PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

'पार्टीमा अन्तर्घात बढी नै भयो, कारबाही नगरे यो पार्टी जस्तो रहन्न'



पहिलोपोस्ट

'पार्टीमा अन्तर्घात बढी नै भयो, कारबाही नगरे यो पार्टी जस्तो रहन्न'

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित हस्तक्षेप गरेर आफूहरुले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई फेल गराएको दाबाी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले एमसीसीबारे पार्टीमा प्रदेश र प्रतिनिधिसभाको चुनाव पछिविशेष महाधिवेशनमा मात्रै छलफल गरिने समेत बताए।

एसपीपीको प्रसंगमा तत्कालीन नेकपाको बेलाको घटना स्मरण गर्दै उनले भने, ‘नेकपाको तत्कालीन सचिवालय बैठकको अन्तिममा यो कुरा उठ्यो। त्यतिबेला स्थायी कमिटीलाई ढाँटियो एसपीपीबारे। त्यतिबेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए। एमसीसीको परिमार्जनका लागि धेरै प्रयास गरियो। एमालेसँग केही गर्न सकिन्छ भने गरौं भनेर भन्यौं। डुब्नै लागेका बेला छेस्कोको साहरा भने झैं लागेको हामीले १२ बुँदे घोषणा गर्‍यौं। संशोधन र परिमार्जनका लागि एमालेसँग साहरा खोजियो तर कही पनि सिप लागेन।’

स्थानीय तहको चुनावमा आफूहरुले १७० सिट जित्ने आँकलन गरेको भन्दै उनले पार्टीमा विचारको हिसाबले विचलन छ भन्ने अन्तर्घातले पनि देखाउने बताए।

‘सिरहा, सप्तरी, बर्दियामा पनि अन्तर्घात भढी नै भयो, तराईंमा धेरै नै समस्या देखियो। यसलाई हामीले छिटोभन्दा छिटो छानविन गर्नै पर्छ र दोषी प्रमाणित भए कारबाही त गर्नै पर्छ। नभए यो पार्टी जस्तो रहन्न। १५ दिनमा गम्भीर घटना भएका जिल्ला बुझेर कमिटीले रिपोर्ट बुझाउनै पर्ने छ,’ उनले भने, ‘अन्तर्घातको विषय पूर्व न्यायाधीशबाट छानबिन गराउने कि भनेका थियौं तर अनुशासन आयोगबाटै गरौं भन्नुभएको छ। टंक राई हुनुहुन्छ।’

पढ्नुस : हामी दिन प्रतिदिन विसंगत हुँदै जाने खतरा देखियो : प्रचण्ड

अध्यक्ष प्रचण्डले मन्त्रीहरुले गरेका राम्रा कामको सूची एक हप्ताभित्र दिनुपर्ने बताए। कमिकमजोरी भएको भए त्यो पनि उल्लेख गर्नुपर्ने उनको भनाइ थियो।

नकारात्मक कुरा मात्र गर्ने नभई सकारात्मक कुरालाई पनि सबै जनताका बिचमा लैजानु पर्ने उनले बताए। एउटै खालको प्रवृत्ति भएका मान्छेहरु चाहिने भन्दै उनले आफू ठिक र अरु बेठिक भन्न नहुने बताए।

परिवारका सदस्यलाई केन्द्रीय सदस्यमा ल्याउँदा आलोचना गर्नेहरुलाई उनले भने, ‘आफ्नी छोरीलाई केन्द्रीय सदस्य बनाएको भन्ने पनि आएको छ। क्षमतावान छन्। जनयुद्ध गर्ने नम्बरी सुन र त्यसबाट नआएका पित्तल भन्ने सही हुन्न। जयुद्धबाट आएकाबाट प्रताडित भयौँ भन्ने पनि देखेका छौँ।’

जनयुद्धबाट आएकाहरु नेकपा एमालेमा प्रवेश गर्ने ४१ जना पुगेको प्रचण्डले सुनाए। भने, ‘जनयुद्धको केपी ओलीले विरोध गर्दा सुनेर बसेका छन्। जनयुद्ध गर्दैमा सधैं क्रान्तिकारी भइदैँन। मुख्यकुरा विचारको राजनीति हो।’

आगामी चुनावपछि माओवादी धारका सबै एक ठाउँमा आउने वातावरण बन्दै गएको उनले उल्लेख गरे। त्यसमा अन्य कम्युनिस्टलाई पनि समेट्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

‘आफूसँग जो-जो मिल्छ त्योसँग त मिलेकै छौँ। अपमान गर्ने म ठिक भन्नेबाट मुक्त हुनै पर्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell