PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फेवा किनारमा रेष्टुरेन्टका कुर्सी टेबल : पर्यटकलाई सुविधा कि कानुन उल्लंघन ?



रिना थापा

फेवा किनारमा रेष्टुरेन्टका कुर्सी टेबल : पर्यटकलाई सुविधा कि कानुन उल्लंघन ?

पोखरा : पैदलयात्री र पर्यटक टहलिने स्थानमा रेस्टुरेन्टका कुर्सी टेबल छन्। फेवातालको छेउमा राखिएको मिनी रेष्टुरेन्टको कारण घुम्न आउने पर्यटकले सास्ती व्यहोर्नु परिरहेको छ। तर, महानगर भने यस विषयमा अझै पनि मौन छ।

महानगरले ताल छेउ राखिएका कुर्सी टेबल हटाउन प्रयत्नसम्म गरेको छैन। महानगरले ‘एक्सन’ नलिँदा सुरुमा एक/दुई रेस्टुरेन्टले मात्र राखेको कुर्सी टेबल बढेर अहिले तालछेउको स्थल अतिक्रमण भइरहेको छ।

गत मंसिरको अन्तिम सातादेखि नै ताल छेउमा रहेको ब्याम्बो बार, क्याफे लेकआर्डले मिनी रेस्टुरेन्ट राखेको थियो। त्यसरी मिनि रेस्टुरेन्ट राखेपछि नागरिक समाज र अन्य केहीले महानगरलाई जानकारी गराएका थिए।

महानगरले त्यससमय रेस्टुरेन्ट हटाउनुको सट्टा चटपट व्यवसायीलाई लेखेटेर फर्किए। त्यसपछि महानगर मौन छ। अनुगमनको जिम्मा रहेको महानगर कहिलेकाहीँ फुटपाथ व्यवसायलाई तर्साएर फर्किन्छ।

पढ्नुस : पर्यटक टहलिने फेवा किनारमा मिनी रेष्टुरेन्ट, महानगर चटपट व्यवसायी धपाउनै व्यस्त

रेस्टुरेन्ट राखेको ठाँउमा महानगरको नजरनै पुगेको छैन। जसकारण अहिले स्मल कटेज, ओल्ड ग्राभिटी, स्मोकी स्टेसन, फुल पावर रेस्टुरेन्टले पनि कुर्सी राखेर व्यवसाय गरिरहेका छन्। पर्यटक बस्ने स्थान रेस्टुरेन्टको चेपुवामा रहँदा पनि महानगर चुपचाप छ।

त्यससमय यस विषयमा उपप्रमुख मञ्जुदेवी गुरुङले अनुगमनमा गएर तत्काल त्यसरी राखिएका कुर्सी हटाइने प्रतिक्रिया दिएकी दिइन्। अहिले पोखरा महानगरको उपप्रमुखको पदमा उनै गुरुङ दोहोरिएकी छिन्। आफूले बोलेका कुरालाई कार्यान्वयन गर्न भने मञ्जुले अझै सकेकी छैनन्। यसबारे उनको चासो र चिन्ता नै देखिदैन।

पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले पनि कानुनविपरित राखिएका कुर्सी टेबल तत्काल हटाइने प्रतिक्रिया दिएका थिए। महिना दिन बितेर ताल छेउको स्थान थप अतिक्रमणमा पर्दासम्म महानगरले केही गर्न सकिरहेको छैन। यद्यपि, शर्मा महानगरको बचाउ गर्छन्।

‘अनुगमन महानगरको नियमित कामभित्र पर्छ। हामीले थाहा पाएसम्म हामीले सक्रियताका साथ नगर प्रहरी, वडा प्रहरी, टोल विकासलाई जानकारी दिएर लागेका छौँ, परिचालन गरेका छौँ,’ शर्माले भने, ‘त्यसरी अस्थाई रुपमा कुर्सी टेबल राख्न पाइदैन, कानुनले बन्देज गरेको छ। यो कुरालाई हामीले आजैबाट नियन्त्रणमा लिने गर्छौँ।’

यतिबेला लेकसाइड क्षेत्र आन्तरिक तथा बाहिरी पर्यटकले भरिभराउ छ। लेकसाइडमा पर्यटकको चहलपहल बढिरहेको छ। पर्यटकलाई सहज बनाउने गरी कुर्सी टेबल राखेको प्रतिक्रिया ताल छेउका रेस्टुरेन्ट व्यवसायले दिएको शर्मा बताउँछन्।

‘पर्यटकलाई सजिलोको लागि गरेको त भन्नुहुन्छ तर कानुनभन्दा बाहिर जान मिल्दैन। कारबाही अघि बढाउँछौँ,’ उनले भने।

तालछेउमा हुने जग्गा अतिक्रमणदेखि मिनी रेस्टुरेन्टका विषयमा महानगर कारबाही अघि बढाउने भनेर प्रतिक्रिया दिइरहन्छ। तर, महानगरलाई व्यवसायले टेर्दैनन्। चौतर्फी विरोध र आलोचना भएपछि महानगर व्यवसायलाई झस्काए जस्तो गर्छ, चुपचाप फर्किने गरेको स्थानीय बताउँछन्। व्यवसायीले व्यवसाय गरिरहन्छ महानगर काम देखाए जस्तो गर्न फुटपाथ व्यवसायीलाई लखेट्ने गरेको छ।

रेस्टुरेन्टले महानगरलाई नटेरी त्यसरी व्यवसाय गरिरहँदा महानगर भने प्रहरी परिचालन नभएको मौका छोपेर राखेको भन्दै बचाउमा उत्रिएको छ।

‘महानगरपालिकाको कमीकमजोरी भन्दापनि काम गर्ने सवालमा कहिले बिदाको समयमा बिहान बेलुका हाम्रा प्रहरीहरु परिचालन गर्न नसकेको अवस्थामा त्यो मौका छोपेर राखेको हुन्छ। यसलाई सुर्धानको लागि हामी अनुरोध गर्छौँ,’ शर्माले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell