PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

जोनी डेपको मानहानी मुद्दाको फैसलाविरुद्ध पुनरावेदनमा जाने हर्डको तयारी



पहिलोपोस्ट

जोनी डेपको मानहानी मुद्दाको फैसलाविरुद्ध पुनरावेदनमा जाने हर्डको तयारी
Photo: Reuters

अभिनेत्री एम्बर हर्ड पूर्व पति जोनी डेपको मानहानि मुद्दाको फैसलाविरुद्ध पुनरावेदनमा जाने भएकी छिन्। फैसला आफ्नो पक्षमा नआएपछि हर्डले पुनरावेदनमा जाने तयारी गरेको द गार्डियनले उल्लेख गरेको छ।

भर्जिनिया अदालतका जूरीले डेपको मानहानि भएको दावीको पक्षमा तीन काउन्टमा फैसला गर्दै ‘पाइरेट्स अफ द क्यारेबियन’ अभिनेतालाई क्षतिपूर्ति दिन आदेश दिएको थियो। ‘एक्वाम्यान’की अभिनेत्री समेत रहेकी हर्डले सो फैसलाको पुनरावेदन गर्ने तयारी गरेको उनकी प्रवक्ता अलाफेयर हललाई उदृत गर्दै न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

हर्डले उनको काउन्टरसुटको एक काउन्टमा जितेकी छिन्, जसमा उनले डेपका प्रेस एजेन्टद्वारा आफू बदनाम भएको भन्दै क्षतिपूर्ति माग गरेकी थिइन्। हर्डले ‘मिटू’ आन्दोलनको फाइदा उठाउँदै डेपविरुद्ध आरोप लगाएको र ‘दुर्व्यवहारको हल्ला’ फैलाएको भन्दै डेपका प्रेस एजेन्टले आरोप लगाएका थिए। सो काउन्टमा हर्डलाई क्षतिपूर्ति दिने फैसला गरिएको छ।

पढ्नुस : जोनी डेपको 'कानुनी जित' कि एम्बर हर्डले भनेझै 'सेटब्याक'? मानहानि मुद्दाको फैसलाले ल्याएको त‌रंग

डेपका वकिलहरुले उनले हर्डलाई कहिल्यै आक्रमण नगरेको भनेर जूरीलाई विश्वास दिलाउन सफल भएका छन् भने हर्डको आर्टिकलले डेपलाई बदनाम गरेको र हर्डले ‘दुर्भावका साथ’ वा गलत भनेर जान्दा जान्दै पनि त्यसो गरेको भनेर स्थापित पनि गरिदिएका छन्।

पुनरावेदनबारे कुनै पनि कुरा समावेश नगरिएको उक्त विज्ञप्तिमा हर्डले फैसलाप्रति दुःख व्यक्त गरेकी छिन्।

उनले भनिन्, ‘आज मैले महसुस गरिरहेको निराशा शब्दमा बयान गर्न सकिँदैन। मेरो भूतपूर्व पतिको असमान शक्ति र प्रभावको सामना गर्न प्रमाणहरुको पहाड अझै पनि पर्याप्त भएन। यो फैसलाले अन्य महिलाहरूको लागि के अर्थ राख्छ भनेर सम्झँदा म अझ निराश छु। यो एक सेटब्याक हो। यसले बोल्ने र प्रतिवाद गर्ने महिलालाई सार्वजनिक रूपमा अपमानित गर्ने त्यो समयमा फर्काइदिएको छ। यसले महिलामाथि हुने हिंसालाई गम्भीरताका साथ लिनुपर्छ भन्ने धारणालाई पछाडि धकेलिदिएको छ।’

बुधवार जूरीको सर्वसम्मत निर्णयले भर्जिनियाको अदालतमा सात हप्ता लामो सुनुवाइलाई टुंग्याएको छ। सो सुनुवाइमा दर्जनौँ साक्षीहरू र विज्ञहरूले डेप वा हर्डले उनीहरूको १५ महिना लामो वैवाहिक सम्बन्धको क्रममा एक अर्कालाई दुर्व्यवहार गरेको हो या होइन भन्ने सन्दर्भमा बयान दिएका थिए।

एक हाई-प्रोफाइल अमेरिकी वकिल लिसा ब्लूमले हर्ड-डेप मुद्दाको पुनरावेदनमा निर्णय हुन सक्ने बताएकी छिन्। बीबीसी टूसँग ब्लूमले भनेकी छिन्, ‘यो नै अन्त्य होइन किनभने धेरै मानहानिका मुद्दाहरू वास्तवमा पुनरावेदनमा निर्णय गरिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell