PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

महानगरमा जित हासिल गरेका नागेश कोइरालाई प्रश्न : अब विराटनगरलाई कस्तो बनाउनु हुन्छ?



अनन्तराज न्यौपाने

 महानगरमा जित हासिल गरेका नागेश कोइरालाई प्रश्न : अब विराटनगरलाई कस्तो बनाउनु हुन्छ?
फोटो : नागेश कोइरालाको फेसबुकबाट

विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली काङ्ग्रेसका नागेश कोइराला निर्वाचित भएपछि उनीसित पहिलोपोस्टकर्मी अनन्तराज न्यौपानेले यसरी संक्षिप्त वार्ता गरेका छन्।

अब विराटनगरलाई कस्तो बनाउनु हुन्छ?

विराटनगरलाई समृद्ध, सुरक्षित, हरियो र आत्मनिर्भर महानगर बनाउने मेरो योजना छ। शुद्ध खानेपानीको आपूर्ति हाम्रो अर्को कार्यक्रम हुनेछ। महानगरमा भ्रष्टाचार शून्यता, पारदर्शिता र सुशासन हाम्रा मुख्य मुद्दा हुनेछन्। हाम्रा सबै निर्णय र निर्णय–प्रक्रिया पारदर्शी गरिनेछन्।

अहिले पनि कसैको सोर्स र भनसुन नभई त्यहाँ काम हुँदैन। म आफ्नो सचिवालयलाई ‘स्ट्रोङ’ बनाएर महानगरवासीको काम गराउनेछु।

तर महानगरको कार्यपालिका र परिषदमा तपाईंको पार्टी नेपाली काङ्ग्रेसको बहुमत पुग्ने देखिएन । कसरी आफ्ना योजना पूरा गर्नुहुन्छ?

स्थानीय तह राजनीतिक नभई विकासको निकाय हो। त्यसैले यहाँ सबैका स्वार्थ साझा हुन्छन्। विराटनगरको चुनावमा नेपाली काङ्ग्रेस र अन्य दलका घोषणापत्रका कार्यक्रम पनि धेरै मिल्छन्। त्यसैले यहाँ दलीय राजनीतिक स्वार्थ होइन महानगरको विकासको उद्देश्य भएकाले सबैसित हाम्रो लय मिल्छ भन्ने कुरामा म विश्वस्त छु।

पहिलो काम के बाट सुरु गर्नुहुन्छ?

म पहिलो काम करको दायरा बढाउने र दर घटाउने निर्णयबाट सुरु गर्छु। विराटनगरमा बाउबाजेले किनेका घडेरीमा उनैले बनाइदिएका ठूला घरमा बस्ने बेरोजगारको सङ्ख्या धेरै छ। ठूला घरमा बसे भन्दैमा ती बेरोजगारले चर्को कर तिर्नुपरिरहेको छ। म यसमा आमूल सुधार गर्छु।

महत्त्वाकांक्षी कार्यक्रम चाहिँ के हो?

मेरा दुई वटा महत्त्वाकांक्षी योजना छन्। पहिलो विराटनगर महानगरपालिकाको आफ्नै मेट्रो अस्पताल बनाउने। र, दोस्रो बर्खामा हुने डुबानबाट महानगरलाई मुक्त पार्ने। दोस्रो काम महानगरको आफ्नै साधनस्रोतबाट सम्भव छैन। यसका लागि केन्द्र र प्रदेश सरकार अनि दातृ निकायको सहयोग लिने प्रयास गरिनेछ।

भर्खरै मेयरबाट अवकाश ग्रहण गरेका भीम पराजुलीको समूहले राम्रो काम गर्न सकेन भन्ने आरोप छ नि?

यसलाई विभिन्न कोणबाट हेर्नुपर्छ। २०५४ सालपछि २०७४ मा एकै चोटि २१ वर्षपछि स्थानीय तहको निर्वाचन भयो। सबैजसो पदाधिकारी पहिलो पटक महानगरमा चुनिनुभयो। यसो हुँदा आफ्नो काम, कर्तव्य, अधिकार अनि नियम–कानुन बुझ्न समय लाग्यो। उहाँहरू चुनिनेबित्तिकै साउनमा ठूलो बाढीको सामना गर्नुपर्‍यो। यसबाहेक ३ वर्षको समय त कोभिडले नै खाइदियो।

फोहर व्यवस्थापन कसरी गर्नुहुन्छ?

डम्पिङ साइट खोजेर फोहर फ्याल्नुमात्र फोहरको व्यवस्थापन होइन। हामी फोहरको ‘रिसाइकल’ गरेर त्यसबाट आम्दानी गर्ने कार्यक्रम ल्याउनेछौँ।

पाँच वर्षपछिको विराटनगर कस्तो हुन्छ त?

तपाईं आफू घरबाट बाहिर निस्कँदा कस्तो विराटनगर होस् भन्ने सोच्नुहुन्छ, त्यस्तै हुन्छ।

यो पनि पढ्नुस :

कोइराला परिवारबाट विराटनगरका तेस्रो मेयर भए नागेश, उपप्रमुखमा शिल्पा निर्वाचित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell