PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

‘घरभेटी ठेकेदार’ले अलपत्र छाडेको सडकमा कुर्सी टेबल राखेर वडा चलाउँदैछन् चाँगुनारायणका यी वडा अध्यक्ष



लक्ष्मी बलायर

‘घरभेटी ठेकेदार’ले अलपत्र छाडेको सडकमा कुर्सी टेबल राखेर वडा चलाउँदैछन् चाँगुनारायणका यी वडा अध्यक्ष
तस्विर : रासस

काठमाडौं : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का स्थानीय अहिले काम पर्‍यो भने वडा कार्यालय जाँदैनन्। उनीहरु वडा कार्यालय भन्दा बाहिरको सडकमा पुग्छन्। सडकमै टेबल र कुर्सी राखेर बसेका वडा अध्यक्षलाई फाइल पेस गर्छन्। वडा अध्यक्ष धनबहादुर लामा पालैपालो सेवागाह्रीको फाइल हेर्छन्।

केहीदिनदेखि लामाले आफ्नो कार्यालय सडकमा सारेका हुन्। तर, वडा भवनमा कोठा अपुग भएर होइन। आफ्नो वडा हुँदै जाने सडक निर्माण गर्न दबाब दिने हेतुले उनले साङ्केतिक विरोध सुरु गरेका हुन्।

‘भक्तपुर नगरकोट सडकखण्ड तत्काल निर्माण गर’ लेखिएको ब्यानर टेबलमा टाँगेर सडकबाटै वडा सञ्चालन गरिरहेका लामाको एउटै माग छ : सडक निर्माण हुनुपर्‍यो।

++

भक्तपुरको कमलविनायकबाट नगरकोट जोड्ने सडक निर्माणको काम सुरु भएको ८ वर्षभन्दा बढी भइसक्यो। सन् २०१४ जुन महिनामा सम्झौता भएर सुरु भएको यो सडकको काम २०१६ जुनमा सकाउने लक्ष्य थियो। तर, पटक-पटक म्याद थपिसक्दासमेत यो सडकको निर्माण कार्य सम्पन्न भएको छैन। सैलुङ कन्स्ट्रक्सनले दुई वर्षमै सडक निर्माण गरिसक्ने सम्झौता गरेको थियो। तर, स्थानीय अझै धुलोधुँवा र हिलोमा बस्न बाध्य छन्।

सडक निर्माण नहुँदा स्थानीयले पटकपटक आन्दोलन गरे। तर, सडक बनाउनेतर्फ कसैको ध्यान गएन। २०७३ सालमा गाडी र सडकका पोलहरुमा सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदा प्रसाद अधिकारीको तस्विर समेत झुण्डाइयो। बाँदर र कुकुरको तस्विर जोडेर ‘घरभेटी नगरकोटको बाटो कालोपत्रे गर’सम्मको लेखियो।

शारदा अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरभेटी हुन्। उनको कम्पनीले बनाउन ठेक्का पाएको सडक नबनेको भन्दै बारम्बार प्रश्न उठ्दै आएको छ। तर, राजनीतिक संरक्षणका आडमा सडक नबन्दा पनि ठेक्काको मिति बढ्दै गएको छ। प्रश्न उठेपछि सडक बनाएको जस्तो गर्न केही दिन रातारात कालोपत्र गरियो। त्यसपछि फेरि सडक निर्माण अलपत्र भयो।

चुनाव आउँदा नेताहरुले यो सडकको मुद्दालाई मुख्य एजेन्डा बनाउँदै आएका छन्। वाग्मती प्रदेशको उपनिर्वाचन र स्थानीय निर्वाचनमा समेत सडकको मुद्दा प्राथमिकतामा परेको थियो। तर, मनसुनको समयमा सडकमा यात्रा गर्न कठिन हुँदा पनि कसैले सडक व्यवस्थापनमा ध्यान दिएनन्।

सडकको यही दुरावस्था देखेरै सडकमा आउनु परेको बताउँछन् लामा। स्थानीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा अध्यक्ष बनेका उनी साङ्केतिक विरोध स्वरुप आफूले यो अभियान सुरु गरेको बताउँछन्। यसरी सम्बन्धित निकायको ध्यानकर्षण गराउन सक्ने उनको बुझाइ छ।

उनले भने, ‘आठ वर्ष बितेर ९ वर्ष लागिसक्यो। तर, अझै यो सडक बन्न सकेन। सम्बन्धित निकायलाई झक्झकाउनको लागि यो विरोध प्रदर्शन गरेका हौँ। यो मेरो सानो प्रयास हो। केही हुन्छ भन्ने आशावादी छौँ।’

सडक नबन्दा पटक-पटक सरकारसँगै सरोकारवाला निकायकहाँ पुगेको बताउँछन् उनी। तर, केही उभो लागेन। अनि जनप्रतिनिधि बनेपछि पनि आन्दोलन जारी नै राख्नुपरेको उनले बताए।

‘१६ किलोमिटर सडक बन्नुपर्ने। केही बन्यो, केही बन्न बाँकी नै छ। बनेको पनि भत्किसक्यो। घाम लाग्दा धुलो उडेर खत्तम छ। पानी पर्दा सडकमै खोला बग्छ। जसले स्थानीय बासिन्दालाई आवतजावत गर्न निकै गाह्रो छ। साथै यसले नगरकोटको पर्यटनमा पनि क्षति पुर्‍याएको छ। सडक समयमै बनोस् भनेर हामी सडकमा बस्न बाध्य भएका हौँ,’ लामाले भने।

विगतका जनप्रतिनिधिहरूले पनि सडक बनाउन पहल नगरेका होइनन्। उनीहरूकै निरन्तर पहललाई साथ दिएर आफूले ‘इँटामाथि अर्को इँटा थप्ने काम गरेको’ लामाको भनाइ छ।

‘यो सिँगो नगरकोटबासीको समस्या हो। कुनै पार्टी र दलविशेषको मात्र समस्याको विषय होइन। मैले प्रतिनिधिको तर्फबाट प्रतिनिधित्व मात्रै गरेको हुँ। त्यसैले सबै दल र स्थानीयवासीको पूर्ण समर्थन छ। अहिले १० मिनेट समस्या भोगेर साँच्चिकै वर्षोदेखिको समस्या समाधान हुन्छ भने उहाँहरू समस्या झेल्न तयार हुनुहुन्छ,’ उनले भने।

सम्बन्धित निकायहरूले सडक निर्माण गर्ने प्रतिबद्धता नगरेसम्म विरोध प्रदर्शन जारी राख्ने सुनाउँछन् वडा अध्यक्ष लामा। सडकबाटै वडा चलाइरहेका उनी आउने दिनमा अन्य दबाबपूर्ण प्रदर्शन गर्ने योजना रहेको बताउँछन्।

‘नेपाल सरकार वा कुनै निकायले ग्यारेन्टी दिएपछि मात्रै हामी विरोध गर्न छोड्छौँ। नत्र अन्य विभिन्न दबाबपूर्ण कार्यक्रमहरू पनि गर्ने योजना छ। कि सरकारले छिटो बाटो बनाइदिनुपर्‍यो हैन भने ठेक्का रद्द गर्नुपर्‍यो,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell