PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जग्गा भाडा प्रकरणबारे निवर्तमान प्रमुख जिसीको स्पष्टोक्ति : कानुन र विधि अनुसार नै भाडामा लगाइएको हो



पहिलोपोस्ट

जग्गा भाडा प्रकरणबारे निवर्तमान प्रमुख जिसीको स्पष्टोक्ति : कानुन र विधि अनुसार नै भाडामा लगाइएको हो

पोखरा : पोखरा महानगरपालिकाका निवर्तमान प्रमुख तथा पोखरा उपत्यका नगर विकास समितिका निर्वतमान अध्यक्ष मानबहादुर जिसीले समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

जिसीले बुधवार एक विज्ञप्ति निकाल्दै पोखरा उपत्यका नगर विकास समितिको स्वामित्व आज मात्र पाएको राष्ट्र बैंक चोकस्थित पर्यटकीय बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’ मिलाएर भाडामा दिइएको भन्ने आरोप निराधार भएको बताएका हुन्। उनले यस्ता भ्रममा नपर्नमा आग्रह समेत गरेका छन्।

‘पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम, कानुन र विधि अनुसार नै जग्गा भाडामा लगाइएको हो,’ विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा विगतमा र अहिले कति जग्गा भाडामा लगाइएको छ अध्ययन गर्न पनि आग्रह जिसीले गरेका छन्।

‘विगतमा तोक आदेशमा सम्झौता गरेर भाडामा दिइएका समितिको स्वामित्वमा रहेका विभिन्न ठाउँका जग्गा र यी तीन वटा जग्गाको भाडा पनि विगतमा कति थियो र अहिले कतिमा भाडामा लगाइएको हो? सोको अध्ययन गरेर सत्य बाहिर ल्याउन सञ्चार माध्यमलाई विनम्रता पूर्वक आग्रह गर्दछु,’ विज्ञप्तिमा छ।

जिसीले संस्थालाई हानी हुने र व्यक्तिलाई लाभ पुग्ने गरी पूर्वाग्रही भएर जग्गा भाडामा लगाउने मनसाय नराखिएको दाबी गरेका छन्। यसबारे सुक्ष्म ढंगले छानबिन गरी कानुनी रुपमा त्रुटी देखिए तत्काल खारेज गर्ने अधिकार वर्तमान नेतृत्वलाई रहेकाले यसबारे सहयोग समेत गर्ने बताएका छन्।

पोखरा महानगरको प्रमुख र समितिको अध्यक्ष हुँदा पोखरा र पोखरेली जनताको अहित हुने गरी कुनै निर्णय र काम नगरेको बताउँदै ‘यो अवधिमा भएका कामको पोखरेली जनताले मूल्यांकन गरेको र अब पनि गर्ने’ जिसीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

सम्बन्धित समाचार : 

जाँदाजाँदै पर्यटक बसपार्क र जग्गा सुटुक्क ठेक्कामा लगाए जिसीले, नियमित नरहेको पत्रिकामा निकालियो सूचना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell