
भारतीय फुटबल संघ त्यसै पनि विवादमा छ। संघमा अदालतको हस्तक्षेपपछि फिफाको प्रतिबन्धको भयसँगै अघि बढिरहेको भारतीय फुटबल पछिल्ला केही दिनदेखि चर्चामा छ, एउटा ज्योतिष कम्पनीसँगको सम्झौतालाई लिएर।
एसियन कप छनोटमा भारत समूह विजेता बन्दै छनोट भइसकेको छ। तर, छनोट हुनका लागि टिम फर्मेसन लगायतका विषयमा परामर्शका लागि फुटबल संघले ज्योतिष फर्मसँग महँगो शुल्क तिरेर सम्झौता गरेको खुलेको छ।
फुटबल संघको अडिटका क्रममा प्राप्त एक कागजातमा सम्झौताबारे कुरा रहेको जनाइएको छ। जसमा न्यासा एस्टोकोर्पसँग २४ लाख भारतीय रुपैयाँ र जीएसटी गरेर तीन महिनाका लागि सम्झौता गरेको पाइएको टाइम्स अफ इण्डियाले जनाएको छ। जसअनुसार भारतीय फुटबल संघले तीन किस्तामा उक्त रकम बुझाउनु पर्ने उल्लेख छ।
दस्ताबेजमा भारतीय टोलीसँग तीन पटक परामर्श गरिएको जनाइएको छ। यद्यपि, टाइम्स अफ इण्डियाले एक खेलाडीलाई उदृत गर्दै कुनै परामर्श नभएको दावी गरेको छ।
संघले भने खेलाडीलाई मोटिभेट गर्ने भन्दै सम्झौता गरेको जनाइएको छ। सुरुमा टिमका लागि मोटिभेटर ल्याउने कुरा भएको तर पछि त्यही मोटिभेटर कम्पनी ज्योतिष कम्पनी भएको संघको श्रोतलाई उल्लेख गर्दै पीटीआईले जनाएको छ।
फुटबलमा ‘जादु’ गरेर जित्ने चाहना यो पहिलो पटक भने होइन। यसअघि दिल्लीको एउटा क्लबले जितका लागि लिगको एउटा महत्वपूर्ण खेल अघि मेरठका एकजना बाबालाई राखेको थियो। र, खेल जितेपछि जितको श्रेय ती बाबालाई दिएको थियो।
द टेलिग्राफ इन्डियामा प्रकाशित रिपोर्टका अनुसार सर्वोच्च अदालतले नियुक्त गरेको प्रशासकीय समिति (सीओए)ले संघका एक अधिकारीलाई ज्योतिष फर्मलाई काममा राख्ने र उनीहरूलाई यति ठूलो रकम भुक्तानी गर्नुको तर्कको बारेमा प्रश्न गरेपछि यो कुरा बाहिर आएको हो।
सम्बन्धित समाचार :