PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

धरमरमा सत्ता गठबन्धन, प्रचण्ड-नेपालको नीति : ओली रिझाउने, देउवा बिझाउने



प्रकाश भण्डारी

धरमरमा सत्ता गठबन्धन, प्रचण्ड-नेपालको नीति : ओली रिझाउने, देउवा बिझाउने

काठमाडौं : सत्ता गठबन्धनका नेताहरुले नै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गतिविधिप्रति एकपछि अर्को प्रश्न उठाउन थालेका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुले देउवा सरकारको चर्को आलोचना गर्दै चुनौति दिन थालेका हुन्।

स्थानीय तह निर्वाचनको मत परिणामबाटै असन्तुष्ट माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता अहिले भने सरकारका निर्णयमाथि नै प्रश्न उठाइरहेका छन्। सरकारमै सामेल रहेका कम्युनिस्ट पार्टीका नेताहरु प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग नजिकिन थालेसँगै सरकार र नेपाली कांग्रेसको आलोचनामा उत्रिएका हुन्।

देउवा सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँगै सत्तारुढ दलका नेताहरुको सामना गर्नुपरिरहेको छ। जसमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु देउवा सरकारको आलोचनाका लागि अघि सरेका छन्।

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभाबाट पारित गराउन १२ बुँदे व्याख्यात्मक घोषणा गरेर मध्यमार्गी बाटो रोजेका माओवादी केन्द्र र एकीकृत समाजवादी अहिले भने सरकारमाथि नै खनिन थालेका हुन्। त्यसो त कांग्रेसकै पनि संस्थापन इतर पक्षले देउवाको चर्को आलोचना गरिरहेको छ।

अबको संसदीय निर्वाचनमा वाम गठबन्धन गर्नुपर्ने तर्क राखिरहेका एकीकृत समाजवादीका नेता झलनाथ खनाल र एमालेसँग सघन संवादमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देउवा सरकारको निर्णयलाई एकपछि अर्को चेतावनी दिइरहेका छन्। प्रतिनिधि सभाबाट नागरिकता विधेयक पारित भएपछि श्रेष्ठले कांग्रेसले बलजफती गरेको र त्यो सैह्य नहुने चेतावनी दिएका थिए।

त्यसो त माओवादी केन्द्रले नै नागरिकता विधेयकमा अंगिकृतका हकमा ७ वर्षे प्रावधान राख्नुपर्ने अडान लिँदै आएको थियो। तर, विधेयक प्रतिनिधिसभाबाट पारित गराउँदा भने माओवादी केन्द्र आफ्नो अडानबाट पछि हट्यो।

‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफती हामीलाई सधैँ स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्। हाम्रो पार्टीले गठबन्धन  र सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरुमा सम्झौता हुन सक्दैन भनेर गम्भीरतापूर्वक सोच्नै पर्ने भएको छ,’ फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले भनेका थिए।

झलनाथको लगातार खबरदारीको अर्थ

खनालले स्थानीय तह निर्वाचनको परिणाम यता लगातार कांग्रेस नेतृत्वको गठबन्धनमाथि प्रश्न उठाएका छन्। खनालले आइतवार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पनि वाम मोर्चाको आवश्यकता भएको प्रतिक्रिया दिएका थिए।

‘हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समूहहरु एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाउँ भन्ने खालका कुरा सोच्दैछौँ। तर, कतिपय समूह तयार नै छैन,’ खनालले भनेका छन्।

उनले अरु दलहरु वाम मोर्चा बनाउनका लागि तयार भए पनि एमाले सकारात्मक नभएको बताएका थिए।

खनालले यसअघि आफ्ना पार्टीका बैठकहरुमा पनि कांग्रेससँग गठबन्धन गरेर चुनावमा जान नसकिने बताएका थिए। बरु एमालेसँगै एकीकृत समाजवादी मिल्नुपर्ने पक्षमा खनाल छन्।

गठबन्धनमा असन्तुष्ट रहेका खनालले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)बारे सरकारले उचित कदम नचालेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। खनालले प्रतिनिधिसभाको साउन ५ गतेको बैठकमा सरकारले फिर्ता गर्ने निर्णय कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाए।

‘हामीले एसपीपी लिन्नौँ भनेर यस सदनबाट भनेको र मन्त्रिपरिषद्बाट निर्णय गरेको एक महिना भन्दा बढी भइसक्यो। हामीले चाडोभन्दा चाडो यो पत्र लेख्छौँ र यो कुरालाई रोक्छौँ भनेर सरकारले भनेको हो। र, अहिलेसम्म पनि के कारणले त्यसलाई लेख्न सकिएको छैन?,’ खनालको प्रश्न थियो।

सत्ता गठबन्धनमा रहेका कम्युनिस्ट नेताहरुले एसपीपी फिर्ता गराउने निर्णय कार्यान्वयनमा सरकार पछि हटेको भन्दै गठबन्धनबाटै अलग हुनुपर्ने मत राखिरहेका छन्। गठबन्धनमाथि नै प्रश्न उठाएर खनालले पनि सरकारको आलोचना गरेका हुन्।

खनालले सरकार र गठबन्धनमाथि लगातार प्रश्न उठाउनुको पछाडि एमालेसँगको बाक्लिदो संवाद कारण भएको एकीकृत समाजवादीका नेताहरु बताउछन्। एकीकृत समाजवादीभित्र सरकारमा सहभागितादेखि गठबन्धनका विषयमा मतभेद रहेका छन्। खनाल अध्यक्ष माधव कुमार नेपालको भन्दा भिन्न मत व्यक्त गरिरहेका छन्।

कांग्रेसलाई दबाबमा राख्ने नीति

माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धनप्रति इमान्दार नभएको भन्दै आउने चुनावमा गठबन्धन कांग्रेससँग हुन नसक्ने बताइरहेका छन्। कांग्रेसलाई दबाबमा राख्ने नीति अनुसार नै गठबन्धनमा रहेका वाम नेताहरुले दुई पटक समाजवादी केन्द्रको गृहकार्यका लागि भन्दै सिंहदरबारमा भेटेका थिए।

जसमा पार्टी एकता गर्न नसकिए पनि एकता संयोजन समिति बनाउने सहमति नजिक नेताहरु पुगेका छन्।

‘पार्टी नै एकता गर्ने नभए एकता संयोजन समिति बनाउनेबारे सहमति भएको हो,’ सिंहदरबारमा भेला भएका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निकट नेता निमाकान्त पाण्डले भने।

पाण्डेका अनुसार सिंहदरबारको छलफलमा पार्टी एकताकै विषयले प्राथमिकता पाएको थियो। हाल समाजवादी केन्द्रका लागि जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिने निर्णयमा पुगेका डा बाबुराम भट्टराई पनि गृहकार्यमा छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टी एकता नभए चुनावी मोर्चा बन्ने बताएका छन्।

‘गठबन्धनभित्रका वामपन्थीका बिचमा राम्रो समझदारी बनाउन पर्छ। सकियो भने चुनावी मोर्चा हुन पनि सक्छ। भोलि पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ। अन्तिम निर्णय भइसकेको छैन,’ प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारसँग भनेका छन्।

गठबन्धनभित्रका कम्युनिस्ट दलहरुको मोर्चा बनेमा मात्रै पनि कांग्रेसलाई दबाबमा राख्न सकिने प्रचण्डको बुझाइ छ।

यसरी भइरहेका छन् ओलीलाई रिझाउने गतिविधि

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका कम्युनिस्ट दलहरु सत्ताबाट नबाहिरिएसम्म सहकार्य हुन नसक्ने शर्त राखेका छन्। तर, माओवादी केन्द्रका नेता नै पछिल्लो समय ओलीलाई रिझाउने अभिव्यक्ति दिइरहेका छन्।

ओलीले भने अबको चुनावमा सहकार्य गर्नका लागि पनि गठबन्धन फुट्नु पर्ने धारणा अघि सारिरहेका छन्।

‘वामपन्थी छौ कोही भने एमाले खुला छ। आफ्नै साथीहरु त भोट दिन अरुलाई कुदिराखेका बेला त्यस्ताको आशा गर्ने?,’ ओलीले साउन ४ मा भनेका थिए।

त्यसो त एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि एमालेप्रति नरम हुन थालेका छन्। एमालेलाई धेरै प्रहार गर्न नहुने नेपालको पछिल्लो अभिव्यक्तिले पनि एमालेसँग सम्बन्ध सुधारको रुपमा आएको एकीकृत समाजवादीका नेताहरु बताउछन्।

स्थानीय तह निर्वाचनअघिसम्म ओली र प्रचण्ड-नेपालको बिचको सम्बन्ध सुमधुर थिएन। एक अर्कामाथि एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताले आक्रोश व्यक्त गर्ने गरेका थिए।

यसरी ओलीप्रति प्रचण्ड-नेपालले नरम नीति अघि सारिरहँदा देउवासँगको सम्बन्ध भने चिसिन सक्ने राजनीतिक वृतमा चर्चा चल्न थालेको छ। आउने चुनावमा सत्ता गठबन्धन कायम नरहे वाम गठबन्धन बन्न सक्ने सम्भावना रहेकाले कांग्रेसँगको सम्बन्ध कस्तो हुन्छ भन्नेबारेमा अहिले नै भन्न सकिने अवस्था छैन।

यद्यपि, अहिलेकै गठबन्धनलाई निरन्तरता दिने कि वाम गठबन्धन गर्ने भन्नेबारमा भने माओवादी केन्द्र र एकीकृत समाजवादीमा दुई धार देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell