PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'स्वतन्त्र'को उभारमाथि ओलीको टिप्पणी : काम गर्छु भन्नेलाई रोक्न हुँदैन, एमाले र कांग्रेस घाम जून रहेसम्म रहँदैन



सहयोग रञ्जित

'स्वतन्त्र'को उभारमाथि ओलीको टिप्पणी : काम गर्छु भन्नेलाई रोक्न हुँदैन, एमाले र कांग्रेस घाम जून रहेसम्म रहँदैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा स्वतन्त्रहरुको लहर आउनु स्वभाविक भएको बताएका छन्। आज काठमाडौंमा आयोजित राणा शासनविरुद्ध छरिएको पर्चा र जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपालको ऐतिहासिक महत्वबारेको संवाद कार्यक्रमा ओलीले यस्तो धारणा राखेका हुन्।

पार्टीहरु युवा कहाँसम्म पुग्न नसकेको स्वीकार्दै ओलीले पार्टीले आफैले गरेको क्षति भर्न नयाँ मानिस आउने बताए।

‘युवाहरुमा फ्रस्टेशन छ भन्ने कुरा एक दुई वर्ष अघिसम्म भन्थे। युवाहरु पार्टीमा संगठित हुन पाएनन्। पार्टी युवासम्म पुग्न सकेनन्। विचार सम्प्रेषण गराउन, सहमत गराउन सकेनन्। यो पार्टीहरुको कमजोरी हो। यस्तो ठाउँमा आफै संगठित भएर आउनु स्वभाविक हो। युवामा राजनीति प्रति आकर्षण हुनु राम्रो हो,’ उनले भने।

राम्रो काम गरेर आउँछु भन्नेलाई राजनीतिक दलले रोक्न नहुने उनले बताए।

‘यथार्थ के हो भने अहिले मुख्य पार्टी भनेको एमाले र कांग्रेस हो। उनीहरुले ठिक काम गरेन भने छोडे भइहाल्यो। ठिक काम नगरेर पनि पपुलर हुने? अघि बढ्ने? अनि जनताले विश्वास गरिरहने? निष्कृय भएर बस्ने? यो भन्दा राम्रो गर्छु भनेर आउनेलाई रोक्ने भन्ने हुँदैन,’ ओलीले भने। 

ओलीले एमाले र कांग्रेस सदाका रहिरहने भनेर आफूले नभन्ने भन्दै समय गतिशिल भएको बताए।

‘समय गतिशिल छ। नेकपा एमाले र नेपाली कांग्रेस घाम जून रहेसम्म रहन्छ भनेर म भन्दिँन,’ उनले भने।

ओलीले स्वतन्त्रको उभार आए पनि उनीहरुले विचारलाई अघि बढाउन नसकेको बताए। युवाहरुमा महत्वकांक्षा हुने भन्दै उनले राजनीतिमा विचार नै महत्वपूर्ण हुने बताएका हुन्।

‘स्वतन्त्रहरुको एउटा लहर आयो। युवामा एम्बिसन हुनु स्वभाविक हो। तर, भेलमा आएको माछा समाउँछु भन्ने देखिएका छन्। पत्रकार कलाकार आएका छन्। उ सँग विचार हुन्छ ? संगठनलाई गतिशिल बनाउन सक्छ? काम गर्न छोडेर तिमीहरु राजनीतिकर्मी भनेर, नालायक भनेर, आफूमात्र लायक भनेर अहिले थोत्रो राजतन्त्रको उत्खनन गर्न पुगेका छन्,’ उनले भने।

ओलीले सो कार्यक्रममा नेपाल प्रजा परिषद स्थापना गरेका टंकप्रसाद आचार्य, वि सं १९९७ असार ९ गते छरेको पर्चा लगायतका विषयमा समेत धारणा राखेका थिए।

पढ्नुस : ८२ वर्षअघि आजकै दिन छरिएको त्यो पर्चा जसले तर्सिए राणा शासक…



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell