PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डेनमार्कमा ढोल बजाउँदै मोदी ‘साहेब’, नेपाल आएका राहुललाई चाहिँ किन गरिँदै ‘टार्गेट’?



सहयोग रञ्जित

डेनमार्कमा ढोल बजाउँदै मोदी ‘साहेब’, नेपाल आएका राहुललाई चाहिँ किन गरिँदै ‘टार्गेट’?

काठमाडौं : सोमवार दिउँसो भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी नेपाल आए। आफ्नो साथी सुम्‍निमा उदासको ‘इन्भाइटेड गेस्ट’ बनेर काठमाडौं ओर्लिएका हुन् राहुल। नक्सालस्थित होटल मेरियटमा बसेका उनको नेपाल भ्रमणबारे भारतीय मिडिया लगभग बेखबर थियो। जब साँझतिर नेपाली मिडियाले राहुल ‘सुटुक्क’ काठमाडौं आएको समाचार छापे, भारतीय मिडियामा पनि राहुलबारे सनसनीखेज समाचार आउन सुरु भइहाल्यो।

राहुल काठमाडौं आउनुको कारण थियो उदासको विवाह। मेरियटमा केही घण्टाको विश्रामपछि राहुल नव-धनाढ्यको ‘जंकसन हब’ का रुपमा परिचित ठमेलको लर्ड्स अफ ड्रिङ्स (एलओडी) पुगेका थिए। सोमवार राति साढे १० बजेतिर भने उनी एलओडी पुगेका थिए, जसबारे क्लब व्यवस्थापनलाई पहिलै जानकारी दिइएको थिएन। बिनाकुनै सुरक्षाकर्मी करिब १२ जनाको समूह क्लबमा पुगेका राहुलको सुरक्षाको व्यवस्था एलओडीले नै गरेको थियो। सरकारी तवरबाट राहुलको लागि भनेर छुट्टै व्यवस्था गरिएको छैन। नेपाल पर्यटकका लागि कतिसम्म सुरक्षित छ भन्ने देखाइरहेको थियो उनको भ्रमणले। 

सम्बन्धित समाचार : एलओडीको भीभीआइपी टेबलमा राहुल गान्धीको पार्टी, एक रातमा कति गरे खर्च?

सीएनएनका पूर्व पत्रकार उदासको निमन्त्रणामा आएका राहुलको चर्चा तब चुलियो जब एलओडीमा साथीहरुसँग बसिरहेको भिडियो सार्वजनिक भयो। सामाजिक संजालमा भिडियो तीब्र गतिमा सेयर भयो। अनि भारतीय मिडियाको हेडलाइन बने राहुल। अनि परे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निशानामा। भाजपासँगै हिन्दुवादी कट्टरपन्थीहरुको तारो बनिहाले उनी। उनलाई विदेशी शक्ति र भारतविरोधीसँग मिलेको आरोप लगाइयो। साथीको बिहेमा सरिक हुनु कसरी देशद्रोह? राहुलको समर्थनमा पनि यस्तै प्रश्न गर्नेहरु उभिए जो विरोधीको तुलनामा थोरै थिए।

मोदीविरुद्ध ट्वीटको ‘रेस्पोन्स’ कि राहुलफोबिया?

सन् २०१४ देखि भारतमा नरेन्द्र मोदीको शासन चलेयता कांग्रेस र भाजपाको सम्बन्ध राम्रो छैन। भाजपामा ‘राहुलफोबिया’ हाबी हुँदा कांग्रेसमा ‘मोदीफोबिया’ छ। यी दलहरु बिच भारत स्वतन्त्र भएयताकै दुरी फराकिलो भएको छ। उदाहरण हो राहुलको नेपाल भ्रमणले ल्याएको तरंग।

राहुल गान्धी काठमाडौं ओर्लिएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डेनमार्क भ्रमणका लागि निस्किएका थिए। तीन युरोपियन राष्ट्रको भ्रमणका लागि निस्किएका मोदीविरुद्ध सोमवार राति भारतीय राष्ट्रिय कांग्रेसको ट्वीटर ह्यान्डलबाट एक ट्वीट भयो।

जसमा लेखिएको थियो : देशमा संकट छ, तर साहेब विदेशमा मस्त छन् !

साहेब अर्थात् मोदी। पंजाबमा हिंसा, अशान्त मुम्बईलगायतका विषयमा भारत भर आरोप प्रत्यारोप भइरहँदा मोदीको विदेश भ्रमणलाई लिएर कांग्रेसले प्रहार गरेको थियो। त्यो ट्वीट भइरहँदा राहुल भने काठमाडौंमा थिए। त्यसमाथि राहुलको ‘क्लबिङ’ भिडियोले सार्वजनिक भएपछि भाजपालाई के चाहियो र? मोदीको विदेश भ्रमणको विरोध गर्ने कांग्रेसलाई जवाफ फर्काउन राहलुको त्यही भिडियो काफी बन्यो।

भाजपाको ‘आइटी सेल’ प्रमुख अमित माल्बियाले मुम्बई ‘अर्डर सिज’मा रहँदा राहुल नाइट क्लब पुगेको आरोप लगाए।

‘राहुल गान्धी एक नाइट क्लबमा थिए जब मुम्बई प्रहरीको कब्जामा थियो। उनी एक नाइट क्लबमा छन् जब उनको पार्टी बिस्फोट भइरहेको छ,’ उनले ट्वीटमा भनेका थिए।

उनी त्यतिमा रोकिएनन्। उनले राहुल गान्धीको व्यक्तिगत काठमाडौं यात्रालाई राजनीतिक बनाइदिए। सुम्निमा उदासलाई ‘भारत विरोधी’को संज्ञा दिँदै उनले राहुलमाथि प्रश्न उठाए। नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि उदासले नेपाल सरकारको समर्थन गर्दै सीएनएनको समाचार सेयर गरेकी थिइन्। मालबियाले त्यही ट्वीटको स्क्रिनसट सेयर गर्दै प्रश्न गरे : चीन होस् या नेपाल, भारतको भौगोलिक अखण्डतालाई चुनौती दिनेहरूसँग मात्र राहुलको सम्बन्ध किन?

त्यतिमात्र होइन, राहुलसँग भिडियोमा देखिएको महिलाबारे पनि प्रश्न उठाइएको छ। ती महिलालाई नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी भनेर समेत भारतमा हल्ला फैलाइयो। कुनै ‘फ्याक्ट चेकिङ’ नगरी त्यो कुरा सामाजिक संजालमा भाइरल भयो। तर, ती महिला यान्छी नभइ मंगोलियन मूलकी महिला थिइन्।

भाजपाको आरोपपछि कांग्रेस पनि जवाफ फर्काउन बाध्य भयो। मोदी पाकिस्तानमा नवाज शरिफको जन्मदिन मनाउन ‘अनइन्भाइडेट गेस्ट’ बनेर गएको स्मरण गराउँदै कांग्रेसले राहुल साथीको निमन्त्रणामा काठमाडौं पुगेको बताए।

कांग्रेस प्रवक्ता रण्दीप सुर्जेवालले विवाह कार्यक्रममा जानु अपराध हो कि होइन भनेर मोदी र भाजपाले छुट्याउने दिन आएको भन्दै व्यङ्ग्य समेत गरे।

‘यो देशमा परिवार हुनु, साथीहरू हुनु, विवाह, विवाह समारोह आदि हाम्रो संस्कृति र सभ्यताको कुरा हो। यो देशमा अझै पनि बिहे गर्नु, कसैसँग साथी बन्नु वा उनीहरुको विवाह समारोहमा सहभागी हुनु अपराध बनेको छैन। हुनसक्छ आजको दिनपछि प्रधानमन्त्री मोदी र भाजपाले विवाहमा उपस्थित हुनु गैरकानूनी हो भन्न सक्छ,’ सुर्जेवालले भाजपालाई लक्षित गर्दै भनेका थिए।

कांग्रेसले भाजपामा ‘राहुलफोबिया’ हाबी भएको आरोप सुरुदेखि नै लगाउँदै छ। खासगरी मोदीले राहुललाई ‘पप्पु’ भनेर गर्ने सम्बोधनको कांग्रेसले आलोचना गर्दै आइरहेको छ। भाजपा भने कांग्रेस गान्धी परिवारबाहिर जान नसकेको आरोप लगाउँदैछ।

यता राहुलप्रति भाजपा र हिन्दुवादी आइटी सेल आक्रमण हुँदा मोदी भने डेनमार्क पुगे। भारतमा भाजपा भर्सेस कांग्रेसबिच ट्वीटर र पत्रकार सम्मेलनमा ‘वार’ चलिरहँदा उता मोदी ढोल बजाउँदै थिए। डेनमार्कमा उनले भारतीयहरुलाई सम्बोधन गरेका थिए।

अहिले भने कांग्रेस मोदीको उक्त भ्रमण र राहुलमाथि लगाइएको आरोपप्रति ‘डिफेन्सिफ’ सुनिएको छ। कांग्रेसले ट्वीटरमा देश संकटमा रहँदा मोदी जहिलै विदेशमा रहने र रमाइलो गर्न हिँड्ने गरेको आरोप लगाइरहेको छ।

विवाहमा राजनीति

भाजपाले राहुलको काठमाडौंलाई यात्रा राजनीतिक बनाएपछि भारतमा त्यसको आलोचना पनि भइरहेको छ। राहुलले परम्परावादी सोच त्याग्दै आफ्नो जीवनमा अघि बढेको भन्दै समर्थन गर्नेहरु धेरै छन्। उनी नेताका रुपमा नभइ साथीको रुपमा काठमाडौं गएको भन्दै राहुललाई आफ्नो जीवन जिउन दिनुपर्ने नेटिजन्सको राय छ।

स्वीडेनको उपशाला विश्वविद्यालयका प्रोफेसर अशोक स्वैनले पनि मोदीकालमा भारतमा ‘हेट पोलिटिक्स’ बढेको बताएका छन्। उनले भाजपा ‘फासिस्ट’ शासन तिर अघि बढेको भन्दै उनीहरुको तर्कमा कुनै ‘लजिक’ नभएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell