भारतको उदयपुरमा एक व्यक्तिको हत्या पछि राजस्थानभर प्रहरीलाई ‘अलर्ट’ मा रहन भनिएको छ। यस्तै, धार्मिक सद्भाव कायम राख्न अपील गर्दै भारतभर सुरक्षा सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिइएको छ।
पैगम्बर महोम्मदको विरुद्धमा अभिव्यक्ति दिएकी नुपूर शर्माको समर्थन गरेको भन्दै मंगलवार कन्हैयालाल तेलीको हत्या गरिएको हो। सो घटनापछि थाना इलाकामा कर्फ्यू लगाइएको छ भने हिंसात्मक झडप रोक्न प्रहरी परिचालन गरिएको छ। केही क्षेत्रमा इन्टरनेटसमेत बन्द गरिएको छ।
हत्यामा संलग्न भएको अभियोगमा गौस मोहम्मद र रियाज जब्बारलाई प्रहरीले पक्राउ गरेको छ। यस घटना अन्तर्राष्ट्रिय ‘लिंक’ छ कि छैन भनेर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। स्थानीय मिडियाले तालिबानी तरिकाले कन्हैयालालको हत्या भएको उल्लेख गरेका छन्।
दर्जी काम गर्दै आएका कन्हैयालालको बर्बर तरिकाले हत्या गरिएपछि स्थानीयले विरोध प्रदर्शन पनि गरेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो।
करिब १०-१५ दिन अघि कन्हैयालालले सामाजिक संजालमा गरेको एक पोस्टका कारण नै यो हत्या भएको बताइन्छ। त्यसबेला प्रहरीले कन्हैयालाललाई पक्राउ पनि गरेको थियो। पछि स्थानीयको सहमतिमा उनलाई छाडिएको थियो। हत्या गर्नेहरुले कन्हैयालाललाई सामाजिक संजालबाट नै हत्या गर्ने धम्की समेत दिएका थिए। हत्या गर्नेहरुको घटनाको भिडियो बनाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की समेत दिएका थिए। भिडियोमा उनीहरुले कन्हैयालालको हत्यालाई पैगम्बर मोहम्मदमाथि शर्माको विवादित टिप्पणीको बदला लिएको बताएका थिए।
सो घटनापछि हिन्दु संगठनहरुले शहरभर विरोध प्रदर्शन गरेका थिए। साथै बजार बन्द गराउँदै अनिश्चितकालीन बन्दको घोषणा गरेका थिए। उनीहरुको प्रदर्शनलाई लक्षित गर्दै राजस्थानभर प्रहरीलाई ‘अलर्ट’मा रहन भनिएको छ। प्रहरीले हत्याको भिडियो प्रशारण नगर्न मिडियालाई आग्रह गरेको छ।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले हत्याकाण्डपछि सबै पक्षलाई शान्ति कायम राख्न आग्रह गरेका छन्।