जनताको ध्यान आकर्षण हुन्छ। यो चाहिँ विगत पाँच वर्षमा सिकेको पाठ हो। यसको मतलब ठुलाठुला मेघा प्रोजेक्ट गर्नुपर्छ भन्ने हैन। ठीक छ महानगर बन्नका निमित्त कतिपय ठुला योजना पनि चाहिन्छ होला।

मोनोरेलजस्ता विषय त छुटे नि!

मोनोरेल हाम्रो एजेन्डा थिएन। यो काठमाडौंको हो। चक्रपथमा पनि चलाउने भएकोले हामी यसमा सहमतिमा गएका थियौं। किनभने ७.९ किलोमिटर चक्रपथ ललितपुरमा पर्छ। काठमाडौंमा बन्छ भने ललितपुरमा पनि हामीले किन नचलाउने भनेर हामीले छाप लाइिदियौं। तर काठमाडौंबाटै काम भएन त।

ललितपुर कलाको नगरी हो, यहाँ खेती पनि प्रशस्त छन्, सबै व्यस्तै देखिन्छन्, तर तपाईको प्राथमिकता रोजगारी पनि छ, किन?

अहिले जनसंख्या बढिरहेको छ। बजारले मागेको रोजगारी छैन। कोभिडले धेरै रोजगारी लग्यो। फर्कन सकेको छैन। हस्तकला क्षेत्रले बजार पाएको छैन। यसले बजार नपाउनु भनेको बेरोजगारी बढ्नु हो। जुन रुपले हुनुपर्ने हो। भएको छैन। यसमा हाम्रो ध्यान तानेको छ।

अहिले तालिममा फोकस गरिरहेका छौ। बजारमा सेलएबल हुने अनुसारको तालिममा हाम्रो ध्यान छ। क्वालिटीको तालिम दिइसकेकपछि हामी सिड मनीको व्यवस्था गर्छौ। यो हिसाबले हामी अगाडि बढ्छौ। कोहीसँग तालिमको लागि पैसा छैन। राम्रो रिजल्ट ल्याउँदै छ भने महानगरले इनिसियल इन्भेस्टमेन्ट गर्दिन्छ।

तपाईको प्रतिद्वन्द्वीले त मेयरले साइकल लेनको नाममा सडक पोत्नेबाहेक केही काम गरेन भनेर आरोप लगाउनुभएको छ नि?

हैन साइकल लेन सडकमा बनाइन्छ त।

तर व्यवस्थित त छैन नि हैन?

इन्टरनेसनल स्टान्डर्डको साइकल लेन हामीले बनाएका हैनौ। विद्यमान सडकको चौडाई ठुलो छैन। थोरै चौडाइमा पनि गर्न सकिन्छ। हामीसँग डेडिकेडेट साइकल लेन छैन। यो त सेयर साइकल लेन हो। मेरो साइकल छ भने मैले पहिलो प्राथमिकता पाउँछु। त्यसपछि तपाईले बाइक ल्याइनुभयो भने त्यसपछि पाउने हो।

साइकल लेन बनाइसकेपछि हामीले यससम्बन्धी कानुन बनाउन सकेका छैनौं। यसले अलि गाह्रो परिरहेको छ।

कानुन त स्थानीय सरकारलाई बनाउने अधिकार छ नि हैन?

कानुन बनाउन हामी सक्छौ। तर नेपालको संविधान वा अरु कानुनको सहारा लिएर बनाउनुपर्छ। यो भन्दै गर्दा नेपालको संविधानमा बाइसाइकल लेनको कानुन छैन। त्यसैले अलि गाह्रोसाह्रो परिरहेको छ। हाम्रो कानुन बनायौ तर त्यसलाई पास गर्न सकिरहेको छैनौ। तसर्थ संघीय सरकार र प्रादेशिक सरकारले कानुन कहिले बनाउँछ थाह छैन। हामीले हाम्रो कानुन ड्राफ्ट फर्म्याटमा छ। आउँदो नगरसभामा ल्याउने प्लान छ।

यहाँको सम्पदालाई पुनर्जीवित गराउने विषयमा तपाईको जोड अझै रहन्छ?

हामीले यसमा व्यापक उपलब्धि हासिल गरिसकेका छौ। हिजो मासेर गइसकेको सम्पदालाई पुनर्जीवन दिइसकेका छौं। उदाहरणका रुपमा पूर्णचण्डी पोखरीलाई लिन सक्नुहुन्छ। त्यो पोखरी अलमोस्ट सकिसकेको थियो। अहिले रहरलाग्दो देखिन्छ। हिजोको अवस्थामा पुल्चोकको समयफल्चा थिएन। अहिले बनिसकेको छ। विगत २५ वर्षदेखि सञ्चालनमा रोक लागेको खड्गजात्रा फेरि सञ्चालन गर्‍यौं। यस्ता धेरै कुरा छन्।

चुनाव नजिक छ, कांग्रेसले घरदैलोमै फोकस हुनु भनेको छ, तपाईले सुरु गर्नुभयो?

मुलमन्त्र यही हो। कार्यान्वयनमा हामी गइसकेका छौं।

वडा वडामा घरदैलो थालिसक्नुभएछ। के छ जनताको प्रतिक्रिया?

एकदमै राम्रो रेस्पोन्स छ। दुई दिन पुग्दा चाहि प्रायजसो मतदाताहरुले चै 'तपाईं नआए नि हुन्छ नि' भन्नुभयो। भनेको मतलब जित सुनिश्चित छ भन्ने किसिमले भन्नुभएको। यसको मतलब उहाँहरु मलाई जिताउन तयार भएको देखें।

भनेपछि घरदैलो गइरहनु आवश्यक देखिएन? यति ठुलो ठाउँ छ, चुनाव पनि धेरै दिन बाँकी छैन।

हैन यो त अति आवश्यक छ। पब्लिक रिलेसन राख्नै पनि जानै परो। सम्बन्धको रिन्यु पनि हुन्छ। यो त सौभाग्य हो नि। यस्तो मौका कहाँ पाउनु?

तर प्रचारको समय थोरै छ। यहाँ २९ वडा छन्। ८१ हजार घरदैलो छन्। सकेसम्म सबै ठाउँमा रुट बनाएर हामी पुग्ने कोसिस गरिरहेका छौ।

दिनमा कम्तीमा तीन वडा पुग्ने लक्ष्य छ। बिहान २ वडामा साँझ एक वडामा र दिउँसो कार्यकर्ता भेटघाट कार्यक्रम छ।

मतदाता रिझाउन पुग्नै पर्ने हैन त?

मतदाता रिझाउनुमात्र हैन। आफ्ना समस्या पनि बताउनुहुन्छ। ती त आगामी योजनाका लागि गाइडलाइन नै हुन् नि। भोलिको कार्यकालको लागि ती समस्या महत्वपूर्ण खाका हो नि। मतदाताको कुरा सुनेर नै हो आगामी योजना बन्ने। नत्र त कामको खाका नै बन्दैन।

तर 'तपाईँले यसपटक जित्दै जित्नुहुन्न, अघिल्लोपटक जालझेर गरी जित्नुभएको हो, यसपटक जनताले बुझिसके' भनेर तपाईको प्रतिद्वन्द्वीले भनिरहनु भएको छ?

त्यो त विपक्षीको धर्म नै हो। तर उहाँको भनाईमा केही तुक छैन। कुनै भनाई पुष्टि हुनुपर्छ। तर आधारै नभएको कुरालाई उहाँले पुष्टाइ गर्नुभएर त हुँदैन नि। फलाना ठाउँमा मत बिगार्‍यो भन्दै गर्दा उहाँले मुद्दा हाल्नुभयो। खै त उहाँले मुद्दा जितेको। हैन? उहाँले मुद्दा त जितेन। उहाँले नचाहिँदो किसिमको उपन्यास लेख्दा चाहिने जस्तो काल्पानिक कुरा गरेर भएन नि।

चिरिबाबुलाई हराउन हरिकृष्णका तीन आधार यस्तो, गठबन्धनलाई प्रश्न, 'शेरबहादुर देउवाले कान्छी भाउजुसँग एकता गर्ने त होइन होला?'

भनेपछि आफू जित्नेमा तपाई ढुक्क हुनुहन्छ?

म धेरै मतान्तरले जित्छु। जसको आधार - मैले पाँच वर्ष राम्रो काम गरें। नगरबासीको मन जितें। मलाई सबैतिर क्लियर इमेज भएको मेयर भन्छन्। अर्को कुरा हिजो मर्ज हुन आएका थप वडामा म परिचित थिइनँ। अहिले चिनिएको छु। यो भनेको भोट बढ्ने नै हो।

गठबन्धन पनि हो अर्को कारण। पहिले 'सोल्ली एन्ड होल्ली' पाएको हुँ। यसपटक समाजवादीले पनि भोट दिन्छ। माओवादीले पनि भोट दिन्छ। मलाई भोट नदिने भनेको नेकपा एमालेले मात्र हो। यसकारण एमालेको उम्मेदवारलाई धेरै मतान्तरले हराउँछु। धेरै मार्जिनले हराउँछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell