PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ललितपुर महानगरमा चिरिबाबुको दोस्रो इनिङ निश्चित, मनोनयनलगत्तै हरिकृष्णलाई देखाउँदै जे भनेका थिए, भयो त्यही



नेत्र तामाङ

ललितपुर महानगरमा चिरिबाबुको दोस्रो इनिङ निश्चित, मनोनयनलगत्तै हरिकृष्णलाई देखाउँदै जे भनेका थिए, भयो त्यही

काठमाडौं : मत गणना नसकिँदै ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोस्रो कार्यकालका लागि जित निकालेका छन्। सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका उनले नेकपा एमालेका परिचित प्रतिद्वन्द्वी हरिकृष्ण ब्यञ्जनकारलाई पराजित गर्दै दोस्रो कार्यकाल सुरक्षित गरेका हुन्। मत गणना पूरा भएपछि मात्र उनको जितले ‍औपचारिकता पाउनेछ।

८५ हजार ८६१ मत खसेकोमा अब करिब ५ हजार मतमात्र गन्न बाँकी छ। अहिलेसम्म चिरिबाबुले ३९ हजार १३१ मत पाइसकेका छन् भने एमालेका हरिकृष्णले २२ हजार ६२० मत पाएका छन्। पूर्ण मतगणना अघि नै चिरिबाबुको मतान्तरण १६ हजार ५११ रहेको छ। अब उनको जितको औपचारिक घोषणामात्र बाँकी छ।

२०७४ मा कांग्रेस एक्लै उत्रिँदा पनि हरिकृष्ण जित्न नसकेकाले हुनसक्छ : गठबन्धनबाट साझा उम्मेदवार बनेका चिरिबाबु यसपटक आफू जित्नेमा ढुक्क देखिन्थे। वैशाख १२ गते मनोनयनपछि चिरिबाबुले १५ हजार बढी मत ल्याएर जित्ने दाबी गरेका थिए।

चिरिबाबुले मनोनयन पछि भनेका थिए, ‘यहाँहरुलाई वैशाख ३० गते जितेर देखाउँछु। १५ हजार बढी मतले जित्छु।’ यता प्रतिस्पर्धी हरिकृष्णले आफू ५ हजार मतान्तरले जित्ने दाबी गर्दा चिरिबाबुले दाबी गरेका थिए, 'उहाँ चाहिँ मसँग जित्नुहुन्न।'

मत परिणामले त्यही देखाएको छ जे त्यतिबेला चिरिबाबुले भनेका थिए।

चिरिबाबुले सबै काम एकै कार्यकालमा गर्न नसकिने भन्दै दोहोरिएर उम्मेदवारी दिएको बताएका थिए।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका चिरिबाबुले २४ हजार ६ सय ४२ मत ल्याइ महानगर प्रमुखमा विजयी भएका थिए। ब्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए। त्यस्तै, माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत प्राप्त गरेका थिए।

चिरिबाबुसँग ब्यञ्जनकार मात्र ३ सय २६ मतले पराजित भएका थिए। चुनावी परिणामसँग असन्तुष्ट भएका ब्यञ्जनकार अदालतसम्म पुगेका थिए।

चिरिबाबुको कार्यकालमा सुरु भएको साइकल लेनको नाममा सडक पोत्ने काममात्र भएको हरिकृष्णको आरोप थियो।

जवाफमा यस्तै आरोप लगाउनु विपक्षीको धर्म भएको चिरिबाबुको भनाई थियो।

‘हैन साइकल लेन सडकमा बनाइन्छ त,' त्यतिबेला उनले भनेका थिए, 'विपक्षीले नानाथरी भन्छन्।'

जित्ने आधार प्रस्तुत गर्दै गर्दा उनले पहिलोपोस्टसँग भनेका थिए, 'म धेरै मतान्तरले जित्छु। जसको आधार - मैले पाँच वर्ष राम्रो काम गरेँ। नगरबासीको मन जितेँ। मलाई सबैतिर क्लियर इमेज भएको मेयर भन्छन्। अर्को कुरा हिजो मर्ज हुन आएका थप वडामा म परिचित थिइनँ। अहिले चिनिएको छु। यो भनेको भोट बढ्ने नै हो।'

समाजवादीदेखि माओवादीको भोटले आफू जित्ने उनको अर्को दावा थियो। 'गठबन्धन पनि हो अर्को कारण। पहिले 'सोल्ली एन्ड होल्ली' पाएको हुँ। यसपटक समाजवादीले पनि भोट दिन्छन्। माओवादीले पनि भोट दिन्छन्। मलाई भोट नदिने भनेको नेकपा एमालेले मात्र हो। यसकारण एमालेको उम्मेदवारलाई धेरै मतान्तरले हराउँछु। धेरै मार्जिनले हराउँछु,' उनले भनेका थिए।

ललितपुरलाई स्मार्ट बनाउँदै लगेको श्रेय उनै मेयरलाई जान्छ। यद्यपि, चक्रपथ बाहिर सुधार गर्नुपर्ने धेरै विषय छन्।

'चक्रपथबाहिर त्यति विकास भइसकेको छैन। काम गर्न थुप्रै व्यवस्थापन गर्न बाँकी छन्। खोकना, बुङ्मती, हरिसिद्धि, धापाखेलजस्ता पछि थपिएका वडाहरुमा चै थुप्रै काम बाँकी छ,' चिरिबाबु आफैले भनेका छन्। यस्ता बाँकी काम गर्नका लागि आफू पुन दोहोरिनु परेको उनले आफ्नो चुनावी सम्बोधनमा पटकपटक भन्दै आएका थिए। दोस्रो कार्यकालमा अपुरा काम पुरा गर्नु चिरिबाबुको दायित्व नै छ यसका अलवा सांस्कृतिक शहरलाई पुनर्जीवन दिनु पनि उनको मुख्य जिम्मेवारी रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell