PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सहमतिबारे बञ्चरेडाँडाबासी अझै असन्तुष्ट, श्रीराम ढुंगानालाई प्रश्न : अब त अवरोध हुँदैन नि?



नेत्र तामाङ

सहमतिबारे बञ्चरेडाँडाबासी अझै असन्तुष्ट, श्रीराम ढुंगानालाई प्रश्न : अब त अवरोध हुँदैन नि?

काठमाडौं : काठमाडौं महानगर पालिकाले फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाका स्थानीयसँग १८ बुँदे सहमति गरेको छ। शुक्रवारबाट फोहोर व्यवस्थापन अवरोध नहुने गरी भएको सम्झौतामा बञ्चरेडाँडाबासी भने अझै असन्तुष्ट छन्।

काठमाडौंको फोहोर रातिमात्रै ढुवानी, लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र : यस्ता छन् सहमतिका बुँदाहरु

स्थानीयलाई जानकारी नै नदिई राति सहमति गरेको संघर्षको अगुवाई गरिरहेका श्रीराम ढुंगानाले आरोप लगाए।

'हामीलाई जानकारी दिइएको छैन। अस्ति छुटेकोलाई सहमति गराएको देखियो,' ढुंगानाले भने।

जेठ २३ गतेको सहमतिलाई नै कायम राखेको र सहमतिको नाममा नाटकमात्र भएको देखिएको आरोपसमेत उनले बताए। जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए।

बिहिवार राति भने प्रभावित क्षेत्रका तर्फबाट ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन्।

यस्तो सहमति विगत १८ वर्षदेखि हुँदै आएको ढुंगानाले बताए। संघर्ष समितिका संयोजकसमेत रहेका उनले अब यो सहमति हुने हो कि हैन आफूहरु प्रतीक्षामा रहने बताए। '१८ वर्षसम्म यस्तै भएको हो। सहमति, सहमति, सहमति सम्झौता र निर्णय,' उनले भने, 'आउँदो दिनमा त्यस्तै हुने हो कि। अब आजको चाहि शीघ्र कार्यन्वन हुँदै जाने हो कि प्रतीक्षा गरौं।'

त्यसो भए अब अवरोध हुँदैन नि?

जवाफमा ढुंगानाले भने, 'जनप्रतिनिधिहरुले नै अस्ति अवरोध गर्नुभएको। उहाँहरुलाई हामीले साथ दिइराख्य। उहाँहरुले आएर सहमति गरेपछि त। उहाँहरु नगएपछि हामीले रोक्ने त कुरै भएन।'

जनप्रतिनिधिले नै आफूहरुलाई अन्याय भयो भन्दै संघर्षमा उत्रन भनेको उनको भनाई थियो। 'हामीलाई अन्याय पर्‍यो। हामीलाई सहभागी गराइएन तपाईहरुले साथ दिनुपर्छ भनेर भन्नुभयो। त्यसो भनेपछि हामी उत्रियौ,' ढुंगानाले भने, 'उहाँहरुलाई राति बोलाएर सरकारले ल आपत पर्‍यो सहमति गर्नुपर्ने जानुपर्‍यो भनेर उहाँहरुलाई राजी गराउनुभयो भने कार्यन्वयनको प्रतिक्षाबाहेक के गर्नु छ र।'

गत बुधवारबाट महानगरले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको प्रयास गरे पनि स्थानीय आन्दोलनमा उत्रिएपछि अवरोध भएको थियो। पहिलो दिन प्रहरीले बल प्रयोग गरेर फोहोर व्यवस्थापन गरे पनि दोस्रो दिन फोहोर बोकेको ट्रक फर्किएको थियो। जनप्रतिनिधिले सहमति गरेसँगै अहिलेको आन्दोलनको अध्याय सकिएको उनले बताए।

'राष्ट्रिय मुद्दा उठाएर एउटा निकास लिइदिम भनेर हामीले चाहेको हो। तर कसरी भित्रबाट खेल्ने रहेछ यो तपाईहरुले थाह पाउनुपर्‍यो,' उनले भने, 'हामी निरपराध छौ। जनप्रतिनिधिहरुलाई राज्यको पोलिसी चित्त बुझ्यो भने हामी केही समय प्रतीक्षा नै गर्छौं। केही छैन। जनप्रतिनिधिले हामीले सहमति गर्‍यो भने भनेपछि यसको अध्याय सकियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell