PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रचण्ड-नेपाललाई गठबन्धनबाट फुटाउन र ओलीसँग जुटाउन यी ४ 'फ्याक्टर'ले गर्ला काम?



प्रकाश भण्डारी

प्रचण्ड-नेपाललाई गठबन्धनबाट फुटाउन र ओलीसँग जुटाउन यी ४ 'फ्याक्टर'ले गर्ला काम?

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई 'ठेगान लगाउने' चेतावनी दिएको भोलिपल्ट बिहीबार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम एकता सम्भव नभएको टिप्पणी गरे। सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा नेपालले एमालेसँग सहकार्यको सम्भावना नभएको बताएका हुन्।

'अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रम फैलाइरहेका छन्', उनले भने, 'हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ।'

बुधबार प्रचण्डले कांग्रेसले अहङ्कार देखाएको भन्दै एमालेलाई चुनावमा पराजित गरेजस्तै गरि ठेगान लगाउने भन्दै वाम एकताको संकेत गरेका थिए। तर नेपालले भने प्रचण्डको चेतावनी खण्डन हुनेगरि अभिव्यक्ति दिएका हुन्। चुनावी परिणामबारे समीक्षा गरिरहेको सत्ता गठबन्धनभित्र एकीकृत समाजवादी असन्तुष्ट छ भने माओवादी केन्द्र पनि कांग्रेसलाई आफूलाई नसघाएकोमा आक्रोसित छ।

कांग्रेससँगको असन्तुष्टिले प्रचण्ड-नेपाललाई एमालेको कित्तामा उभिन तयार बनाउछ कि बनाउँदैन ? यसबारेमा केही 'फ्याक्टर'हरुले काम गर्ने देखिन्छ।

फ्याक्टर १ : आत्मालोचना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) हुँदै प्रचण्ड-नेपालको सम्बन्ध चिसियो। प्रकारान्त उनीहरुको सम्बन्ध पार्टी विभाजनपछि पनि सुमधुर हुन सकेन। व्यक्तिगत तहसम्मकै 'इगो' बढेपछि एक अर्काविरुद्ध कडा टिप्पणीमा उत्रिए ओली र प्रचण्ड-नेपाल। दुई पटकको प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै ओलीविरुद्धको मोर्चाबन्दीमा लागेपछि ओलीले पनि प्रचण्ड-नेपालसँगको सम्बन्ध सुधार गर्ने प्रयास गरेनन्। मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभाबाट पास गर्नुअघि प्रचण्डले सहकार्यका लागि गरेको प्रयासमा पनि ओली सकारात्मक देखिएनन्। 

सार्वजनिक मञ्चहरुमा प्रचण्डले ओली आत्मालोचनाका लागि तयार नभएको बरु दम्भ देखाएको भन्दै आक्रोसित हुने गरेका छन्। ओली स्थानीय तहको नतिजापछि आत्मालोचनका लागि तयार भएमा भने एकता हुनसक्ने माओवादीकै अर्कोथरि नेताको भनाई छ। ‘आत्मालोचना’को विषयलाई एकीकृत समाजवादीले पनि वाम एकताको शर्तका रुपमा अघि सारिरहेको छ।

एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले आत्मालोचनाका लागि ओली तयार भए मात्रै वाम गठबन्धन बन्न सक्ने बताए। भने, 'ओलीले विगतमा गरेका गल्तीहरुलाई आत्मालोचना गर्नुभयो भने मात्रै गठबन्धन या वाम एकता हुन सक्छ। तर, उहाँले आफ्नो अभिष्ट पूरा गर्नका लागि प्रधानमन्त्रीको प्रस्ताव गर्दैमा एकता हुँदैन।'

फ्याक्टर २ : एमालेको कमजोर नतिजा

एमालेले २०७४ सालको स्थानीय तह निर्वाचनमा हासिल गरेको नतिजा यसपटक कायम गर्न नसकेपछि कमजोर बनेको छ। जसलाई एमालेका नेताहरुले औपचारिक रुपमा स्वीकार नगरे पनि अनौपचारिक कुराकानीमा भने एमाले कमजोर बन्दै गएको बताउने गरेका छन्। जसकारण पनि अहिले वाम गठबन्धनको चर्चा भएको नेताहरुको बुझाइ छ। 

एमाले कमजोर बनेपछि भने फेरि वाम एकताको चर्चाले एमाले र माओवादी तथा एकीकृत समाजवादीभित्र भने तरंग पैदा भएको छ। जबकी सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति हुने बेलामा पनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डसँग सशंकित भएपछि अन्तिम बुँदामा गठबन्धन बाहिर चुनावी तालमेल गर्न नपाइने उल्लेख थियो। 

तर, पछिल्ला दिनहरुमा भने गठबन्धनभित्र असन्तुष्टि बढ्न थालेपछि ओली पनि प्रचण्ड-नेपालप्रति नरम हुन थालेको बताइन्छ। यद्यपि, वाम गठबन्धनको विषयले छलफलका लागि औपचारिकता पाइनसकेको प्रचण्ड निकट एक नेताले बताए।

भने,'अहिले नै हाम्रो पार्टीमा एकताको विषयले औपचारिकता पाइसकेको छैन। चुनावी समीक्षाका बारेमा औपचारिक रुपमा छलफल भएपछि यसबारेमा पनि पक्कै केही छलफल बहस त हुन्छ नै।'

तर,माओवादी केन्द्रकै नेता हरिबोल गजुरेल भने अब आउने चुनावमा पनि अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताउँछन्। त्यसका लागि ओलीको आडम्बरले भूमिका खेलेको उनको मत छ। 'गठबन्धन नहुने भन्ने कुरै हुँदैन। गठबन्धन अबका चुनावमा पनि हुन्छ। ओलीजीको दम्भ रहेसम्म रहन्छ,'उनले भने। 

फ्याक्टर ३ : प्रधानमन्त्री कार्ड

अहिलेको सत्ता गठबन्धनलाई फुटाउनका ओलीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव अघि प्रधानमन्त्रीका लागि प्रचण्ड र नेपाललाई नै अघि सार्न सक्ने आंकलन गर्न थालिएको छ। जसबारे प्रचण्ड-नेपालले नै मुख खोल्न थालेका छन्।

सुर्खेतमा आयोजित कार्यक्रममा नेपालले प्रचण्ड र आफूलाई प्रधानमन्त्रीका लागि 'अफर' आएको तर आफू त्यसमा नभुल्ने बताएका थिए। एकीकृत समाजवादीका सचिव श्रेष्ठ अहिलेको स्थानीय तहको नतिजापछि पनि नेपाललगायतका नेताहरु एमालेसँग सहकार्यका लागि तयार नभएको बताउँछन्। 

'प्रधानमन्त्रीको कार्ड फालेर आफ्नो उद्देश्य पूरा गर्न सकिन्छ कि भन्ने सोच होला त्यो हुन सक्दैन,'श्रेष्ठले भने।

एमाले नेताहरुले भने ओलीले प्रचण्ड-नेपाललाई प्रधानमन्त्रीका लागि 'अफर' नगरेको दाबी गरेका छन्। उपाध्यक्ष सुवास नेम्वाङले ओलीले प्रचण्ड-नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताए। ‘हामी बजेटमा लागिरहेका छौँ। राजनीतिमा यस्ता खालका चर्चाहरु भइरहन्छन्। तर, होइन,’नेम्वाङको भनाई छ।

फ्याक्टर ४ : कांग्रेससँगको असन्तुष्टि

नेपाली कांग्रेससँग माओवादी र एकीकृत समाजवादीका नेताहरुको असन्तुष्टिलाई आधार बनाएर केही नेताहरुले वाम गठबन्धनका लागि आधार तयार हुनसक्ने बताउँदै आएका छन्। तर त्यो असन्तुष्टि सत्ता गठबन्धन विभाजनका लागि पर्याप्त नहुने माओवादी-समाजवादीका नेताहरुको मत छ। 

नेपाली कांग्रेसका नेताहरुले चुनावअघि गठबन्धनका विरुद्धमा दिएको अभिव्यक्तिको कारण प्रचण्ड-नेपाल आक्रोसित हुने गरेका थिए। तर,गठबन्धन प्रति देउवाको लगावका कारण नै स्थानीय तहमा पनि तालमेलको वातावरण बनेको थियो। कांग्रेसकै पनि अधिकांश नेताहरु स्थानीय तहको निर्वाचनका बेलामा र फेरि आउने चुनावमा पनि एक्ला एक्लै चुनावमा होमिनुपर्ने अडानमा थिए।

अर्कोतिर प्रमुख प्रतिपक्ष दल एमालेको रणनीति थियो - सत्ता गठबन्धनमा विभाजन र एक्ला एक्लै प्रतिस्पर्धा।

एमालेले अबका चुनवामा पनि कम्तिमा अहिलेको गठबन्धनलाई विभाजनका लागि सबै अस्त्रहरुको प्रयोग गर्नसक्ने बताइन्छ। जसमध्ये कांग्रेससँग माओवादी र एकीकृत समाजवादीको असन्तुष्टि बढ्दै गएमा एमालेका लागि झनै आधार तयार हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell