PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पोखरामा 'अडियो काण्ड'ले अप्रत्यासित तरङ्ग ल्याउँदा ह्वात्तै बढाइयो सुरक्षा, मतगणनास्थल तनावग्रस्त हुने त्रास



रिना थापा

पोखरामा 'अडियो काण्ड'ले अप्रत्यासित तरङ्ग ल्याउँदा ह्वात्तै बढाइयो सुरक्षा, मतगणनास्थल तनावग्रस्त हुने त्रास

पोखरा : महत्वका साथ हेरिएको पोखरा महानगरपालिकाको मतगणना शहीद चोकमा जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय अगाडि छन् मतपरिणाम कुरीरहेका कार्यकर्ता, प्रतिनिधि र उम्मेदवार। तर,मंगलवारदेखि मतगणना स्थलको दृश्य फरक देखिएको छ।

मतगणनास्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या बढाएर सुरक्षा व्यवस्था थप कडा पारिएको छ। राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको प्रवेशमा कडाइ गरिएको छ। मंगलवार बिहानदेखि दलका उम्मेदवार र प्रतिनिधिलाई मात्र होइन, पत्रकार प्रवेशमा पनि कडाइ गरिएको छ। मत गणनास्थलको माहोलमा यस्तो प्रभाव भने आइतवार पोखरामा सार्वजनिक भएको अडियाेले पारेको हो। अडियाे सार्वजनिक भए लगत्तै मंगलवार बिहान सुरक्षा व्यवस्थापनबारे बैठक बसेको थियो। बैठकपछि मतगणनास्थलको सुरक्षामा कडाइ गरिएको हो।

आइतवार एकाएक सार्वजनिक भएको अडियाले पोखराको राजनीति तरंगित छ। भित्र मतगणना भइरहँदा बाहिर कृष्ण थापालाई हराउन पार्टीभित्रकै नेता र कार्यकर्ता लागेको अडियो बाहिरिएको थियो। गठबन्धनबाट प्रमुखमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले सुरुवादेखि नै अग्रता लिइरहेका छन् भने एमालेका कृष्ण थापा उनलाई पछ्याउँदै छन्।

के पोखराको मेयर उम्मेदवार कृष्ण थापालाई हराउन एमालेकै कार्यकर्ता लागेका हुन्? अडियो बाहिरिएसँगै उठ्यो प्रश्न

त्यहीँ मौकामा अडियो सुनियोजित रुपमा सार्वजनिक गरिएको हो। स्रोतका अनुसार अडियोबारे मतदानको दिन अगावै कृष्ण थापा पक्षका कार्यकर्ता जानकार  थिए। पार्टीभित्रैबाट अन्तर्घात हुनेबारे तथ्य खुलाएको अडियाे भने निर्वाचनको दिनपछिमात्रै सार्वजनिक भयो। कास्कीमा गुटगत राजनीति प्रष्ट रुपमा देखिँदै आएको छ। महानगरबाट सुरु भएको राजनीतिमा प्रतिष्ठाको लडाईले प्रदेश र जिल्ला अधिवेशन हुँदै एमालेभित्र नै अन्तर्घातसम्म पुर्‍याएको हो।

एमालेको पकड रहेको वडामा समेत धनराजले अग्रता लिन थालेपछि सार्वजनिक भएको अडियाेलाई लिएर उनी पक्षधर नेता तथा कार्यकर्ता पनि सशंकित बनेका छन्। सुनियोजित रुपमा अडियाे सार्वजनिक गरेको उनीहरुको ठहर छ। यसले जारी मतगणनाको सुरक्षा पनि असर पार्नसक्नेमा उनीहरु थप सशंकित छन्।

सम्रगमा पोखरामा एमालेको बलियो पकड छ। तर, त्यसमध्ये पनि एमालेको गढ मानिएको वडाको मतगणना हुन बाँकी नै छ। त्यसैले एमाले बलियो मानिएको वडामा कृष्ण थापालाई कसरी मत आउँछ, त्यो मतगणना सुरु भएपछिमात्र थाहा हुनेछ। तर, धनराज पक्षका कार्यकर्ताहरु एमालेको वडा मानिएको मतगणनाको समयमा धाँधली हुनेमा चिन्तित छन्। अहिले दिउँसोदेखि गठबन्धन पक्षका प्रतिनिधि धेरै राखिएको भन्दै एमाले कार्यकर्ताले नाराबाजी गरेका थिए। त्यसैले अघिल्लो निर्वाचनमा भरतपुरमा मतपत्र जसरी च्यातियो त्यसरी यहाँ पनि च्यातिने सम्भावना रहेको उनीहरुको आशंका छ।

मत गणनास्थलमा हुने सम्भावित घटनालाई आँकलन गरेर नै अहिले सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको हो। मतगणना स्थलमा सुरुवातदेखि नै एकद्वार नीति लागू गरिए पनि त्यसमा अहिले थप कडाइ छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्रवेश गरेर बाहिर निस्किन जिल्ला समितिको गेट प्रयोग गर्नुपर्छ। हिजोदेखि  मतगणनास्थलबाट बाहिर निस्किएपछि सबैले इन्ट्री रेकर्ड राखेर बाहिर निस्किनुपर्ने बनाइएको छ।

यसअघि मतगणनास्थल प्रवेश गर्दा सामान र झोला सामान्य चेक भए पनि अब भने त्यसमा कडाइ गरिएको छ। मतगणना भइरहेको वडा बाहेकका प्रतिनिधि प्रवेशमा यसअघि रोक थिएन। हिजोदेखि सम्बन्धित वडाबाहेकका प्रतिनिधि प्रवेशमा पनि कडाइ छ।

'सुरक्षा व्यवस्थापनको बैठक बसिसकेपछि हिजोबाट थप कडाइ भएको हो। म्यादी प्रहरी र नेपाल प्रहरी पनि थप खटाइएको छ। प्रतिनिधि प्रवेशमा पनि कडाइ छ,' निर्वाचन कार्यालय स्रोतले भन्यो।

मत गणनास्थलको सुरक्षालाई मध्यनजर गर्दै थप कडाइ गरिए पनि जिल्ला प्रशासन कार्यालयले सुरक्षा थ्रेट चाहिँ नभएको बताएको छ। सार्वजनिक भएको अडियाे मात्रले सुरक्षा व्यवस्था कडाइ नगरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जयनारायण आचार्यले बताए।

'सुरक्षा थ्रेट बढ्ने त्यस्तो केही नि होइन। अब सुरक्षामा हामी संवेदनशील छौं। त्यसैकारण मात्र होइन अन्यत्र पनि मतगणना सकियो। हामी समग्रमा सुरक्षाको विषयमा संवेदनशील छौं,' प्रमुख आचार्यले भने।

सार्वजनिक भएको अडियाेलाई एमालेका नेता फरक नजरले हेरिरहेका छन्। गुटगत राजनीति भइरहेको पोखरामा कृष्ण थापा पछि परिरहेको समयमा पृथ्वीसुब्बा पक्षलाई प्रहार गर्न पनि अडियाे सार्वजनिक भएको उनीहरुको आरोप छ। एमालेको बलियो पकड रहेको पोखरामा धनराजले उछिनिरहँदा एमालेलाई ठूलाे धक्का पुगिरहेको छ। यही मौकामा अन्तर्घातको अडियाे सार्वजनिक हुँदा कृष्ण थापाको सम्भावित हारमा बचाउ त हुने नै भयो, पृथ्वीसुब्बा समूहप्रति गुटगत राजनीतिको प्रहार गर्न पनि मौका मिलेको एमालेकै नेता सुनाउँछन्।

समाचार तयार पार्दासम्म पोखरामा ३६ हजार १२ मतगणना भएको छ। जसमध्ये वडा १, २, ३, ४, ५, १२ र २३ को नतिजा आइसकेको छ। यसमध्ये वडा १ र २ मा मा एमालेले बाहेक सबैमा कांग्रेसले जित निकालेको छ।

अहिले वडा ६, ७, १३, २०, २४, २५ र २६ को मतगणना जारी छ। जसमा ६ र २० मा एमालेले अग्रता लिएको छ भने बाँकी वडामा कांग्रेसले। एमालेको राम्रो पकड मानिएको वडा १७, १८, १९, २१, ३१ र ३३ मा मतगणना हुन बाँकी नै छ।

एमाले उम्मेदवार कृष्ण थापाको गृह वडा १६ नम्बरमा पनि मतगणना भइसकेको छैन। एमालेको पकड रहेको वडा ३३ भरत पोखरी धनराजको गृह वडा हो। त्यहाँबाट कसलाई कति मत खस्छ हेर्न बाँकी नै छ। यस्तै, एमालेकै पकड रहेको वडा २१ धनराजको मावली वडा हो। त्यहाँबाट मत कृष्णलाई जान्छ कि धनराजलाई भन्ने प्रतीक्षा पनि उत्तिकै रोचकपूर्ण छ। वडा नम्बर २१ नेकपा एकीकृत समाजवादीले दाबी गरेको वडा हो।  पोखराको वडामध्ये २१ मा मात्र गठबन्धनको तर्फबाट एकीकृतका वडा अध्यक्षमा कर्ण बहादुर उम्मेदवार छन्।

एमालेको पकड रहेको केही वडाबाट धनराजलाई मत क्रस पनि भएको पार्टीका नेता कार्यकर्ताको दावी छ। पोखरा १३ मा ५ हजार एक सय मत गन्दासम्म एमालेमा उप प्रमुखले  २ हजार १ सय ६७ मत पाउँदा कृष्ण थापाले १ हजार ९२० मत पाएका छन्। यता धनराजले २ हजार १४ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell