PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

रामवरण यादवलाई 'पिताजी कृष्णप्रसाद कोइराला सम्मान', शेखरले सुनाए गिरिजाप्रसाद र महात्मा गान्धीको किस्सा   



अनन्तराज न्यौपाने

रामवरण यादवलाई 'पिताजी कृष्णप्रसाद कोइराला सम्मान', शेखरले सुनाए गिरिजाप्रसाद र महात्मा गान्धीको किस्सा   

विराटनगर : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रमा आएको विकृति सुधार हुन समय लाग्ने बताएका छन्। विराटनगरमा शनिबार पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान ग्रहण गरेपछि प्रथम राष्ट्रपति यादवले विकृतिमा सुधार हुन समय लाग्ने बताएका हुन्।
उनले भने, ‘केही विकृति आएको सुनिरहेको छु। विकृति होलान्। यसमा सुधार आउन केही समय लाग्छ।’

यादवले सुधारका लागि लोकतान्त्रिक अभ्यास र प्रक्रियालाई निरन्तर जारी राख्नुपर्ने धारणा व्यक्त गरे। उनले भर्खरै भएको स्थानीय तहको निर्वाचनले पनि लोकतान्त्रिक पद्धति र संस्थालाई सुदृढ बनाएको बताए।

सम्बोधनका क्रममा उनले चुरे क्षेत्र भत्काएर लोकमार्ग बनाइएकोमा दुःख व्यक्त गरे। यादवका अनुसार चुरे क्षेत्रको संरक्षण नभएर महाभारत रहँदैन र तराई पनि मरुभूमिमा परिणत हुन्छ। उनले तराई क्षेत्रमा अधिकांश खेत बाँझो रहेको भन्दै खेती बढाउनुपर्नेमा जोड दिए। यादवले  तराई क्षेत्रलाई 'फुड बास्केट' भन्दै यसलाई बाँझो राख्न नहुने बताए। 

राजा महेन्द्रले तराईको हुलाकी राजमार्ग बनाइदिएको भए नेपालमा एकताको दह्रो जग बस्ने थियो भन्ने टिप्पणी गरे। उनले नेपालको संविधानमा केही त्रुटि भए पनि निरन्तरको अभ्याससँगसँगै सुध्रँदै जाने विश्वास व्यक्त गरे।

यादवले राष्ट्र बनाउन राजनीतिकर्मीले चौडा छाती बनाउनु पर्ने र कसैले कसैलाई विभेद गर्नु नहुने समेत बताए। उनले यसअघि आफूले कहिल्यै सम्मानका लागि दोसल्ला नओढेको भन्दै भने, ‘पिताजी कृष्णप्रसाद कोइरालाजस्तो महामनाको नामको सम्मान भएर नै म दोसल्ला ओढ्न तयार भएको हुँ । यो मेरो पहिलो दोसल्ला हो । यसअघि मैले कहिल्यै सम्मानमा दोसल्ला ग्रहण गरेको छैन।’

पढ्नुस : 'पिताजी' कृष्णप्रसाद, जसले विराटनगरलाई सदरमुकाम बनाए...

‘वास्तवमा म ९९ सालको हुँ’

डा. यादवले आफू वास्तवमा १९९९ सालमा जन्मिएको तर कसरी शैक्षिक प्रमाणपत्रमा जन्ममिति २००७ साल भयो भन्ने खुलासा गरे ।
उनले भने, ‘वास्तवमा मेरो जन्म २००७ सालमा होइन १९९९  सालमा भएको हो। म गाउँबाट जनकपुर बजार पढ्न आएँ। विद्यालयका हेडसर हुनुहुन्थ्यो, गङ्गाधर दत्त। 

दत्त सरले सोध्नुभयो, कितना उम्र है?

मैले त्यही १८–२० वर्ष भएँ होला भन्ने जवाफ दिएँ।

यसपछि उहाँले स्कुलका कर्मचारीलाई अह्राउनुभयो : यसको उमेर ५–७ वर्ष घटाएर नै लेखिदिनू । पछि पढ्न र जागिर खान दुबै सजिलो हुन्छ। 
यही कारणले स्कुलमा मेरो उमेर २००७ साल लेखियो। यसैका कारण मैले डाक्टरी पढ्न पनि पाएँ। नभए उमेर धेर भएको भनेर रिजेक्टेड हुन्थेँ। 

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले डा. यादवलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए। नेता कोइरालाले अहिलेका राजनीतिकर्मी र कार्यकर्ताले पिताजीको आदर्शलाई पछ्याउनु र अपनाउनु जरुरी भएको धारणा प्रकट गरेका थिए। उनले पिताजी महात्मा गान्धीको आर्दश जीवनबाट प्रेरित भएको चर्चा गर्दै पिताजीसित गिरिजाप्रसाद कोइरालाको एक संस्मरण बताए।

जसअनुसार एक दिन विराटनगरको सीमावर्ती भारतीय शहर फारबिसगन्जमा आमसभा गर्न महात्मा गान्धी आउने भएछन्। आमसभामा पिताजीले पनि जाने योजना बनाएछन् । त्यस बेला गिरिजाबाबुको उमेर सानै रहेछ। गिरिजाबाबुले पनि आमसभामा जाने रहर गरेछन्।
पिताजी गिरिजाबाबुलाई लिएर फारबिसगन्ज गए। आमसभा भयो। भाषण सुने। फर्कंदा गिरिजाबाबुलाई सोधेछन्, गान्धीजीलाई देखेर कस्तो लाग्यो त ?

गिरिजाबाबुले उत्तर दिएछन्, ‘एउटा धोतीमात्र लाउने, यस्ता दुब्ला–पातला र बोल्नै नसक्ने बुढाले के परिवर्तन गर्लान् र? अहँ मैले त पत्याइन।’
त्यसपछि पिताजीले भनेछन्, ‘हेर, चरित्र र आदर्शमा जो स्ट्रोङ हुन्छ, उसैले परिवर्तन गर्छ र नेतृत्व पनि लिन्छ। गान्धीजी त्यस्तै हुनुहुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell