PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सिन्जो आबेको हत्या र होली वाइन खुवाउने ‘युनिफिकेशन चर्च’बिच के सम्बन्ध छ?



विधुर ढकाल

सिन्जो आबेको हत्या र होली वाइन खुवाउने ‘युनिफिकेशन चर्च’बिच के सम्बन्ध छ?
Photo : The Star

जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या भएको  झण्डै दुई साता पुगेको छ। गत जुलाई ८ मा चुनावी अभियानलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेर ढलेका उनलाई अस्पताल भर्ना गरियो तर चिकित्सकहरुले बचाउन सकेनन्।

उनको हत्याको कारण के थियो भन्ने अझै स्पष्ट भइसकेको छैन। तर, पछिल्लो समय उनको हत्याका पछाडि एउटा कारणको रुपमा 'युनिफिकेसन चर्च'को चर्चा भइरहेको छ। 

आबेको हत्यालाई लिएर जापानमा रहेका युनिफिकेसन चर्चका सदस्यहरु माथि ज्यान लिनेसम्मका धम्की आइरहेका छन्। यो धम्की युनिफिकेसन चर्चले अनुयायीबाट लिने दानसँगसमेत जोडिएको छ।

आबेको हत्या पछि युनिफिकेशन चर्चले वक्तव्य जारी गर्दै विश्वभर छरिएका आफ्ना अनुयायीहरु जापानी दूतावासहरुमा पुगेर श्रद्धान्जली व्यक्त गरिरहेको जनाएको थियो। साथै उसले हत्यालाई कायरतापूर्ण अपराधिक कार्य भनेको थियो।

के हो युनिफिकेसन चर्च कनेक्सन?

आबेको हत्यामा संलग्न तेत्सुया यामागामी मानसिक रुपमा विछिप्त रहेको बताइएको छ। उनको मानसिक विछिप्तताको कारण युनिफिकेसन चर्चसँग जोडिएको छ। उनकी आमाले आफ्नो सम्पत्तिको ठूलो हिस्सा युनिफिकेसन चर्चलाई दान दिएकी थिइन्। यही कारणले उनी टाट पल्टिएका थिए। 

जापानी संचार माध्यमका अनुसार अभियुक्तले प्रहरीलाई बयानमा युनिफिकेसन चर्चले आफ्नी आमालाई ठूलो मात्रामा रकम दान गर्न दबाब दिएको बताएका छन्।

उनकी आमाले चर्चलाई करिब सात लाख २० हजार डलर दान गरेको उनका काकालाई उदृत गर्दै समाचारमा भनिएको छ। उनले २० वर्ष देखि यनिफिकेसन चर्च प्रतिको रिस साँधेर राखेको बताइएको छ। 

उनकी आमा सन् १९९८ मा युनिफिकेसन चर्चको सदस्य भएकी थिइन्। पछि केही समय उनले चर्च छाडेको र पछि पुन: जोडिएको चर्चका जापानी शाखाका संचालक तोमिहिरो तानकाले बताएका छन्। सो चर्चले अभियुक्त यामागामीको चर्चसँगको कुनै ‘कनेक्सन’ भने नभएको दाबी गरेको छ।

जापानी संचार माध्यमहरुले गत साता मात्र गोलीका दागहरु नारामा रहेको युनिफिकेसन चर्चको अघिल्लो भागमा फेला परेको उल्लेख गरेका छन्। अभियुक्तले आबेलाई गोली हान्नु पूर्व बन्दुकको परीक्षण चर्चमा गरेको जापानी टेलिभिजन फुजी न्युजलाई उदृत गर्दै वासिङटन पोस्टको रिपोर्टमा उल्लेख छ।

युनिफिकेसन चर्चले जापानका केही धार्मिक केन्द्रहरुमा आफ्नो नियन्त्रण राख्दै आएको छ। जसमध्ये एक नारामा पनि छ। जुन आबेको हत्या भएको स्थानबाट केही सय यार्डको दूरीमा रहेको छ।

युनिफिकेसन चर्चसँग आबेको सम्बन्ध के?

युनिफिकेसन चर्चले विश्वका 'कन्जरभेटिभ' नेताहरुसँग सम्बन्ध स्थापित गर्दै आएको छ।  जसमध्ये एक हुन् आबे। त्यस्तै यो चर्चले अमेरिकी राष्ट्रपतिहरु रिचर्ड निक्सन, रोनाल्ड रेगन, जर्ज एच डब्लु बुस देखि डोनाल्ड ट्रम्पसम्म सम्बन्ध स्थापित गरेको छ।

यो चर्चले संस्थापक मुन सन मियुङले उत्तर कोरियाका संस्थापक तथा हालका शासक किम जोङ उनका हजुरबा किम इल सङसँग पनि सम्बन्ध स्थापति गरेका थिए।

मुनले आफ्नो आत्मकथामा किमलाई आणविक महत्त्वकांक्षा त्याग्न भनेको र किमले आफ्नो आणविक कार्यक्रम शान्तिका लागि भएको र देशबासीलाई मार्न नभएको बताएको उल्लेख गरेका छन्।

चर्चले विश्वभर धार्मिक अभियानसँगै आफ्नो व्यापार र परोपकारी गतिविधि चलाएको थियो। चर्चका संस्थापक विवादित व्यक्ति पनि हुन्। सन् १९८२ मा उनी कर छलीको आरोपमा न्यूयोर्कको जेलमा पनि परेका थिए। उनको मृत्यु २०१२ मा भइसकेको छ। अहिले चर्चको नेतृत्व उनकी श्रीमती हाक जा हानले गरिरहेकी छन्।

गत सेप्टेम्वरमा आबेले चर्चको एक कार्यक्रममा प्रवचन दिएका थिए। त्यस कार्यक्रममा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागि भएका थिए।

कार्यक्रममा सम्बोधनका क्रममा आबेले भनेका थिए, 'विश्वका विवादहरू समाधान गर्न, विशेष गरि कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पुनर्मिलनको सम्बन्धमा तपाईं (हाक जा हान मुन) को अथक प्रयासको लागि मेरो गहिरो धन्यवाद।' 

आबे सुरक्षा र इतिहासका विषयमा 'पुरातन रूढीवादी' विचारका लागि चिनिन्छन्। उनलाई ‘निप्पन काइगी’ जस्ता रुढीवादी संगठनहरुले दरो साथ दिँदै आएका छन्।

उनले सेप्टेम्बरमा भएको चर्चको कार्यक्रममा 'संकीर्ण मूल्यमान्यता भएका तथाकथित सामाजिक क्रान्तिकारी आन्दोलनहरूप्रति सचेत बनौं' भनेर भनेका थिए।

उनको यो अभिव्यक्तिलाई लिएर जापानी कम्युनिस्ट पार्टीले उनको आलोचना गरेको थियो। साथै वकिलहरुको समूहले आबेको आलोचना गर्दै चर्चका कारण पीडीतहरुको सहायता गर्ने बताएको थियो। 

उनको हत्यापछि चर्चले आबे आफ्नो संस्थाको सदस्य नभएको तर, आफ्नो शान्ति अभियानमा साथ रहेको स्पष्टीकरण दिएको छ।

त्यति मात्र होइन युनिफिकेसन चर्चको ‘कनेक्सन’ आबेको पार्टीसँगै उनका हजुरबुबासँग पनि छ। जापानका पूर्व प्रधानमन्त्री तथा आबेका मावली हजुरबा नोबुसुके किशीले जापानमा युनिफिकेसन चर्चलाई भित्रिन मद्दत गरेका थिए।

उनले कम्युनिस्टहरु विरुद्ध प्रयोग गर्न युनिफिकेसन चर्चलाई जापानमा भित्राएका थिए। किशीकै जमिनमा युनिफिकेसन चर्चको जापान मुख्यालय बनाइएको छ। अहिले पनि जापानमा युनिफिकेसन चर्च र आबेको पार्टी एलडीपीबिच साझेदारी रहँदै आएको छ।

किशीलाई युनिफिकेशन चर्चसँगको सम्पर्क गराइदिने व्यक्ति थिए रयोइची सासाक्वा। उनी युद्ध अपराधको अभियोग लागेका व्यक्ति हुन्। उनले वर्ल्ड एन्टि-कम्युनिस्ट लिग जस्ता कम्युनिस्ट विरोधी संस्थालाई सहयोग गर्दै आएका थिए।

सासाक्वाले किशीसँग नजिक रहेर अन्य कम्युनिस्ट विरोधी संस्थाहरुसँग सम्बन्ध बढाएका थिए। युनिफिकेशन चर्चले 'फेडेरेसन फर भिक्ट्री ओभर कम्युनिजम' कोरियामा स्थापना गरे। सासाक्वा त्यसको जापान अध्यक्ष बने।

सन् १९७० तिर एलडीपीले युनिफिकेसन चर्चका सदस्यहरुलाई आफ्नो राजनीतिक अभियानमा सरिक गराउन थालेको थियो। त्यस्तै पार्टीका नेताहरुलाई युनिफिकेसन चर्चको मुख्यालय कोरिया गएर मुनको प्रवचन सुन्न लगाइन्थ्यो।

सन् १९८० मा आइपुग्दा युनिफिकेसन चर्चको कुल आयको पाँच भागको चार भाग जापानबाट उठ्थ्यो। सन् १९९० को आम चुनावमा युनिफिकेसन चर्चले जापानका एक सय डायट सदस्यहरुलाई चुनावी अभियानका क्रममा आर्थिक सहयोग गर्ने घोषणा गर्‍यो। यही आडमा युनिफिकेशन चर्चका संस्थापक मुनले जापानी सरकारमा आफ्नो प्रभाव जमाउन थाले। त्यसैका कारणले जापानको संविधानले रोक्दा रोक्दै पनि मुन जापान प्रवेश गर्न सफल भए। जापानको संविधानमा एक वर्ष भन्दा बढी जेल सजाय भोगेका विदेशीलाई जापान प्रवेशमा निषेध गर्थे व्यवस्था थियो। मुन अमेरिकामा १८ महिना जेल बसेका थिए। सन् १९९२ मा मुनको पक्षमा एलडीपीका उपाध्यक्षले कानुन मन्त्रालय मार्फत सहजता गरिदिएका थिए। 

सन् १९९९ मा प्रकाशित एक म्यागेजिनमा प्रकाशित एक रिपोर्टले १२८ जना सांसद मध्ये अधिकांश युनिफिकेशन चर्चको कम्युनिस्ट विरोधी कार्यक्रममा सहभागि भएको र एलडीपीका २० भन्दा बढी सांसदको कार्यालयमा चर्चका कम्तिमा एक जना सदस्य रहेको उल्लेख छ।

के हो युनिफिकेशन चर्च?

युनिफिकेशन चर्च विश्वभर संजाल विस्तार गरेको धार्मिक संस्था हो। कोरिया युद्ध समाप्त भए पछि दक्षिण कोरियाको राजधानी सोलमा सन् १९५४ मा आफैलाई मसिहा घोषणा गर्दै सुन मियोङ मुनले स्थापना गरेको संस्था हो यो। उनले बाइबललाई आफ्नै तरिकाले व्याख्या गर्दै पुरातनवादी परिवार केन्द्रीत मूल्य मान्यताको पक्षमा वकालत गरेका थिए।

यो चर्च कोरियाली एकीकरण र कम्युनिस्टको कट्टर विरोधी संस्था हो। युनिफिकेशन चर्चका संस्थापक मुनले सन् २००५ मा ‘युनिभर्सल पिस फेडेरेसन (युपीएफ)’ नामको संस्था बनाए जुन विवादास्पद आइएनजिओ हो।

कम्युनिस्टका कट्टर आलोचक, स्वघोषित मसिहा र अत्यन्तै विवादित व्यक्ति सन म्युङ मुनको सन् २०१२ मा निधन भएको थियो। उनको निधनपछि उनकी श्रीमती हक जा हान मुन ‘म्याडम डाक्टर मुन’ले युनिफिकेशन चर्च र युपीएफको नेतृत्व गर्दै आएकी छिन्।

‘जिसस क्राइस्टले आफ्ना अधुरा काम गर्न मलाई खटाएको हो,’ भन्ने दाबी गर्ने मुनले आफ्ना अनुयायीहरुको जीवन साथी चुन्ने अधिकार पनि आफूसँगै राखेका थिए। उनको आर्शिवाद बिना विवाह सम्पन्न नहुने प्रचलन छ। मुन ‘म्याचिङ’ विना विवाहसमेत हुन सक्दैन।

आफूले भने अनुसारको जोडीले बिहे गरेमात्र पापमुक्त रगतको नाता तयार हुन्छ भन्ने दाबी उनको थियो।

‘विवाह गरे हुन्छ’ भनेर मुनले अनुमति दिएपछि के के गर्नुपर्ने भन्नेबारे मुनको युनिफिकेसन चर्चको निर्देशनमा उल्लेख छ। जसमध्ये एउटामा नवविवाहित दम्पतीले सबैभन्दा पहिला ब्याटले एक अर्कालाई हान्नुपर्ने र त्यसपछि मुनको चित्र अगाडि निर्देशन दिइएका आसनमा बसेर तीन दिनसम्म यौन सम्पर्क गर्नुपर्ने उल्लेख छ।

कसैले विवाह गरिसकेका छन् भने पनि उनीहरुले मुनसँग आर्शिवाद लिएपछि मात्र यो विवाहले मान्यता पाउने प्रावधान आफ्ना अनुयायीहरुलाई लगाइएको छ। युनिर्भसल चर्चले आयोजना गर्ने हरेक कार्यक्रमको मुख्य पाटो भनेको ‘सच्चा आमाको आर्शिवाद’ हो।

यसका हरेक कार्यक्रममा विवाह हुनु वा विवाह गरिसकेका जोडीलाई ‘होली वाइन’ खुवाएर आर्शिवाद दिनु हो। ‘होली वाइन’ खाएर सच्चा आमाको आर्शिवाद लिएपछि उनीहरु पापमुक्त हुन्छन् र यसरी पापमुक्त भएका जोडीबाट जन्मेका सन्तान असल र शान्तिका अग्रदुत हुन्छन् भन्ने विश्वास आफ्ना अनुयायीहरुलाई दिलाइएको छ।

यही संस्थाले नेपालमा सन् २०१८ मा एसिया प्यासिफिक सम्मेलन आयोजना गरेर जनप्रतिनिधिहरुलाई होली वाइन खुवाएको थियो। त्यस्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई  'सच्चा माता'ले आशिर्वाद दिँदै एक लाख डलर राशीको ‘लिडरसीप एण्ड गुड गर्भनेन्स’ अवार्ड प्रदान दिइन्।

सम्बन्धित समाचार: विवादास्पद धार्मिक सम्मेलनमा होली वाइन खानेको लर्को

आबेको हत्याले के अर्थ राख्छ?

आबेको हत्याले युनिफिकेशन चर्चलाई पुन: प्रकाशमा ल्याएको छ। चर्चको एलडीपी र अन्य दक्षिणपन्थी नीति अनुसन्धानको घरामा आएको सोफिया युनिभर्सिटीका अन्तर्राष्ट्रिय राजनीतिका प्रध्यापक कोइची नाकानोलाई उदृत गर्दै एपीले लेखेको छ। यसले आबेको विरासतलाई समेत पुन: मुल्यांकन गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्।

आबेको मृत्युसँगै अब आबेको विरासतबारे सोच्नुपर्ने अवस्था आएको जापानमै चर्चा हुन थालेको छ। बन्दुक सम्बन्धी हुने अपराध दुर्लभ जस्तै रहेको जापानमा पूर्वप्रधानमन्त्रीकै हत्या हुनुले यसलाई थप बल पुगेको छ। चर्चले आबेसँग प्रत्यक्ष सम्पर्क नभएको दाबी गरे पनि सांसदहरुसँगको सम्बन्धलाई भने स्वीकार गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell