PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

असार १७ लाई ज्योतिषीको कुरा भन्दै पन्छिए ओली : गठबन्धनका लागि सबैभन्दा ठुलो खड्को त वैशाख ३० नै हो



पहिलोपोस्ट

असार १७ लाई ज्योतिषीको कुरा भन्दै पन्छिए ओली : गठबन्धनका लागि सबैभन्दा ठुलो खड्को त वैशाख ३० नै हो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनहरुमा पाँच दलीय गठबन्धनको आयु असार १७ गतेसम्म मात्र भएको बताउँदै आएका छन्। शनिवार विराटनगरमा आयोजित चुनावी सभामा पनि ओलीले यही विषय दोहोर्‍याए

‘शेरबहादुरजीलाई म भन्न चाहन्छु, तपाईँ ज्योतिषमा धेरै विश्वास गर्नुहुन्छ,’ ओलीले भने, ‘आउँदो असार १७ गते तपाईँका ग्रह-नक्षत्र कहाँ छन्, आफ्ना ज्योतिषीलाई हेर्न लगाउनु होला। विचरा शेरबहादुरजीको सातोपुत्लो उडिरहेको होला।’

ओलीको यो भविष्यवाणी सामाजिक सञ्जालदेखि चिया पसलसम्म चर्चाको विषय बनेको छ। अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको थियो। पछि प्रदेश सभा र संघीय निर्वाचनमा माओवादी एमालेसँग एकता गर्न आइपुग्यो।

यसरी नै कतै पाँच दलीय एकतामा फुट आउने त हैन? ओलीको भनाईले धेरैले आशंका पनि गर्न थालेका छन्। यद्यपि, गठबन्धनको चुनावी मञ्चहरुमा यो तालमेल १०-२० वर्षसम्म पनि लैजाने प्रयास भइरहेको शीर्ष नेताहरुले नै दाबी गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी दलका नेताले गठबन्धन भत्कने कुरा निकालेपछि यो सबैतिर चासोको विषय बनेको छ। आइतवार ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले यही प्रश्न सोझ्याए उनलाई।

असार १७ मा गठबन्धन भत्कने आधार के के त?

सञ्चारकर्मीको प्रश्नमा ओलीले यो ज्योतिषीको कुरा भन्दै पन्छिन खोजे।

‘कसले विश्वास गर्छन्, गर्दैनन् ज्योतिषीहरुको कुरा हो क्या, मेरो कुरा हैन। मैले  ज्योतिषीहरुको कुरा भन्या,’ ओलीले भने।

कम्युनिस्ट पार्टीका अध्यक्ष ओलीले ज्योतिषीको भनाईलाई उद्धृत गर्दै गठबन्धनमा महासंकट आउन लागेको दाबीसमेत गरे। ‘ज्योतिषी एउटा ग्रहदशा हेर्ने हुन्छ अर्को राजनीति हेर्ने ज्योतिषी हुन्छ,’ उनले भने, ‘अहिले चै दुवै प्रकारका ज्योतिषीहरु गठबन्धनकाअगाडि महासंकट हुँदैछ भन्छन्। यो ज्योतिषीहरुको कुरा हो।’

प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीलाई हेराउनुपर्ने चुनौतिसमेत ओलीले दिए। ‘हैन भने प्रधानमन्त्रीज्युले ठ्याक्कै ठ्याक्कै मिलाउने आफ्नै ज्योतिषी हुनुहुन्छ नि। उहाँलाई बोलाएर सोध्नुहोला,’ ओलीले भने, ‘गठबन्धन रहन्छ रहन्न भन्ने मेरो त्यसमा कुरा छैन।’

ओलीले गठबन्धनका लागि असार १७ सम्म पर्खनै नपर्ने बरु वैशाख ३० को निर्वाचन नै ठुलो खड्को हुने दाबी गरे।

‘गठबन्धनका लागि सबैभन्दा ठूलो खड्को त वैशाख ३० नै हो। यसैमा  गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ,’ ओलीले भने, ‘कस्तो दिन उहाँहरुले छानेर राख्नुभएछ। ज्योतिषीहरुको  भनाई है यो वैशाख ३० मा त उहाँहरुलाई त हुनसम्मै हुन्छ के। ढाडै भाँच्चिने गरी। ज्योतिषीहरुको कुरा है, यो मेरो कुरा हैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell