मुस्ताङ यात्रामा पारस शाहसँगको भेट एउटा रोचक सन्दर्भ थियो। त्यो भेटको थोरै सन्दर्भ उठाएपछि माया गर्नेहरुको गुनासो थियो –अझै ‘पेग’ पुगेन। अनुभूति भएकै हो –आफ्नै खानदानी र रवाफिलो अस्तित्वलाई गुमनाम बनाएका पारससँगको भेटमा अरु केही रोचक कुरा हुनसक्थ्यो। उनीसँगै रहेका युवाहरु कथाका पात्र बन्न सक्थे। होटलमा उनी नजिकै देखिएकी युवतीको सन्दर्भ पनि जोड्न सकिन्थ्यो। तर, एउटा जोगी पारामा हिँडेका पारसको सन्दर्भ कति केलाउनु भन्ने लागेरै सकेसम्म छोट्याएकै हो। बामे सर्दै गरेको गणतन्त्रिक नेपालमा राजाका तिलस्मी कथाहरु फिका बन्दै गएका छन् तर पारसप्रतिको चासो चाहिँ मानिसहरुमा मरिसकेको रहेनछ। पारसबाट आशा नभएपछि कतिपय त अमेरिकामा रहेका हृदयन्द्रमा त्यो तिलस्मी प्रतिबिम्बको प्रतीक्षामा होलान्। उनीहरुको त्यो कल्पनालाई नबिथोलु अहिले।
'मैले खिचेका फोटो सोसल मिडियामा हाल्न हुन्छ नि?,' मैले सोधेँ।
पढ्नुस् : लेतेमा भेटिए दूध पिउँदै गरेका पारस : मोटरसाइकलमा मुस्ताङ यात्राको कथा
लेतेबाट छुट्ने बेलामा पारससँग तस्बिर प्रयोगका लागि मैले अनुमति मागेँ। नसोध्न पनि सक्थेँ। उनी एक हिसाबले सेलिब्रिटी हुन्। मुलुकको अन्तिम युवराज पनि। त्यसैले उनको रहनसहनप्रति धेरैको चासो हुनु स्वभाविक रहेछ। तर, मैले भेटेका पारस 'युवराज'बाट पहिले नै अघाइसकेका थिए। त्यसैले उनको त्यो 'सेलिब्रिटी पोस्चर' र सँगै देखिएकी युवतीको तस्बिरको मोह हुनका लागि म कुनै 'पापराजी' थिइन। सोसल मिडियामा तस्बिर राख्नका लागि अनुमति एउटा औपचारिकता पनि थियो। उनले 'नो' भनेको भए म यसरी सार्वजनिक गर्थिन पनि।
'मेरो के छ र? हाले हुन्छ,' पारसले जवाफ फर्काए।
जवाफ फर्काउँदा उनमा कुनै बनावटी बोली थिएन। पारसको हातमा दूधको ग्लास देखेपछि यो चाहिँ रोचक हुन्छ भन्ने 'क्लिक' भएकै थियो। मेरा लागि 'पारसको हातमा दूधको ग्लास'आफैँमा एउटा ‘पेग’ थियो – मज्जाले मत्याउने।
एउटा फकिर आफ्नै दुनियामा रमाइरहेको छ –मलाई उसका निजी जीवनप्रति निन्दा चर्चा धेरै गर्न मन लागेन। त्यसैले उसको हातमा रहेको दूधको त्यो ग्लास नै मत्याउने पेग बनिरह्यो। त्यो पेगसँगै यात्रामा अरु धेरै पेगहरु थिए –जसले म र बाल्यकालदेखिको मित्र लक्ष्मीलाई मत्याइरह्यो। यात्राका प्रत्येक पलहरु रोचक रहिरहे।
+++
अपर मुस्ताङको योजना स्थगित भएपछि जोमसोमबाट फर्किएर हामी फेरि बास त्यहीँ होटलमा बस्न आएका थियौं जहाँ अघिल्लो रात बिताएका थियौं। नजिकै रहेको तातोपानीमा डुबुल्की लगाएपछि शरीरको थकान पूरै फरार। तातोपानीमा दुई घन्टा डुबेपछि शरीरभित्रकै पानी पनि गायव!प्रकृतिको लीला गजब। पानीमा डुबिरहँदा शरीरको पानी नै सोसिने। अनि चिसो बोतलको पानी घुट्क्याउँदै तातोपानीमा डुबिरहँदाको मजा बयान गर्न सक्दिन।
यसपाला मोटरसाइकल यात्रालाई थोरै मोड्ने योजना बन्यो। तातोपानीबाट बिहान चाँडै निस्किनु हाम्रो बाध्यता नै थियो। ११ बजेदेखि ४ बजेसम्म बेनी - मालढुंगासम्म बाटो बन्द हुने। बिस्तार हुँदै गरेको बाटोले बिथोल्ने भएकाले योजनाले फरक मोड लियो। अब सोझै पोखरा होइन – पर्वतमा अडिने। धेरै सुनेको तर नपुगेको नयाँ गन्तव्य ‘द क्लिफ’ पुग्ने, त्यहीँ लन्च गर्ने।
जोमसोम यात्रा नयाँ नभए पनि मोटरसाइकलबाट भएको यात्रा चाहिँ नयाँ थियो। अनि द क्लिफको बन्जी गर्ने ठाउँमा जाने पनि।
सन् २००८ मा भोटेकोसीमा रहेको द लास्ट रिसोर्टमा बन्जी हामफालेपछि म डोरी बाँधेर तलतिर खस्ने यो साहसिक खेलबाट बेपत्ता भएको थिएँ। बन्जी गरिएला, नगरिएला तर त्यहाँको चर्चा बारम्बार सुनेकाले जाने तय भयो। कुस्मा बजारबाट कालीगण्डकीतिर मोडियो बाइक। तीन पटक भोटेकोसीमा डोरीसहित हामफाले पनि पर्वतको कुरा फरक थियो। यो भोटेकोसीभन्दा अग्लो थियो र नयाँ पनि।
कालीगण्डकी माथिको लामो पुल पार गर्दै द क्लिफको यात्रा अविस्मरणीय बन्दै थियो। पुलको संरचना देखेरै यसमाथि पैसा खर्चने लगानीकर्ताको हिम्मतको तारिफ नगरी रहन सकिएन। दश करोडभन्दा बढी त नदी वारपार हुने पुलमाथि नै खर्च गरेर त्यसको बिचबाट तलितर हामफाल्नका लागि गजबको संरचना बनाइएको रहेछ।
पुल पार गरेर रिसोर्टमा पुग्दै थकाइ लाग्ने, लामो ! रिसोर्टको बार र रेस्टुराँको एम्बियन्स अनि बाहिरको बगैँचा गजब रहेछ। बारमा झुन्डिएर बस्न मिल्ने व्यवस्था। बाहिर पनि त्यस्तै झुन्डिएर बस्न मिल्ने गरी तयार पारिएको संरचना। त्यसबाहेक अल्मलिनका लागि अनेक गतिविधि। बन्जी गर्नका लागि मात्र होइन रहेछ यो ठाउँ।
पोखराबाट ५० किलोमिटर दुरी तय गरेर यहाँ पुग्ने हो भने गजबको अनुभव गर्न पाइने भइसकेछ। यहाँ पुगेपछि लाग्यो – पोखरामात्र गन्तव्य बनाउनेले अब भने धेरै कुरा मिस गर्नेछन्। हेम्जाको रङ्गीचङ्गी सडक पार गरेर नौडाँडाको यात्राले पोखरालाई तन्काइसकेको छ पर्वततिर। त्यहाँबाट थोरै अगाडि बढेपछि बनेको अजंगको संरचना र साहसिक गतिविधिको केन्द्रमा पुग्दा बेजोड अनुभूति हुन्छ नै। तर, यसपाला हामी मुस्ताङबाट यतातिर तानिएका थियौं।
'बन्जी गर्दा केही भयो भने 'इन्सोरेन्स क्लेम' गर्न पाइँदैन नि ! बन्जी गर्नेको इन्सोरेन्स हुन्न।'
मैले साथीलाई अत्याउन खोजेँ।
'यहाँ आइसकेपछि त ट्राइ गर्ने हो,' उ प्रतिबद्ध सुनियो।
लन्च गरिसकेपछि हामी बन्जीका लागि तयार भयौं। संसारकै सबैभन्दा धेरै 'फ्रि फल' हुने सुनेपछि म स्विङ गर्न तयार भएँ। साथी चाहिँ बन्जी।
पहिलो पटक भोटेकोसीमा बन्जी गर्दा खुट्टामा मात्र हार्नेसिङ(बाँध्ने) हुन्थ्यो। त्यतिखेर जुत्ता फुस्केला भन्ने कत्रो चिन्ता ! दोस्रो पटक गर्दा कम्मरमा पनि हार्नेसिङ हुन थालेको थियो। अब त काँधमा पनि कस्न थालिएको रहेछ। मतलब सुरक्षा थप कडा बनाइएछ – म अपडेट थिइन।
पुलको मध्य भागमा रहेको ‘क्रु’सहितको ठूलो क्याबिन भित्र छिर्दा चिनेको अनुहार देखियो।
हो रहेछ। उनी हुन् प्रकाश श्रेष्ठ, बन्जी मास्टर।
'चिन्नुहुन्छ मलाई?,' उनले सोधे।
'२००१ मा लास्ट रिसोर्टमा तपाईँले नै हो मलाई बन्जी गराएको।'
उनी खुशी देखिए। साथी मणि लोहनीसँगै भोटेकोसीमा मैले उनलाई पहिलो पटक भेटेको। द्वन्द्वको चर्को रापतापमा सुरु भएको त्यतिखेरको बन्जीको त्यो रोमाञ्चकता त्यसपछि कहिल्यै फर्केन। बन्जीभन्दा पनि सँगै जानेको साथको अर्थ हुन्छ। यसपाला त्यस्तै अनुभूति हुँदै थियो।
यहाँ बन्जी र स्विङका लागि अलग अलग ठाउँ रहेछ। हार्नेसिङ गरेसँगै निर्देशनहरु लगातार आइरह्यो। फेरि पनि निर्देशन। लामो हुन थालेछ प्रकृया। मलाई पहिलो पटक भोटेकोसीमा खसाल्ने बन्जी मास्टर नै यहाँ देखेपछि मेरो हिम्मत थप चुलियो।
'आफैँ हामफाल्ने कि झुन्ड्याएर खसालौं?' मलाई सोधियो।
'म आफैँ हाम्फाल्छु।'
हार्नेसिङ गर्दा याद गरेँ मेरो जुत्ता त पूरै हिलो लागेको रहेछ। फर्किँदा पानी परेकाले बाटोको हिलोले बेरुप पारेको। पहिलो पटक हाम्फाल्दा जुत्ता फुस्केला जस्तो थियो अहिले हिलाम्मे।
सबै सुरक्षाका मापदण्ड पूरा भइसकेपछि मलाई पहिले झै पुलको छेउमा आधा खुट्टा बाहिर निकाल्न लगाए। म सरासर पुगेँ। मेरो भिडियो खिचिँदै थियो। म दृश्यमा म भित्रका डरहरु पोखिएलान् भन्ने 'डर'मै थिएँ।
'डर लाग्दैन?'
पहिलो पटकदेखि हरेक पटक बन्जी गरेपछि मेरासामु तेर्सिने प्रश्न।
'डर? लाग्छ नि,' मेरो स्थायी जवाफ। सयौं मिटर माथिबाट तलतिर खस्न आधा खुट्टा पुलको छेउमा र आधा भित्र राख्दा नडराउने को होला?
मजा डरमै त हो। त्यही डरकै बिच फेरि एकपटक मैले छलाङ लगाएँ। गुरुत्वाकर्षणले मलाई तलतिर फराकिलो गरेर बगेको कालीगण्डकीतिर तान्यो। केही सेकेन्डपछि बिस्तारै मलाई डोरीले समातेको अनुभव भयो – त्यो गुरुत्वकार्षण विरुद्ध लचक रुपमा प्रस्तुत हुँदै थियो। कुनै झड्काबिना म तल अनि पर पुगेँ। अनि फेरि मच्चिँदै वरतिर आएँ।
म चिच्चाइरहेँ। १४ वर्षपछि म फेरि एकपटक आफैँलाई परीक्षण गरिरहेको थिएँ। आफूलाई लागेको कुरा बताइरहेको थिएँ। मलाई नजिकैबाट गोप्रोको लेन्सले नियालिरहेको थियो – डोरीमै जोडिएर। म स्थिर भएसँगै फेरि पुलतिर अकासिएँ। मिसन कम्प्लिट।
'कस्तो लाग्यो?'
भनेँ - सोचेजति डर मसँग रहेनछ।
साथीको पालो आइसकेको थिएन। केहीबेरमा उसको पनि पालो आयो। पहिलो पटक उसले पनि यसरी हामफाल्यो कि तिरेको पैसा पूरै असुल। स्कुल बङ्क गरेर सँगसँगै मस्तीमा डुल्ने हामी लामो समयपछि त्यही रुपमा प्रकट भएका थियौं। हाम्रो यो बन्जी जम्प मुक्तिनाथ यात्राको बिचमा भएको अर्को 'बङ्क' नै थियो – घरपरिवार कसैलाई थाहा थिएन। मेरो त अनुभव धेरै फरक रहेन। साथीको पहिलो चाहिँ कस्तो भयो त?
'एकछिन चाहिँ इन्स्ट्रक्सन अनुसार गर्नै भुलेछु। माथिबाट कराएपछि झल्यास्स भएँ,' उसले सुनायो,'अब नेपाल आउँदा यहाँ परिवारसहित आउनुपर्छ। मेरी छोरी यो ठाउँ देखेपछि पक्कै एक्साइटेड हुनेछिन्,उनलाई साहसिक कुरा गर्न मनपर्छ।'
मलाई चाहिँ द क्लिफको सबै कुरा गजब लाग्यो। तर, वारी कुस्माबाट हेर्दा देखिने टिनका छानाका दृष्य चाहिँ बिजाइरह्यो। त्यो टिनका छानामाथि ढुङ्गाले छाएदेखि कति गजब देखिन्थ्यो होला? मैले त्यस्तै दृश्य कल्पिएँ
क्लिफमा केही समय आराम गरेपछि हामी पोखरामा बास बस्न आइपुग्नु थियो। भाडामा लिएर गएको मोटरसाइकल बुझाउनु थियो। एक रात थकाइ मारेर फेरि काठमाडौं फर्किनु थियो। अनि सुनाउनु थियो स्कुल 'बङ्क' हानेर वाग्मतीमा पौडिन गएजस्तै कालीगण्डकीको खोचमा खसेको यो कथा। अनि अन्तिम युवराज पारससँगको त्यो छोटो भेट पनि।