काठमाडौं : बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सिंहदरबारभित्रका थप दुई सीसीटीभी फुटेज माग गरेको छ।
बिहीवार सिंहदरबारमा तीन घण्टासम्म समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो। बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको छ।
उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा अर्थ मन्त्रालयले १३ दिनको मात्र फुटेज क्षमता भएको भन्दै पत्र पठाएको थियो। त्यसपछि झन् शंका गर्न थप बल पुगेको थियो।
अर्थ मन्त्रालयको त्यही पत्रपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा अर्थमन्त्री शर्माको राजीनामाका लागि दबाब बढाएको थियो। समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेजको प्राविधिक पक्षबारे अनुसनन्धान गर्न फुटेज प्रहरीको ल्याबमा परीक्षणको लागि पठाएको छ। तर, अहिलेसम्म प्रहरीले परीक्षणपछि रिपोर्ट पठाएको छैन।
सीसीटीभी र सुरक्षाकर्मीले घेरिएको सिंहदरबारमा ‘एक व्यक्ति’ खोज्न यतिधेरै किन सकस?
अनधिकृत व्यक्तिको प्रवेश भए नभएको अनुसन्धान गर्न समितिले आइतवार सिंहदरबाको थप दुई वटा सीसीटीभी फुटेज मागेको हो। सिंहदरबारको पश्चिम र दक्षिण गेटको फुटेज माग गरेको समितिका एक सदस्यले जानकारी दिए।
जेठ १४ गते दिउँसो १२ बजेदेखि २४ घण्टाभित्रको फुजेट माग गरेको हो। बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर भएको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए। त्यही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।