PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

'पिताजी' कृष्णप्रसाद, जसले विराटनगरलाई सदरमुकाम बनाए...



अनन्तराज न्यौपाने

'पिताजी' कृष्णप्रसाद, जसले विराटनगरलाई सदरमुकाम बनाए...

विराटनगर : विराटनगरको वरगाछी चौकमा 'पिताजी' कृष्णप्रसाद कोइरालाको सालिक अनावरण गरिएको छ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शनिवार कोइरालाको अर्धकदको सालिक अनावरण गरेका हुन् ।

विराटनगर महानगरपालिका र वरगाछीको गुराँस पुस्तकालयको संयुक्त आयोजनामा सालिकको निर्माण गरिएको हो । पुस्तकालयका पूर्व अध्यक्ष दीपक चापागाईंका अनुसार हाल काठमाडौं बस्ने मोरङकै कलाकार धनयात्राले सालिकको निर्माण गरेका हुन् । ८ लाख रुपैयाँको लागतमा शालिक निर्माण भएको हो। सालिक अनावरण कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला र विराटनगर महानगरका प्रमुख नागेश कोइराला पनि सहभागी थिए।

को हुन् 'पिताजी' कृष्णप्रसाद ?
पिताजी कृष्णप्रसाद नेपालका तीन दाजुभाइ प्रधानमन्त्री मातृका, बीपी र गिरिजाप्रसाद कोइरालाका पिता हुन् । वरिष्ठ कम्युनिस्ट नेता कमल कोइराला तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू डा. शशाङ्क, शेखर र सुजाताका हजुरबुबा हुन् उनी।

भारत र नेपालको लोकतान्त्रिक सङ्घर्षको इतिहासमा कृष्णप्रसादको आफ्नै महत्त्वपूर्ण योगदान र नाम छ। उनी चन्द्र शमशेर प्रधानमन्त्री भएका बेला पूर्वी नेपाल क्षेत्रको भन्सारका ठेकेदार थिए। उनलाई राणा शासनले खरदारको पद दिएका थिए। जागिरकै क्रममा उनले च्यात्तिएका, पुराना र गह्नाउने भइसकेका लुगा लगाएका र ती लुगामा जुम्रैजुम्रा भएका भरियाहरू फेला पारे। उनले एक भरियाका लुगा 'पार्सल' गरेर राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाए । सँगसँगै पत्र पनि लेखे । पत्रमा भनिएको थियो : महाराज हेरिबक्सियोस् जनताको हाल।

त्यसपछि कोइराला र उनको सम्पूर्ण परिवारलाई चन्द्र शमशेरले देशनिकाला गरेका थिए। उनै कोइरालाले आफ्नो पहाड सिन्धुलीको दुम्जाबाट विराटनगर आएपछि मोरङको सदरमुकामलाई रङ्गेलीबाट विराटनगर सारेका थिए।

नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्स खोल्नेमध्येका एक सूत्रधार उनी पनि थिए। यसका लागि उनले जुट मिल्सलाई ५ बिघा जमिन दिएका थिए । उनी देशमा औद्योगिकीकरणको वकालत गर्थे।

विराटनगरको आदर्श विद्यालय उनैले बनाएका थिए । आदर्श विद्यालय पहिले निर्वासनमा भएका बेला भारतको विहार राज्यको टेढीमा खोलेका थिए उनले । पछि आममाफी पाएपछि टेढीबाट फर्कंदा आदर्श विद्यालयलाई यहाँ उनले निरन्तरता दिए। उनैले विराटनगर शहर पनि यातायात र संचारसित जोडियोस् भनेर तत्कालीन अङ्ग्रेज शासकलाई अनुरोध गरेर जोगबनीमा रेल मार्ग ल्याएका थिए र हुलाक अड्डा बसाउन लगाएका थिए।

कोइरालालाई अङ्ग्रेज शासकले भनेका थिए : रेलमा यात्रु कम भए भने स्टेसन खारेजीमा पर्छ। यसपछि कोइराला आफैँले धेरैलाई टिकट काटिदिएर भारत घुम्न पठाउँथे । त्यस्तै अङ्ग्रेज शासकले पोस्ट अफिसमा चिठी आएनन् भने खारेज हुन्छ भनेका थिए । यसका लागि कोइराला आफैँ आफ्ना धेरै भारतीय मित्रलाई पत्र लेखेर हुलाक चलाउन मद्दत गर्थे।

उनले नै महिलाले पनि पढ्नुपर्छ भनेर राणा शासनमा नारी जागृति केन्द्र खोलेका थिए । पछि यही केन्द्र विराटनगरको आदर्श बालिका विद्यालयमा परिणत भयो । उनले नै विराटनगरको एक शक्तिपीठ काली मन्दिर स्थापनाका लागि अग्रणी भूमिका लिएका थिए।

विराटनगर शहर बसाउन, यसलाई सदरमुकाम बनाउन तथा यहाँ मानवीय मूल्य, मान्यता, संस्कार, आदर्श र सभ्यताको वृद्धि गर्न योगदान गरेका हुनाले कृष्णप्रसादलाई उनको जीवनकालमै विराटनगरवासीहरू श्रद्धाले 'पिताजी' भनेर सम्बोधन गर्थे । अहिले पनि उनको योगदान जान्ने र बुझ्नेहरू पिताजी नै भन्छन् ।

महात्मा गान्धीको आदर्श जीवन र दर्शनबाट प्रेरित उनले भारतको स्वतन्त्रता सङ्ग्राममा पनि योगदान पुर्याएका थिए।
राणाले काठमाडौंमा जेल हालेका बेला उनको निधन जेलमै २००१ सालमा भएको थियो । 

पढ्नुस : रामवरण यादवलाई 'पिताजी कृष्णप्रसाद कोइराला सम्मान', शेखरले सुनाए गिरिजाप्रसाद र महात्मा गान्धीको किस्सा   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell