PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

गठबन्धनले कांग्रेसले बढी सिट जितेको शेखरको स्वीकारोक्तिः तालमेल नगरौँ भन्ने नेतालाई देउवाको जवाफ, 'एक्लै जितेर देखाउनुस्!'



नेत्र तामाङ

गठबन्धनले कांग्रेसले बढी सिट जितेको शेखरको स्वीकारोक्तिः तालमेल नगरौँ भन्ने नेतालाई देउवाको जवाफ, 'एक्लै जितेर देखाउनुस्!'

काठमाडौं: सोमबारबाट नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचन समीक्षाका लागि राखिएको बैठकको सुरुमै उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्ताव र पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरे। त्यसपछि सात प्रदेशका सभापतिहरुले सात - सात मिनेट धारणा राखे। लगत्तै केन्द्रीय सदस्यहरुले पाँच - पाँच मिनेट धारणा राखे।

सोमबारको बैठकमा कांग्रेस नेता डा शेखर कोइराला केन्द्रमा रहे। केन्द्रीय समितिमा सरकार र गठबन्धनबारे गम्भीर समीक्षा गर्ने पूर्वतयारी रहेका कारण शेखर समूहको प्रस्तुति कस्तो रहन्छ भन्ने विषय धेरैले प्रतीक्षा गरिरहेका थिए। डा शेखरले गठबन्धन सरकारको चर्को आलोचना गरे पनि चुनावी तालमेलको भने खासै आलोचना गरेनन्।

देउवा एकलरुपमा अघि बढेको शेखरको आरोप : गठबन्धनमाथि प्रश्न उठाउँदै गरे नीति अधिवेशनको माग, १२ बुँदामा के के भने?

उनले करिब १५ मिनेट समय लिएर १२ बुँदे विषय केन्द्रीय समितिमा राखेका थिए। उनले गठबन्धनका कारण स्थानीय निर्वाचनमा बढी सिट जितेको स्वीकार गरेका छन्। गठबन्धन गर्न नहुने मत राख्दै आएका डा शेखरले गठबन्धनले पार्टीको सिद्धान्त र आदर्श संकटमा परेको भन्दै प्रश्न गरे।

'हामी स्थानीय तहको निर्वाचन पश्चात प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको संघारमा उभिएको छौँ। पछिल्लो केन्द्रीय समिति बैठकको लामो रस्साकस्सी पछि हामी तालमेलमार्फत स्थानीय तहको निर्वाचनमा गयौँ,' शेखरले भने, 'तालमेलका कारण केही बढी सिट त जित्यौँ तर पार्टीको आदर्श र सिद्धान्तलाई कहाँ पुर्‍याउन खोज्दै छौँ?'

गठबन्धनका कारण महिला सहभागिता खुम्चिएको र अरु पार्टीलाई फाइदा पुगेको उनको भनाई रह्यो। 'तालमेलका नाममा स्थानीय तहमा महिला सहभागितालाई खुम्च्याउने काम भयो। त्यो पनि बिचार गर्न जरुरी छ। तालमेलले कांग्रेस पार्टीलाई भन्दा अन्य पार्टीलाई बढी लाभ भयो,' डा शेखरले भने, 'तालमेलमा जानु पूर्व सिंगो कांग्रेसलाई एक ढिक्का बनाईनुपर्थ्यो। क्रियाशीलता, लोकप्रियता तथा वरिष्ठताको मापदण्ड बनाएर भूगोल, जनसंख्या तथा जातीय सन्तुलनका आधारमा न्यायोचित ढंगले टिकट बितरण गरिनुपर्थ्यो तर कतिपय स्थानमा त्यो हुन सकेन।'

कोइरालापछि गुरु बरालले स्थानीय तहको निर्वचन प्रभावकारी नभएको उल्लेख गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने भनाई राखे। देउवा टिमबाट केन्द्रीय सदस्यमा निर्वाचित बरालले भने, ‘हामी एक्लै चुनाव लड्नै सक्दैनौँ, जित्नै सक्दैनौँ भन्ने सन्देश गएको छ,’ बैठकमा बरालले भनेका थिए, ‘गठबन्धनका अन्य दलको हैसियत नै नभएको ठाउँमा पनि मुख्य पद नै उनीहरूलाई छोड्नुपर्दा हाम्रो संगठन कमजोर बनिरहेको छ। हामीले एक्लै चुनाव जित्ने हैसियत बनाउनुपर्छ।’

कोइरालाको भनाईमा कुनै प्रतिक्रिया नदिएका देउवाले बराललाई भने तुरुन्तै जवाफ फर्काए। ‘ठिक छ, नगरौँ। गठबन्धनबिनै एक्लै जितेर देखाउनुस्,’ बराललाई देउवाले तुरुन्तै जवाफ फर्काए।

गठबन्धनबारे मिश्रित प्रतिक्रिया

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले यसअघि स्थानीय निर्वाचनमा गठबन्धन गरेर गए पार्टी कांग्रेस आइको हालतमा पुग्ने बताएका थिए। गठबन्धन गर्दा त कांग्रेसले राम्रै सिट जित्यो नि? सञ्चारकर्मीले प्रश्न खस्नसाथ पुनले भने, ‘हामीले प्रदेशका ४० स्थानीय तहमा गठबन्धन गर्‍यौं। तर १६ तहमा मात्रै जित्यौँ। बरु ६९ पालिकामा एक्लै लड्दा ३२ पालिका जित्यौँ,’ उनले भने।

लुम्बिनीमा गठबन्धन नफापेको उनको भनाई थियो। 'माओवादीले गठबन्धन गर्नै चाहेन। लुम्बिनीमा कांग्रेसका लागि एकल प्रतिस्पर्धा नै राम्रो भयो,' पुनले भने।

प्रदेश १ का सभापति उद्दव थापाले भने गठबन्धनकै कारण कांग्रेस प्रदेश १ मा नम्बर एक भएको दाबी गरे। 'एक नम्बरमा एक नम्बर नै बनेको छ। कारण गठबन्धन नै हो,' उनले भने।

पहाडी क्षेत्रमा गठबन्धन बलियो भए पनि मधेश बेल्टमा भने कमजोर भएको उनले स्वीकारे। '१ नम्बर प्रदेशमा पहाडी जिल्लामा गठबन्धन सहमतिका आधारमा बन्यो। पहाडमा गठबन्धन बलियो भयो। मधेसमा हुन सकेन। मोरङमा झन फितलो भयो। हाम्रै साथीहरू गठबन्धनको विपक्षमा रहनुभयो। महानगरको कार्यपालिका चुनावमा त्यसको झल्को देखियो। गठबन्धन व्यवस्थित बनाउन सकेनौं।'

गण्डकीका सभापति शुक्रराज शर्माले गठबन्धन कार्यान्वयन नभएको धारणा राखे। नेकपा एकीकृत समाजवादीको जनमत नै नभएको ठाउँमा दाबी गरेकोले कांग्रेस कमजोर बनेको बताए।

'गठबन्धन कार्यान्वयन भएन। होमवर्क नगरी गठबन्धन भयो। केही जिल्लाका सभापतिले गठबन्धनले सहयोग गरेन। हैसियतको कुरा पनि रह्यो,' शर्माले भने, 'नेकपा एसको जनमत थिएन। एमालेले जितेको ठाउँमा दाबी गरे। माओवादीले भसोरा खोज्यो विश्वास गरेन। सहज भएको ठाउँमा एमालेलाई पनि भोट हाल्यो।'

बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धनका कारण प्रतिस्पर्धीलाई उछिनेर पहिलो भएको तर्क गरे। 'अहिलेका हाम्रा संभावना पनि विचार गरौं र २०७४ का पराजय पनि नबिर्सौं। कांग्रेस अहिले अनुकूल अवस्थामा छ,' पौडेलले भने, 'स्थानीय निर्वाचनको परिणाममा कांग्रेसले प्रतिस्पर्धीलाई धेरै उछिनेर पहिलो भएको छ। यो अनुकूलता विवेकपूर्ण रणनीतिले मात्र बचाईराख्न सक्छ।' 

उनले गठबन्धन क्षणिक राजनीतिक लाभ निकाल्ने गणितीय समीकरणको आधारमा मात्र हुनु नहुने उल्लेख गर्दै एजेन्डाका आधारमा पनि हुनुपर्ने विचार प्रस्तुत गरे। 'गणितीय स्वार्थको लागि मात्रै गठबन्धन गरिएको हो भन्ने सन्देश आम मतदातामा गएमा त्यसले आम नागरिकलाई आकर्षित गर्ने छैन। त्यसैले गठबन्धन गर्दाको अवस्थामा निश्चित मुद्दा तथा उद्देश्य, साझा नीति तथा कार्यक्रम अनि एजेण्डाका आधारमा गरिनुपर्छ, ताकि यो गठबन्धन सार्थक परिणामको लागि भएको हो भनेर आम मतदाताले सजिलै विश्वास गर्न सकुन्,' पौडेलले भने।

बैठक अझै केही दिन चल्ने र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कस्तो खालको तालमेल गर्ने भन्ने विषयमा निचोडमा पुग्ने पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बताए। 'केन्द्रीय समिति आजबाट शुरु भयो। केही दिन चल्छ,' डा महतले भने, 'स्थानीय निर्वाचनको समीक्षाको आधारमा गठबन्धनलाई कसरी लाने भन्ने निर्णय हुन्छ। पार्टी आगामी निर्वाचनमा केन्द्रीकृत हुन्छ।'

सोमवारको बैठकमा केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, दिनेश कोइराला र आमन्त्रित प्रदेश सभापतिहरुले धारणा राखेका थिए। केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने गरी स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell