PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जहाँ एमालेको गढ त्यहीँ बालेनको कब्जा



प्रकाश भण्डारी

जहाँ एमालेको गढ त्यहीँ बालेनको कब्जा

काठमाडौं : अघिल्लो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखदेखि धेरैजसो वडामा नेकपा एमालेले जित निकालेको थियो। ६४ हजार ९ सय १३ मत पाएर मेयरमा एमालेका विद्यासुन्दर शाक्य जित्दा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएर चित्त बुझाएका थिए।

उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खड्कीले जिते पनि अधिकांश वडामा एमालेले जित्दा मेयरमा कांग्रेसले हार बेहोर्नुपर्‍यो। त्यतिबेला महानगरका १,२,३,४ वडामा वडा अध्यक्षमा जित निकालेको थियो एमालेले। अर्थात ती वडामा एमालेले पकड जमाएको थियो। ७,९,१२,१३,१४,१५,१८,२१,२२,२३,२४,२७,३१ र ३२ नम्बर वडाको वडाध्यक्षमा पनि एमालेकै उम्मेदवारले जिते। 

तर अहिलेको निर्वाचनमा यो स्केच बदलिएको छ। काठमाडौं महानगरमा मतगणनाको हालसम्मको परिणामअनुसार एमालेले जितेका ठाउँमा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह 'बाहुबली' बनेक छन्। जहाँ एमालेका उम्मेदवार केशव स्थापित पछि परेका छन्। हाल गणना भइरहेको वडा नम्बर १,२,३,४,३१ र ३२ वडामा साहको अग्रता एमालेका स्थापितभन्दा झण्डै दोब्बर छ।

यो पनि : बालेनको लौरोले एमाले-कांग्रेसलाई कसरी हानिरहेको छ ट्वाक्क, ट्वाक्क, ट्वाक्क...?

१ नम्बरको वडा अध्यक्षमा एमालेका भरतलाल श्रेष्ठले १ हजार ३५ मत ल्याएर जिते,२०७४ को स्थानीय तह निर्वाचनमा। २ मा राजेन्द्रकुमार श्रेष्ठले १ हजार ८ सय ४० मत ल्याएर जित्दा ३ नम्बर वडाको वडा अध्यक्षमा एमालेका दिपक केसीले ३ हजार ६२ मत ल्याएर विजयी भएका थिए।

यस्तै वडा नम्बर ४ मा एमालेका मोहनबहादुर विष्टले ३ हजार ८ सय १३ मत ल्याएर जित निकालेका थिए। वडा नम्बर ३१ मा एमालेका नारायणप्रसाद भण्डारीले ४ हजार २ सय ९७ मत ल्याएर वडा अध्यक्षमा जिते।

३२ वडामा एमालेका नवराज पराजुलीले ५ हजार ८ सय ७९ मत ल्याएर चुनाव जितेका थिए। अहिले यी वडामा नै एमालेका मेयर पदका उम्मेदवार स्थापित पछि परेका छन् भने स्वतन्त्र उम्मेदवार साहले अग्रता कायम गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell