काठमाडौं: नेपाली कांग्रेसले १२१ तहको मर्यादाक्रमको मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत गरेको छ। मंगलबारको केन्द्रीय समितिमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धि मस्यौदा छलफलका लागि प्रस्तुत गरेका हुन्।
पार्टी विधानले व्यवस्था गरेको तहगत संरचनाको आधारमा गरिएको भनिएको प्रस्तावित मस्यौदामा सबैभन्दा पहिलो केन्द्रीय सभापति र त्यसपछिको मर्यादाक्रम पूर्वसभापतिलाई दिइएको छ। त्यसपछि क्रमश: प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र संसदीय दलका नेतालाई राखिएको छ। अहिले यी पाँचै पद धारणा गरेका व्यक्ति शेरबहादुर देउवामात्र हुन्।
त्यसपछि छैटौं नम्बरमा केन्द्रीय पदाधिकारीका लागि मार्यदाक्रम प्रस्तुत गरिएको छ। सातौं नम्बरमा संसदीय दलका पूर्व नेता, आठौं नम्बरमा पूर्व केन्द्रीय पदाधिकारी राखिएको छ। केन्द्रीय सदस्यलाई ९ औं नम्बरमा राखिएको छ।
रामचन्द्र पौडेलको मर्यादाक्रम कति?
नेपाली कांग्रेसले सभापति देउवापछि वरिष्ठ नेताको रुपमा रामचन्द्र पौडेललाई दोस्रो मर्यादाक्रममा राख्दै आएको छ। कांग्रेसको वेबसाइटमा पनि देउवापछि पौडेललाई क्रमश राखिएको छ।
यद्यपि प्रस्तावित मस्यौदामा 'वरिष्ठ नेता' को मर्यादाक्रम कतै राखिएको छैन।
१४ औं महाधिवेशनमा सभापतिका प्रत्यासीका रुपमा हेरिएका पौडेलले मैदान छाडेका थिए। त्यसपछि पौडेललाई देउवाले पुस १७ गते केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।
नेताको कुनै मर्यादाक्रम नभएकाले उनलाई अहिले ९ औं नम्बरमा राखेको भन्दै उनी पक्षका नेताकार्यकर्ताले विरोध गर्न थालेका छन्।
'प्रस्वतावित मस्यौदा पारित भएमा वरिष्ठ नेता कांग्रेस विधानमा नभएको बहस चलाएर एकपटक कांग्रेसमा फेरि अपमानको राजनीती सुरुवात गराउन खोजिँदै छ,' कांग्रेसका एक नेताले भनेका छन्।
मर्यादाक्रमको मस्यौदामा पौडेलले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।
शेखरको स्थान कता?
केन्द्रीय सभापतिका प्रतिस्पर्धी डा शेखर कोइराला विधानत: केन्द्रीय सदस्य बनेका छन्। सभापतिसँग प्रतिस्पर्धा गरेका कारण मर्यादाक्रममा कोइरालालाई दोस्रो नम्बरमा राख्नुपर्ने माग पनि उठिरहेको छ।
उनले प्रेस विज्ञप्ति जारी गर्दा बेलाबेला आफूलाई वरिष्ठ नेता भन्दै आएका छन्। तर नेपाली कांग्रेसको वेबसाइटमा शेखरको स्थान अहिले २६औं स्थानमा राखिएको छ। महाधिवेशनअघि राप्रपाबाट पार्टीमा समाहित भएका सुनिल थापापछि उनलाई राखिएको छ। प्रस्तावित मर्यादाक्रममा डा शेखर केन्द्रीय सदस्यका रुपमा राखे ९ औं नम्बरमा पर्नेछन्। केन्द्रीय सदस्यको हारमा भने उनको नाम पहिलो नम्बरमा छ।
हाल कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी छन्। त्यसपछि ११ जना पूर्व पदाधिकारी छन्। ११ जना नै पूर्व पधादिकारी सबैजना केन्द्रीय सदस्य छन्। उनीहरुपछि मात्र डा शेखरको नाम वेबसाइटमा राखिएको छ।
प्रदेश सभापतिहरुको विरोध
कांग्रेसले प्रस्ताव गरेको मर्यादाक्रमलाई प्रदेश सभापतिहरुलेसमेत विरोध जनाएका छन्। उनीहरुले आफूहरुको मर्यादाक्रम केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्ने दाबी गरेका हुन्।
सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले प्रदेश सभापतिहरुलाई ११औं स्थानमा राखेर अपमान गरिएको तर्क गरे। गण्डकीका सभापति शुक्रराज शर्माले प्रदेश सभापतिहरुको स्थान केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्ने भन्दै यसो नभएमा आफूहरु विरोधमा उत्रने बताए।