PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

छलफलमा नआएपछि समितिले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण, ‘संसद र समिति किन छल्दै छन् देउवा?’



प्रकाश भण्डारी

छलफलमा नआएपछि समितिले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण, ‘संसद र समिति किन छल्दै छन् देउवा?’

काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा छलफलका लागि नआएकोमा ध्यानाकर्षण गराएको छ।

आज समितिको बैठकमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादबारे छलफल भएको थियो। आजको बैठकमा समितिले प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाएको थियो। तर, उनी उपस्थित भएनन्।

देउवा उपस्थित नभएपछि विपक्षी सांसदहरुले असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरुले फेरि प्रधानमन्त्रीलाई बोलाउन माग गरेका थिए। नेपाली कांग्रेसका सांसदहरुले भने देउवा नआएकामा बचाउ गरेका थिए।

बैठकको अन्त्यमा प्रधानमन्त्रीलाई नआएकोमा ध्यानाकर्षण गराउने बारे निर्णय भएको समिति सभापति पवित्रा निरौलाले जानकारी दिइन्। उनले निर्णय सुनाउँदै गर्दा बैठकमा विवाद पनि भएको थियो। कांग्रेस सांसहदरुले प्रधानमन्त्रीको अमेरिका भ्रमण तय नभएको र प्रधानमन्त्री आफैँ आउनुपर्ने कारण नभएको तर्क दिएका थिए।

त्यसक्रममा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले भने प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराउने निर्णयमा विरोध जनाएकी थिइन्। प्रधानमन्त्रीको अमेरिका भ्रमण तय नभएको भन्दै उनले समितिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण वा स्पष्टीकरण सोध्नु पदीय मर्यादा विपरित भएको बताएकी थिइन्।

‘प्रधानमन्त्रीले आफ्नो सन्देश पठाउने अभ्यास छ। तय भएपछि संसद नभए समितिमा जानकारी गराउनु भएको छ। के आवश्यकता पर्‍यो?,’ उनले प्रश्न गरिन्।

पढ्नुस : मिनि संसदमा 'एसपीपी' बहस : प्रधानमन्त्री नआएपछि ‘दालमें कुछ काला है’, नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न माग

समितिले प्रधानमन्त्रीलाई पत्र पठाएपछि सचेतक पुष्पा भुसालसँग यस विषयमा छलफल भइरहेको थियो। आज बिहानसम्म प्रधानमन्त्री बैठकमा आउने भनेर सूचना दिइएको थियो। तर, बिहान ८ बजे देउवा नआउने भनेर प्रधानमन्त्रीको सचिवालयले समितिमा  जानकारी गराएको थियो।

प्रधानमन्त्री नआएपछि आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच बाझाबाझ भएको थियो।

समिति सभापति निरौलाले अन्तिम समयमा प्रधानमन्त्रीले नआउने भनेर जवाफ दिएको र बैठकमा नआएको भन्दै असन्तुष्टि व्यक्त गरिने। निरौलासँगै भीम रावलले देउवाले प्रधानमन्त्रीले एसपीपीबारे संसद र समितिमा अहिलेसम्म केही नबोलेको भन्दै देउवा किन भागिरहेको भन्दै प्रश्न गरेका थिए।

‘बोलाएको बेला आउनुपर्छ। संसद र समितिमा किन उहाँ आइरहनु भएको छैन?,’ निरौलाले भनिन्। प्रधानमन्त्रीले बैठकमा नआएर संसदीय समितिको अपमान गरेको उनीहरुको आरोप थियो।

‘आउछु भनेर पाँच दलको बैठक बस्ने? खेद प्रकट गर्ने विषय नै हो। प्रतिनिधिसभामा भनेर सेमिनार जाने? संसदीय अभ्यासका रुपमा उहाँ आउनु भएन,’ रावलले भने।

एमाले सांसदहरुले विरोध गरेपछि भुसालले भने प्रधानमन्त्रीले समितिलाई आउन नसक्ने भनेर आधा घण्टा अघि नै जानकारी गराएको बताइन्।

‘आधा घण्टाअघि जानकारी गराउनुभएको छ। यसबारेमा फेरि किन यत्रो प्रश्नोतर?’ उनले भनिन्।

जवाफमा एमाले सांसद मोहन बानियाँले आवश्यक परेको खण्डमा समितिले राष्ट्रपतिलाई नै बोलाउन सक्ने भन्दै यो विषयलाई प्रधानमन्त्रीले महत्व नदिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell