PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोइराला परिवारबाट विराटनगरका तेस्रो मेयर भए नागेश, उपप्रमुखमा शिल्पा निर्वाचित



अनन्तराज न्यौपाने

कोइराला परिवारबाट विराटनगरका तेस्रो मेयर भए नागेश, उपप्रमुखमा शिल्पा निर्वाचित

विराटनगर : विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेस मोरङका उपसभापति नागेश कोइराला र उपप्रमुखमा एमालेका शिल्पा निराला कार्की निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणाअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापालाई ८ हजार ७१५ मतले पछि पार्दै कोइरालाले प्रमुख पदको माला लगाएका हुन्।

महानगरका १९ वटै वडाबाट कोइरालाले कुल ३० हजार १७० मत प्राप्त गर्दा थापाले २१ हजार ४५५ मत हासिल गरेका छन्।

तेस्रो हुने स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ मत हात पारेका छन्। यादव यसअघि २०७४ का चुनावमा तत्कालीन मधेशी जनअधिकार फोरमका तर्फबाट प्रमुखका दाबेदार थिए। त्यसबेला उनले १४ हजार ९५८ मत ल्याएका थिए। यस पटक जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार बनाइएपछि उमेश पाखा परेका थिए।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका तर्फको यो पहिलो परिणाम हो। काठमाडौं, ललितपुर, पोखरा, वीरगंज र भरतपुर महानगरपालिकामा मत गणना जारी छ।

कोइराला परिवारबाट तेस्रो मेयर

विराटनगरमा कोइराला परिवारबाट महानगरको प्रमुख हुने तेस्रो नेता भएका छन्। कोइराला परिवारबाटै लोकतन्त्रको विगुल फुकिएको विराटनगरमा २००७ सालको जनक्रान्तिले केशवप्रसाद कोइरालालाई विराटनगरमा नेपाल प्रजातन्त्र सामयिक सरकारको प्रमुखमा नियुक्त गरेको थियो। उनै केशवप्रसाद २०१४ सालमा गरिएको स्थानीय निर्वाचनमा विराटनगरका प्रमुख चुनिए। उनी बीपी कोइरालाका साहिँला भाइ तथा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाका बाबु हुन्।

पञ्चायत कालमा कोइराला परिवारबाट विराटनगरको प्रमुख कोही भएनन्। प्रजातन्त्रको पुनःस्थापनापछि २०४९ सालको निर्वाचनमा यस परिवारबाट अशोक कोइराला प्रमुख पदमा निर्वाचित भए। यस पटकको निर्वाचनमा नागेश उदाएका छन्। तीन जना कोइरालाका पूर्खा नै सिन्धुलीको दुम्जाबाट विराटनगर आएका हुन्।

पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदका प्रत्याशी भएका कोइरालाको जन्म २०३० जेठ ३१ मा भएको हो। उनी विद्यालय अध्ययन गर्दादेखि नै राजनीतिमा सक्रिय थिए। उनले युनिभर्सिटी अफ बाबियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गरेका छन्।

कोइराला नेपाल तरुण दलमार्फत् २०५४ सालदेखि औपचारिक रूपमा नेपाली काङ्ग्रेसको राजनीतिमा होमिए। २०५४ सालमा उनी नेपाल तरुण दल मोरङको कोषाध्यक्ष र २०५६ सालमा सभापति भए।

त्यस्तै २०६६ सालमा मोरङ काङ्ग्रेसको कोषाध्यक्ष र २०७२ मा सचिवमा निर्वाचित भए । उनी २०७८ सालमा जिल्ला उपसभापतिमा चुनिएका हुन्।

उपप्रमुख शिल्पा

उपप्रमुख पदकी शिल्पा निराला कार्कीले २५ हजार ६८० मत हासिल गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट जसपाका प्रत्याशी अमरेन्द्र यादवले १४ हजार २१९ मत ल्याएका छन्। उपप्रमुखमा तेस्रो हुने राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ६ हजार ४०१ मत प्राप्त गरिन्।

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आफ्ना छोरा अमरेन्द्रलाई उपमेयरको टिकट दिएपछि जसपाभित्रै विद्रोह भएको थियो। यही विद्रोहको फाइदा उठाउँदै बलियो आकांक्षीका रूपमा एमालेले शिल्पालाई अगि सार्‍यो। नभन्दै अमरेन्द्र उपविजेतामात्र हुन पुगे।

त्यसो त, शिल्पाको उम्मेदवारी पनि विवादमुक्त हुन सकेन। उनले कोशी अस्पताल विकास समितिबाट सरकारी सुविधा लिएको भन्दै सर्वोच्चमा उम्मेदवारी खारेजीको माग गर्दै रिट परेको थियो। सर्वोच्चले शिल्पाकै पक्षमा आदेश दियो।

शिल्पा मोरङमा राजनीति सँगसँगै सामाजिक अभियन्ता र उद्यममा पनि जोडिएको नाम हो। २०३५ मङ्सिर २४ मा सिरहाको लहानमा उनको जन्म निराला परिवारमा भएको हो। विद्यालय तहको अध्ययन लहानमै गरेकी उनले कोशी क्याम्पस विराटनगरबाट प्लस टु, महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र स्नातकोत्तर क्याम्पस विराटनगरबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेकी हुन्।

उनी घरेलु तथा साना उद्योग महासङ्घ, लायन्स क्लब, रोटरी क्लब लगायतका संस्थामा आबद्ध छिन्। त्यस्तै उनी योगमाया फाउन्डेसन र उद्योग सङ्गठन मोरङमा पनि जोडिएकी छन्।

विराटनगर महानगरमा १ लाख ३३ हजार १४२ मतदाता छन्। जसमा ८९ हजार ७८९ जनाले मतदान गरेका थिए।

उपप्रमुख र वडामा कमजोर
महानगरको प्रमुख पद हत्याउन सफल भए पनि नेपाली काङ्ग्रेस समर्थित गठबन्धनका जसपाका उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव निर्वाचित हुन सकेनन्। 

त्यस्तै महानगरका वडामा पनि नेपाली काङ्ग्रेस कमजोर सावित भएको छ । परिणामअनुसार महानगरका १९ वटा वडामध्ये सबैभन्दा बढी एमालेका भागमा ९ वटा परेको छ। एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ नम्बर वडामा वडाध्यक्ष पाएको छ। नेपाली काङ्ग्रेसबाट ६ वटा वडामा मात्र वडाध्यक्ष चुनिएका छन्। तिनमा वडा नम्बर ५, ६, ७, ९, १५ र १६ छन्।

महानगरको वडा नम्बर १२ र १७ मा जसपा, १३ मा राप्रपा र १८ मा स्वतन्त्रका वडाध्यक्षले जितेका छन्। 

महानगरमा जित हासिल गरेका नागेश कोइरालाई प्रश्न : अब विराटनगरलाई कस्तो बनाउनु हुन्छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell