PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ती सहयात्री, यी प्रतिस्पर्धी : एन्फा चुनाव आज, कुन पदमा कसको दाबी?



मुकुन्द घिमिरे

ती सहयात्री, यी प्रतिस्पर्धी : एन्फा चुनाव आज, कुन पदमा कसको दाबी?

काठमाडौं : २०७५ सालको १६ औँ एन्फा कंग्रेस (साधारण सभा) तथा कार्यसमिति निर्वाचनबाट कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका थिए। शेर्पाले ६३ मत ल्याएर अध्यक्षमा चुनाव जित्दा उपाध्यक्षमा उनकै प्यानलका पंकजविक्रम नेम्बाङ ६१, वीरबहादुर खड्का २९, कृष्णबहादुर थापा ५२ र उपेन्द्रमान सिंह ५८ मतसहित विजयी भए। उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको थियो।

शेर्पाले आरोह अवरोहबीच एक कार्यकाल अध्यक्षका रुपमा बिताइ सकेका छन्। र, अर्को कार्यकालका लागि आज चुनाव हुँदैछ। अघिल्लो चुनावमा शेर्पाको प्यानलमा रहेका पंकजविक्रम नेम्बाङ अहिले अध्यक्षको होडमा छन्। अर्थात अघिल्लो चुनावअघिको सहयात्री नेम्बाङ अहिले अध्यक्षका उम्मेद्वार छन्। त्यस्तै शेर्पा प्यानलकै वीरवहादुर खड्का नेम्बाङ प्यानलबाट वरीष्ठ उपाध्यक्षको उम्मेद्वार हुँदा शेर्पा प्यानलका शिक्षित पराजुली वरीष्ठ उपाध्यक्षको उम्मेद्वार छन्।

'अहिले निर्वाचित मेरो टिम सक्षम टिम छ। सबैको सहयोग र साथ छ। खुशी छु। मैले काम गर्नु धेरै छ। अब हामी चाँडै राष्ट्रिय लिगको मिति तोक्नेछौँ। यही सोमवारै हाम्रो कार्यसमितिको बैठक बसेर लिगको मिति घोषणा गर्नेछौँ,' त्यतिबेला जितपछि शेर्पाले भनेका थिए, 'अब कार्यसमितिका साथीहरुलाई ३ महिना घरको काम छाडेर यतातिर लाग्न भनेको छ। हामीले आर्थिक नियमावली, कर्मचारी प्रसाशा नियमावली, खेलाडी दर्ता नियमावली बनाउनु छ। जुन अहिले छैन।'

उनले अगाडि भनेका थिए : भविष्यको फुटबललाई राम्रो बनाउनेछौँ। अब पछाडि फर्केर हेर्दैनौं, अगाडी बढ्नुपर्छ। यो टिम तुरुन्त काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

तर, नेतृत्वमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षको सम्बन्धमा फाटो सुरु हुन समय लागेन। शेर्पा आफ्नो हिसाबले कामकारवाही गर्दै गए, नेम्बाङले सुशासन, पारदर्सितालगायतका विषयलाई उठाइरहे।

अहिले निर्वाचनका लागि दुवै पक्षले आफ्नो प्यानल बनाएर अघि बढिरहँदा नेम्बाङ पक्ष सुशासन र पारदर्शितालाई मुख्या मुद्दा बनाइरहेको छ भने शेर्पा पक्षका काम गर्न बाँकी रहेका कुरालाई सम्पन्न गर्ने भन्दै योजनाहरु अघि सारेको छ। उनीहरुबाहेक राजीवराज पौडेल पनि अध्यक्षको उम्मेद्वार छन् तर प्रचारप्रसारमा होस्, मतदाता रिझाउन होस, उनी पछाडि नै देखिएका छन्।

पौड्यालले भने पहिलोपोस्टसँगको कुराकानीमा व्यक्तिले भन्दा संस्थाले जित्नुपर्ने मान्यतामा आफू रहेको उनले तर्क गरे। 'एन्फा अनिर्णयको बन्दी बन्यो। यहाँ ब्यक्ति होइन, संस्था जित्नुपर्‍यो। फुटबलले जित्नु पर्‍यो। व्यवस्थापनले जित्नु पर्‍यो,' उनले भने।

स्वतन्त्र मतदाताले आफूलाई भोट हाल्ने उनको विश्वास छ।

+++

आज अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व चयनका लागि बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा निर्वाचन हुँदैछ। निर्वाचनमा आफ्नो पक्षको जित हुने दुबै पक्षको दाबी छ। दुबै पक्षले आआफ्नो पक्षमा मत बढी खस्ने तर्क गर्दै आएका छन्।

नेम्बाङ पक्षले ४८ देखि ५० मत आफ्नो पक्षमा आउने अनुमान गरेको उपाध्यक्षका उम्मेद्वार दावा लामा तर्क गर्छन्। शनिवार नेम्बाङ पक्षको मतादातासँगको परिचयात्मक कार्यक्रममा ४६ जनाको उपस्थिति हुनुले पनि नेम्बाङ पक्ष जित निश्चित भएको दाबी गरिरहेका छन्। शेर्पा पक्षका एक जना सदस्य भने उक्त भेलामा ३६/३७ जनामात्र भेला भएको र विभागीयलाई जोडेर त्यो संख्या पुर्‍याएको बताउँछन्।

एन्फाको चुनावमा ८४ मतदाता रहेका छन्।

अर्कतर्फ शेर्पा पक्षको प्रक्षेपण फरक छ। अध्यक्षका उम्मेद्वार कर्माछिरिङ शेर्पाले बहुमत भएकोले जित निश्चित भएको दाबी गरे पनि संख्यामा भने खुल्न चाहेनन्। शेर्पा प्यानलबाटै उपाध्यक्ष पदका उम्मेद्वार रत्नकुमार श्रेष्ठ आफूहरुले मतबारे गहन अध्ययन गरेको भन्दै जित्नेमा आफूहरु ढुक्क रहेको बताउँछन्। संख्या यति नै भनेर किटान गर्ने अवस्था नभएको उल्लेख गर्दै उनले बहुमत आफ्नो पक्षमा रहेको उनले बताए।  

'जित्नेमा वहाँहरु ओभर कन्फिडेन्ट हुनु भयो। हामीसँग बहुमत छ। हामी जित्नेमा कन्फिडेन्ट छौं,' उनले भने।

शेर्पा र नेम्बाङबाहेकका अर्का उम्मेद्वार हुन राजीव पौड्याल। चुनावी प्रचारप्रसारमा खास सक्रिय नदेखिएका उनी निर्वाचन प्रकृयासँगै सन्तुष्ट छैनन्।

'निर्वाचन कमिटी बनेको अवैधानिक हो। साधारण सभाको पहिलो अधिवेशसनमै बन्नु पर्ने हो। मान्छे बाँडेर निर्वाचन कमिटी बन्यो। यसले गरेको निर्णय हेर्न सक्नुहुन्छ। अहिले एउटा निर्णय गर्‍यो, पुनरावेदनमा फेरि ब्याक गर्छ। मतलब, यहाँ विधिविधान, नीतिनियम भन्दा पनि शक्तिका आधारमा संस्था अघि बढ्यो,' उनले भने,'यो लज्जास्पद भइरहेको छ। यो हास्यास्पद भइरहेको छ। अवैधानिक काम गरेर अघि बढ्दा भोलिको दिनमा फेरि ब्याक भएर सोच्नुपर्छ।'

कुन प्यानलबाट कसको उम्मेदवारी?

पद

पंकज प्यालन

कर्माछिरिङ प्यानल

अध्यक्ष

पंकज विक्रम नेम्बाङ

कर्माछिरिङ शेर्पा

वरिष्ठ उपाध्यक्ष

वीरवहादुर खड्का

शिक्षित पराजुली

उपाध्यक्ष

विराटजंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दरनरसिंह केसी

उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ

केन्द्रीय सदस्य

 

महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रविन्द्र चन्द, दीपेन्द्र धिमाल, प्रवीण सुवाल, तपेश्वर कुमार राउत, बिन्दा देवान र सरिला श्रेष्ठ

 

अनिल श्रेष्ठ, भरत ढुंगाना, मनिष जोशी, रमेश ब्यन्जनकार, पेमा डोल्मा लामा, बिना श्रेष्ठ, लोकेन्द्र गुरुङ,प्रदेशसिंह राठौर, रुपेश अधिकारी, बिनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रवीणकुमार यादव, रामराज गुरुङ, मणिराज विष्ट, टिका लामा

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell