PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तिर्खाएको सुनधारामा कहिले आउँला पानी?

तिर्खाएको सुनधारामा कहिले आउँला पानी?

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : २०७८ साल बैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरे। भूकम्पले भत्किएको ऐतिहासिक धरहरालाई ‘हरियो कपडा’ले छोपेर ओलीले सँगै ठडिएको नयाँ धरहराको उद्घाटन गरेका थिए। स्थानीय र अभियन्ताको विरोध बाबजुद् नयाँ धरहरा बनाइएको थियो। धेरैले सो नयाँ धरहरालाई 'झिल्के टावर/ सेतो टावर'को संज्ञा दिएका थिए। तर पनि ओलीकै जोडबलमा नयाँ धरहरा ठडिने काम भयो र सँगैको वास्तविक धरहराको अवशेष र सुनधारालाई ओझेलमा पारेर नयाँ धरहराको उद्घाटन हतारहतार गरिएको थियो।

पढ्नुस : २०० वर्षमा काठमाडौंमा ठडिए ३ वटा धरहरा, भीमसेन थापाले बनाएको 'मीनार' कहाँ छ?

ओलीले नयाँ धरहराको उद्घाटन गरेको एक वर्षभन्दा बढी हुँदा पनि त्यहाँको काम सकिएको छैन। जसकारण वास्तविक धरहराको अवेशषसँगै संकटमा परेको छ ऐतिहासिक लुँ हिति अर्थात सुन्धारा।

कुनै बेला शहरको तिर्खा मेटाउने गरेको सुन्धाराको अस्तित्व यतिखेर हीन अवस्थामा छ। सुनधारासँगै ठडिएका ठूला भवनका कारण पानीको स्रोतम ह्रास आएको बताइन्छ। बेलाबेलामा सुन्धारा ब्युताउँने भनेर अभियान चलाए पनि त्यसो हुन सकेको छैन।

नयाँ धरहरा निर्माणको चरणमा सुनधाराबाट पनि पानी ल्याउने बताइएको थियो। तर, त्यो काम पनि पूरा हुन सकेको छैन। उल्टै सुन्धारालाई नै असर हुने गरी संरचनाहरु निर्माण भए।

केहीदिन अघिमात्रै काठमाडौं महानगर प्रमुख वालेन्द्र साह (बालेन) सुनधाराको निरीक्षणमा पुगेका थिए। उनले छिट्टै सुनधारामा पानी ल्याउनका लागि पहल गर्ने बताएका थिए। प्राकृतिक रुपमा टुँडिखेलमा इनार खनेर सुनधारामा पानी ल्याउने उनले बताएका थिए।

सुन्धारामा टुँडिखेलबाट पानी ल्याउने योजना नयाँ भने होइन। यसअघि पनि यो योजना अघि सारिएको थियो। तर, पूरा भएको छैन। यसपटक बालेनले सेनासँग आफूले कुरा गरिसकेको भन्दै इनार खनेर पानी ल्याउने काम सुरु गरिने बताएका छन्।

नेवा: दय् दबू, काठमाडौं जिल्लासँगको भेटका क्रममा उनले भनेका थिए, ‘सुनधारामा पानी ल्याउन हामी लागिपरेका छौं। सेनासँग कुरा भइसकेको छ। प्राकृतिक रुपमा नै सुनधारामा पानी आउँछ।’

बहुप्रयोजनको नयाँ धरहरा निर्माण सँगै सुन्धारा जान पनि टिकट काट्नुपर्ने भनेर भनेपछि केही वर्षअघि विरोध भएको थियो। सुन्धारासँग जीवन्त संस्कारहरु जोडिएको भन्दै त्यसलाई सार्वजनिक नै राखिनुपर्ने माग स्थानीयको छ।

नयाँ धरहराको निर्माण कार्य सकिन अझै एक वर्षभन्दा बढी लाग्ने देखिएको छ। तर, महानगरको पहलमा भने सुनधारामा तीन महिना भित्र पानी झार्ने गरि योजना अघि बढेको छ। यस्तै, पानी ल्याउनुका साथै 'आउटलेट' निर्माणको पनि कार्य भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell