PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौंमा बढ्दो रोहिंग्याको संख्याले सुरक्षामा चुनौती, सरकार भन्छ : शरणार्थी होइनन् अवैध आप्रवासी, नियन्त्रण गर्छौं



विधुर ढकाल

काठमाडौंमा बढ्दो रोहिंग्याको संख्याले सुरक्षामा चुनौती, सरकार भन्छ : शरणार्थी होइनन् अवैध आप्रवासी, नियन्त्रण गर्छौं

काठमाडौं : काठमाडौंमा रहेका रोहिंग्या समुदायहरुले केही सातादेखि नै प्रदर्शन गरिरहेका छन्। गत साता राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयुक्तको कार्यालय (युएनएचसीआर)मा धर्ना दिएका रोहिंग्या समुदायले सोमवार ललितपुरस्थित राष्ट्र संघ नेपाल कार्यालय बाहिर धर्ना दिए। 

गत साता युएनएचसीआर कार्यालयमा भएको धर्नामा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई तितरवितर पारेको थियो। त्यसक्रममा केही रोहिंग्या घाइतेसमेत भएका थिए।

म्यानमारमा सैनिक हस्तक्षेपपछि त्यहाँका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायका नागरिकहरु छिमेकी बंगलादेशमा प्रवेश गरेर शरणार्थीको रुपमा बस्दै आएका छन्। केही अवैध रुपमा भारतीय भूमि हुँदै खुला सिमानाको फाइदा लिँदै नेपाल प्रवेश गरेका हुन्। रोहिंग्याहरुले राजधानीको कपनलाई आफ्नो 'सेल्टर' बनाउँदै आएका छन्। पछिल्लो समय नेपालमा रोहिंग्याको संख्या बढ्दै गइरहेको छ। ठूलो संख्यामा रहेको उक्त समुदायले विभिन्न माग राख्दै समयसमयमा प्रदर्शन गर्दै आइरहेका छन्।

अहिले उनीहरुले मानवअधिकार घोषणा अनुरुप अधिकार प्रदान गर्नुपर्ने, युएनएचसीआरले ग्यारेन्टी गरे अनुरुप बालबालिकाको शिक्षाको ग्यारेन्टी, मानवअधिकार घोषणा अनुरुप कानुनी श्रम स्वीकृती प्रदान गर्नुपर्ने, असमान नीतिमा परिवर्तन, श्रम स्वीकृत नदिँदासम्म मासिक रुपमा भत्ता प्रदान गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्। आफूलाई अर्वान रिफ्युजी (शहरी शरणार्थी) भनेर चिनाउने यो समुदायले भिसा शूल्क मिनाहासहित शरणार्थीको मान्यता दिन माग गरेको छ।

रोहिंग्याहरु बालबालिकासहित नै प्रदर्शनमा उत्रिँदा परराष्ट्र मन्त्रालयले भने उनीहरुको आन्दोलनलाई शरणार्थी समस्या भन्दा पनि नेपालको शान्ति सुरक्षासँग जोडिएको प्रतिक्रिया दिएको छ। आइतवार मन्त्रालयमा आयोजित पत्राकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले 'रोहिंग्या समुदाय'लाई नेपालले शरणार्थीको मान्यता नदिएको स्पष्ट पारिन्।

'नेपालमा भुटानी र तिब्बती शरणार्थीहरु छन्। नेपालले उनीहरुलाई मात्र चिन्छ,' उनले भनिन्, 'उनीहरु (रोहिंग्या) शरणार्थी होइनन्। अवैध आप्रवासी हुन्। यो शान्ति सुरक्षासँग जोडिएको विषय हो। यसलाई गृहले नियन्त्रण गर्छ।'

'शहरी शरणार्थी'को रुपमा रोहिंग्यासहित अवैध रुपमा नेपाल प्रवेश गरेका अफगानी नागरिकहरुसमेत जोडिएका छन्। रोहिंग्यासँगै अफगानी शरणार्थीहरुले पनि निरन्तर रुपमा प्रदर्शन गरिरहेका छन्।

यता, गृह मन्त्रालयले भने प्रहरीलाई 'अवधै आप्रवासी'हरुका गतिविधि नियन्त्रण गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अवैध रुपमा नेपाल प्रवेश गर्ने कुनै पनि समुदायलाई नियन्त्रण गर्न निर्देशन दिएको जानकारी दिए। 

'हामीले सीमा क्षेत्रमै त्यस्ता व्यक्तिलाई प्रवेश नदिन निर्देशन दिएका छौं। उनीहरुलाई सीमा क्षेत्रमै प्रवेशमा रोक लगाउन भनेका छौं,' उनले भने, 'अहिले युनएनएचसीआरको कार्यालय लगायतका ठाउँमा प्रदर्शन गर्दै आएको भन्ने जानकारी पाएका छौं। उनीहरुका गतिविधि नियन्त्रण गर्न प्रहरी प्रशासनलाई भनेका छौं।'

अवैध रुपमा प्रवेश गरेका उनीहरुलाई फिर्ता पठाउने विषयमा भने हाललाई कुनै योजना नभएको उनले बताए।

पढ्नुस : संयुक्त राष्ट्रसंघ भवन बाहिर रोहिंग्याको प्रदर्शन, 'शरणार्थी तिमीहरुको शत्रु होइन'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell