PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

'भाइरल' बनेरै बित्यो एकीकृत समाजवादीका मन्त्रीको कार्यकाल



नेत्र तामाङ

'भाइरल' बनेरै बित्यो एकीकृत समाजवादीका मन्त्रीको कार्यकाल

काठमाडौं : नेकपा एमालेबाट चोइटिएर माधव नेपालको अध्यक्षतामा बनेको एकीकृत समाजवादीका मन्त्रीहरुको कार्यकाल भाइरलको होडमै सकिएको छ। २०७८ असार २९ गते सर्वोच्च अदालतको परमादेशपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा एकीकृत समाजवादीले तीन महिनापछिमात्र 'इन्ट्री' पायो।

जसमा मन्त्री बने पाँच जना। स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेम आले, श्रममा किसान श्रेष्ठ र सहरी विकास मन्त्रीमा रामकुमारी झाँक्री नियुक्त भए। असोज २२ गते भएको मन्त्रिपरिषद् बिस्तारमा एकीकृत समाजवादीबाट भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री बने।

देउवा सरकारमा सबैभन्दा चर्चित र भाइरल कुनै मन्त्रीको सूची तयार भए सायद त्यसको रेकर्ड एकीकृत समाजवादीबाटै सबैभन्दा अगाडि आउँछ। झन्डै ९ महिना सत्तामा बसेका मन्त्रीहरु कोही बोलीका कारण चर्चामा आए भने कोही पिर्के सलामीका कारण ।

बोलीकै कारण बदनाम आले

ओली नेतृत्वको सरकारमासमेत मन्त्री रहेका प्रेम आले कोरोना कालमा ग्यास सिलिन्डरमा आफ्नो फोटो टाँसेका कारण चर्चामा आएका थिए। वनमन्त्री रहेका बेला कार्बनडाइअक्साइट र अक्सिजनका कारण पनि चर्चामा रहे। कोरोनाकालमै पशुपतिनाथमा कोरोना संक्रमणबाट मृत्यु भएका मानिसको शव जलाउन दाउराको अभाव हुन नदिने अभिव्यक्ति दिँदा पनि उनी आलोचित बने।

भारतमा बस्ने जगत ओलीसँग तथानाम बोलेको अडियोका कारण पनि आले चर्चामा आए। जसका कारण आलेको राजीनामासमेत माग गरिएको थियो। अछाम घर भई भारतको मुम्बई बस्ने ओलीलाई अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलेको चर्को आलोचना भएको थियो

नेपाल वायु सेवा निगमका अध्यक्ष नवराज अधिकारीसँगको बोलीका कारण पनि आले चर्चामा रहे। पछि आधिकारीलाई मन्त्रिपरिषदबाटै आलेले बर्खास्त गराए।

पर्यटनमन्त्री रहँदा आलेको पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीसँग लामैसमय खटपट भयो। उनलाई हटाउन खोज्दा पनि सकेनन्। त्यसपछि ‌आलेले रेग्मीलाई साँढेको संज्ञा दिए। बोर्डको सीईओमा रेग्मी ल्याउनुलाई विडम्बना भएकोसमेत उनले बताएका थिए।

बोर्डको २३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री आलेले लन्डनमा भएको घटनालाई जोड्दै रेग्मीबारे किस्सा सुनाएका थिए। 'ह्विस्की ल्याएर राख्नुभयो। मैले खाँदिन भनेँ। हाम्रो सचिवज्यू यादव कोइराला, उहाँ पनि विचरा साकाहारी। अब अगाडि बसेको छ उही साँढे। फटाफट लगाएको छ। मलाइ पनि खा कि खा भन्छ। म त खान्न। यस्तो मान्छेलाई सीईओ बनाइएछ। बडा बिडम्बना छ,' मन्त्री आलेले सुनाए

बेलायतबाट फर्कँदा विमानस्थलमा रक्सी काण्ड भएपछि रेग्मी छानविनमा तानिएका थिए। उनलाई निलम्बन गरे पनि पछि सर्वोच्चले सरकारको निर्णयलाई कार्यन्वन नगर्न आदेश दिएको थियो। आफू मन्त्रीबाट बिदाई हुँदै गर्दा आलेले रेग्मीलाई पनि हटाउने तयारी गरेका थिए। यद्यपि उनी हट्दा रेग्मी भने हटिसकेका छैनन्।

पशुपति धर्मशालामा सञ्चालनमा आएको होटल र नारायणहिटीमा बन्न लागेको कफी सप बन्द गराउँदा पनि आले चर्चामा छाए। मन्त्रीबाट राजीनामा दिँदा पनि आलेले आफूले एक्सन मन्त्रीको टाइटल पाएको दाबी गर्न भ्याए।

पिर्के सलामीदेखि ढलको बिर्कोसम्म

नेकपामा विद्रोह भएदेखि चर्चामा छाएकी थिइन् रामकुमारी झाँक्री। भृकुटीमण्डपमा मुखमा कालो टेप टाँसेर 'बोल्न पाइन्छ' भन्दै कपडा फालेपछि उनी चर्चामा छाइन्। त्यसपछि पार्टी दर्ताका बेला निर्वाचन आयोगमा माधव नेपाललाई तानेको फोटोले उनलाई थप चर्चित बनायो।

मन्त्री बनेपछि भने उनी पिर्के सलामीबाट चर्चामा आइन्। गत पुस १८ गते गृहजिल्लामा गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहलमा प्रहरीबाट झाँक्रीले ‘पिर्के सलामी’ खाएकी हुन्। मन्त्री बन्नुअघि झाँक्रीले पिर्के सलामीको विरोध गरेका कारण होला उनी यसपछि थप आलोचित बनिन्।

पुसमै उनी ढलको बिर्कोका कारण चर्चामा रहिन्। ‘कालगतिले कहाँबाट केके भएर मलाई मन्त्री बनाइदियो, म साढे दुई महिनादेखि गाडी नै चढिरहेकी छु,’ झाँक्रीले भनिन्, ‘तर म स्कुटर चढ्ने मान्छलाई ढलको बिर्कोले जहिल्यै दु:ख दियो। म पटकपटक लडेँ। यो देशका इञ्जिनियरले ढलको बिर्को मिलाउने दिन कहिले आउला भन्ने मेरो व्यावसायिक चुनौती हो।’ उनको यो भनाईका कारण उनी केही समय चर्चामा रहिन्। झाँक्रीले पनि आइतवारै पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिएकी छिन्। भावुक हुँदै उनले पटकपटक आँशुसमेत पुछेर मन्त्रालयबाट बिदा हुँदा भाइरल घरबारे व्यङ्ग्य गर्न भ्याइन्। झाँक्रीले आफूलाई कर्मचारीले मायाको चिनो दिँदा पनि गाह्रो भएको उल्लेख गर्दै सोसल मिडियामा ठूलो घरको चर्चा भएको भन्दै व्यङ्ग्य कसिन्। 'त्यो अस्ति सोसल मिडियामा ठुलो घर आएको थियो त्यो पहिला पुरा गरिदिउ न,' उनले भनिन्। झाँक्रीको भनिएको उक्त घर यो घर भारतदेखि केन्या, उज्बेकिस्तान, मोरक्को, इरानबाट सञ्चालित वेबसाइटहरुमा राखिएको भेटिएको थियो।

यता समाजादीका अर्का मन्त्री विरोध खतिवडा खोप बेपत्ता भएको घटनामा चर्चामा रहे। माघको पहिलो हप्ता विभिन्न दातृ निकायबाट प्राप्त २५ लाख खोप बेपत्ता भएको स्वास्थ्य मन्त्रालयले नै जनाएको थियो। यसको जवाफ स्वास्थ्य मन्त्रीले दिन सकेनन्।

श्रममन्त्री किसान श्रेष्ठ भने बेलाबेला छड्केमा निस्कने र भिजिट भिसामा कामदार नपठाउने निर्णयका कारण चर्चामा रहे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell