PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

कांग्रेसमा वंशवादको घोचपेच : सिर्जनाको प्रश्नपछि पौडेलले सार्वजनिक गरे गोरखा जेलको फोटो



पहिलोपोस्ट

कांग्रेसमा वंशवादको घोचपेच : सिर्जनाको प्रश्नपछि पौडेलले सार्वजनिक गरे गोरखा जेलको फोटो

काठमाडौं : नेपाली कांग्रेसमा यतिबेला वंशवादको विवाद चर्किएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगरमा कांग्रेसले मेयर पद गुमाउनुको मुख्य कारण नै वंशवाद भनिदिएपछि यो विवाद चर्किएको हो।

शनिवार नेपाल न्युज एजेन्सीसँग कुराकानीका क्रममा पौडेलले काठमाडौंमा मेयरको उम्मेदवारी नै गलत भएको दाबी गरेका थिए।

'मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन्। पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन्। भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरु थिए,' पौडेलले भनेका थिए, 'उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो।  जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा। मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन। म निर्णायक ठाउँमा होइन। पार्टी सभापति नै निर्णायक हुन्छ। उहाँले इसारा गरेपछि मुख्यसचिवले टिकट पठाइसक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु। त्यस्तो अतितमा पनि भएको छ। त्यसको परिणाम गत चुनावमा पनि भोगेकै हो।'

कांग्रेसबाट सिर्जना सिंह काठमाडौं महानगरको मेयरको चुनावी मैदानमा उत्रिएकी थिइन्। उनी स्वतन्त्र उम्मेदवार वालेन्द्र साहसँग भारी मतले पराजित भइन्।

हारको चोटमा रहेकी सिर्जनाले आइतवार पौडेलको अभिव्यक्तिको खण्डन गरिन्। सिंहले नेता पौडेललाई आफ्नो राजनीतिक पृष्ठभूमि बिर्सेको हो भनी प्रश्नसमेत गरिन् ट्वीटरबाट।

पौडैललाई ट्वीटमा जवाफ दिँदै सिंहले भनेकी छिन्, 'मेरो राजनीतिक यात्रा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नुभएको थाहा पाउनु भएको (हामी छिमेकी जिल्लाबासी पनि)। मेरो बिहेअघि तपाईं गोरखामा जेल पर्नु हुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनुभएको हो दाई? यो कुरा तपाईंको मुखबाट आउँदा, भन्दा अली सुहाएन की दाई।'

आफ्नो राजनीतिक पृष्ठभूमिबारे जानकार पौडेलले गरेको टिप्पणी सुहाउँदो नभएको पनि उनको भनाई छ।

यता वरिष्ठ नेता पौडेलले भने सोमवार बिहानै गोखरा कारागारको फोटो सार्वजनिक गरेका छन्। फेसबुकमा पौडेलले 'विस २०४२ गोरखा कारागारमा तनहुँ / गोरखाका नेता साथीहरु' क्याप्सन राख्दै एउटा फोटो सार्वजनिक गरेका छन्। उक्त फोटोमा गोवर्द्धन शर्मा पोखरेल, किरणबाबु श्रेष्ठ, गोविन्दराज जोशी, पदमबहादुर गुरुङ, बैकुण्ठ न्यौपाने, रामचन्द्र पोखरेल रहेका छन्। पौडेलले उक्त फोटो सेयर गरे पनि सिर्जनाको बारेमा भने केही लेखेका छैनन्। सामाजिक सञ्जालमा यतिबेला पौडेलमाथि पनि वंशवाद लादेको आरोप पोखिन थालेको छ। पौडेलले आफ्नो परिवार र निकट व्यक्तिलाई विभिन्न सरकारी निकायमा नियुक्ति दिएको उल्लेख गर्दै परिवारतन्त्रमा पौडेलको ठुलो भूमिका रहेको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell