PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

खेर गयो देउवाको चेतावनी : कारबाहीमा परेका राजसमझ कैलारीको अध्यक्षमा निर्वाचित, गठबन्धनको भाग पाएको माओवादी 'क्लिन स्विप'



एम बम

खेर गयो देउवाको चेतावनी : कारबाहीमा परेका राजसमझ कैलारीको अध्यक्षमा निर्वाचित, गठबन्धनको भाग पाएको माओवादी 'क्लिन स्विप'

कैलाली : कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै कारबाहीमा परेका कांग्रेसका राजसमझ चौधरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्।

उनले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई पराजित गरेका हुन्। राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन्।

उनले १० हजार ४ सय ८४ मत ल्याएर निवर्तमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी छन्। उम्मेदवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझको उम्मेदवारी कायम रहेको थियो। उनी रुख चिह्नबाटै चुनाव लडेका थिए।

कैलारी गाउँपालिकामा कांग्रेसले १ देखि ९ वडासम्म पुरै प्यानलसहित जितेको छ। गत चुनावमा गाउँपालिका अध्यक्षसमेत जितेको माओवादी यसपाली कैलारीमा ‘क्लिन स्विप’ भएको छ।

खेर गयो देउवाको चेतावनी

वैशाख २६ गते धनगढी पुगेर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले राजसमझलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका थिए। यसअघि पनि बागीकै कारण हारेको इतिहास रहेको उल्लेख गर्दै देउवाले गठबन्धनलाई हराउने उम्मेदवारलाई नछाडिने चेतावनी दिएका थिए।

पहिले पनि बागी उठ्दा हार्‍यो, यसपाली पनि हार्‍यो भने कुनै पनि हालतमा माफी गरिने छैन : देउवा

'स्थानीय सरकार पनि जित्न जरुरी छ। बागीले उम्मेदवारी फिर्ता लिनुपर्छ। मन्तव्यमार्फत पनि हामीले उम्मेदवार फिर्ता लिएका छौ,' देउवाले भनेका थिए, 'अहिले भन्न चाहन्छु। बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहिने छैन। मान्यता दिइने छैन। अहिले झगडा गर्ने हैन। बागी उठ्दा हामीले पहिले पनि हारेकै हो। अहिले पनि बागी उठेर पार्टी हर्‍यो भने  कुनै पनि हालतमा माफी  गरिने  छैन।'

कैलरी गाउँपालिकामा यस्तो समस्या रहेको उल्लेख गर्दै देउवाले तुरुन्त उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। 'कैलरी गाउँपालिका पनि त्यही समस्या छ। फिर्ता लिनुस्। केन्द्रबाट निर्णय आउँछ। फिर्ता लिनुभएन भने तपाईलाई कारवाही हुनेछ,' उनले भनेका थिए।

मनोनयनको समय घर्केर पनि गठबन्धनमा सहमति नभएपछि कांग्रेसबाट रामसमझले अध्यक्षमा र माओवादी केन्द्रबाट उपाधयक्षमा लक्ष्मी सत्गौवाले उमेदवारी दिएकी थिइन्। पछि अध्यक्षमा कांग्रेसका राम समझले उम्मेदवारी फिर्ता नगरेको भन्दै फिर्ता नगराएको भन्दै प्रचण्डले लक्ष्मीको पक्षमा मत मागेका थिए। यद्यपि लक्ष्मी पनि उपाध्यक्षमा पराजित भइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell