काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले आफ्ना मागहरु पुरा गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। लोसपा अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका नेताहरुले आफ्ना माग ध्यानार्षण गराउन आज पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
नागरिकता विधेयकलगायत विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र गत मंगलवार लोसपाले देउवालाई बुझाएका थिए। सोही मागबारे देउवालाई तकेता गर्न लोसपाका नेताहरु बालुवाटार पुगेको बताइएको छ।
प्रधानमन्त्री देउवाले बजेट पास भएको भोलिपल्टै नागरिकता विधेयक पास हुने बताउँदै आएका छन्।
'संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धि हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिने,' लोसपाले यसअघि बुझाएको ज्ञापनपत्रको पहिलो बुँदामा भनिएको छ।
त्यसैगरी, लोसपाले जेलमा रहेका नेता रेशम चौधरी लगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्नसमेत माग गरेको छ।
'मधेश आन्दोलन /थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्ने,' ज्ञापनपत्रको दोस्रो बुँदामा भनिएको छ।
ज्ञापनपत्रमा पार्टीले उठाइएका माग मुद्दाहरुको सन्दर्भमा विगतदेखि विभिन्न सरकारहरुसँग समझदारी र सम्झौता हुँदै आए पनि प्रतिबद्धतामा कुनै सम्बोधन नभएको उल्लेख गर्दै पुन: स्मरण गराउन लोसपा बालुवाटार पुगेको बताइएको छ। लोसपाका नेताहरुको बालुवाटार भेटमा आगामी निर्वाचनमा कसरी जाने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ।