PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रसुवाको गाउँदेखि फेन्सिङको राष्ट्रिय टिमसम्म : विभागबाट खेलमा पुगेकी जानुका स्याङतान

रसुवाको गाउँदेखि फेन्सिङको राष्ट्रिय टिमसम्म : विभागबाट खेलमा पुगेकी जानुका स्याङतान

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : सेतो पोसाक। पछाडिबाट ल्याइएको तार पोसाकमा जोडिएको छ। अनुहार छोपिने मास्क अनि हातमा तरबार लिएर ‘पिस्ट’मा उत्रिन्छिन् जानुका स्याङ्तान। रसुवाको विकट उत्तरगया गाउँपालिकाको भलाय डाँडामा जन्मिएकी जानुका स्याङतानको यो खेल अवतार हो।

उनले फेन्सिङ खेल बाल्यकालबाटै खेलेकी होइनन्। सानो उमेरमा तेक्वान्दो त खेलिन् तर व्यवसायिक खेलाडीका रुपमा अघि भने बढिनन्। परिवारबाट यही बन्नू भन्ने दबाव उनलाई कहिल्यै आएन। आमाबुवाको पाँचौ छोरी उनले रसुवाबाटै प्लस टू सकिन्। बुवा सरकारी जागिरे थिए। त्यसैले उनको सपना थियो सरकारी जागिर खाने नभए पनि ‘एकाउन्ट’सँग सम्बन्धित काम गर्ने। तर, प्लस टू सकेर उनले सशस्त्र प्रहरीमा नाम निकालिन्।

फेन्सिङ खेलबारे थाहा पाएको उनले धेरै पछि हो। महँगो खेल, महँगा खेल सामाग्री अनि थोरैले बुझेको खेल। गाउँमा त उनले कसरी पो अवसर पाउन सक्थिन् र?

सशस्त्र प्रहरीमा काम गर्दागर्दै ‘अफर’ आयो : फेन्सिङ भन्ने नयाँ खेल आएको छ, कसैलाई यसमा चासो भए आउनु। नयाँ खेल भनेपछि जानुकालाई जोइन हुन मन लाग्यो।  

पहिलोपटक फेन्सिङमा जाँदा उनलाई अनौठो लाग्यो। नयाँ खेल। नयाँ नियम। नयाँ पोसाक अनि नयाँ अनुभव। पछि बिस्तारै यसैमा अभ्यस्त हुँदै गइन्।

विभागमा रहेका खेलाडीहरुले ड्युटी पनि गर्नुपर्छ। तर मेडल जितेका खेलाडीको सन्दर्भ फरक छन्।

'विभागभित्र ड्युटी पनि गर्नुपर्छ। नेपाल बन्द, निर्वाचनलगायतको समयमा ड्युटीमा पनि खटिनुपर्ने हुन्छ,' उनले भनिन्, 'साउथ एसियन मेडलिस्टलाई चाहीँ अहिले त्यस्तो ड्युटी हालेको छैन। पहिला चाहिँ पर्थ्यो। स्ट्यान्डबाइ चाहिँ पर्छ पोस्टिङ पर्दैन।'

+++

यही महिना इजिप्टको राजधानी कायरोमा नेपाली फेन्सिङ टोलीले पनि सहभागिता जनायो। नेपाली टोलीमा इजिप्ट पुगेकी स्याङतान फेन्सिङमा भिजेकी छिन्। अर्को वर्ष एसियन गेम्स हुँदैछ। यसका लागि राष्ट्रिय खेलकुद परिषदले विभिन्न खेलहरुमा अभ्याससमेत गराइरहेको छ।  यसको बन्द सत्रमा स्याङतान पनि छिन्।

'मेरो खेल जीवन एपीएफमा आएपछि सुरु भयो। नयाँ खेल आएको थाहा पाएपछि म जान इच्छुक भएको बताएँ। घरबाट पनि राम्रै समर्थन मिल्यो,' उनी भन्छिन्, 'राम्रै फिडब्याक मिलेको छ। राम्रो गर्न भन्नु हुन्छ। जहिल्यै फाइनलमा हारिरहेको हुन्छु।'

नेपालमा फेन्सिङको प्रशिक्षणका लागि पर्याप्त हलहरु छैनन्। राष्ट्रिय टोलीकै बन्द प्रशिक्षणमा पनि २० जना खेलाडीले काठमाडौं फेन्सिङ एकेडेमीको सानो हलमा अभ्यास गरे। दुई जनाले तरबार लिएर खेल्न थाल्ने हो भने अरु जोगिनु पर्ने अवस्था देखिन्छ त्यहाँको हलमा। त्यही देखेर दोस्रो चरणको छनोट चाहीँ सातदोबाटोको तेक्वान्दो भवनमा भयो। फेन्सिङ संघ पदाधिकारी र स्वयम प्रशिक्षक अभिषेक कार्की पनि यसलाई स्वीकार्छन्।

पढ्नुस : महङ्गो खेल, थोरै लगानी : छोटो समयमै अन्तर्राष्ट्रिय पदक ल्याएको ‘फेन्सिङ’बारे थाहा छ?

नेपालमा फेन्सिङको अवस्था र विदेशमा फेन्सिङको लगानीको स्तर हेर्दा आकाश पातालको फरक देख्छिन् स्याङतान।

 

'नेपालमा पर्याप्त हलहरु नहुँदा कठिन छ। सबै आफैले गर्नुपर्ने हुन्छ। नेपाल र यहाँ आकाश पातालकै फरक छ,' उनले भनिन्।

अभ्यासकै क्रममा उनका एक जना साथीको ‘ब्लेड’ भाँचियो। यो खेलाडीका लागि ठूलो नोक्सानी हो। चाइनिज ब्लेडलाई करिब ३ हजार रुपैयाँ पर्छ भने मापदण्डको ब्लेड त अति नै महँगो हुने जानुकाले सुनाइन्।

'यस्तै हो। कहिलेकाहीँ भाँचिइरहन्छ,' उनले भनिन्।

उनी अहिले २८ वर्षकी भइन्। फेन्सिङमा खेल्ने उमेरको हद छैन। खेलको अभ्यासका लागि उनी दैनिक ३ देखि ४ घण्टा छुट्याउने गर्छिन्। यो खेलमा सामान्य चोटहरु आउने भए पनि गम्भीर किसिमका चोट नलागेको उनले बताइन्।

'इन्ज्युरी भनेको घोच्ने र घाउ चाहीँ हुन्छ। दुई चारदिन दुख्ने हुन्छ। अरु चोट चाहिँ छैन,' उनले भनिन्,‘शारीरिक र मानसिक रुपमा फिट रहुन्जेल खेल्छु कि?’ उनले भनिन्।

उनले फेन्सिङ खेल्न थालेको २०७२ साल देखि हो। राष्ट्रिय टिममा परेको भनेको १३ औं दक्षिण एसियाली खेलकुदबाट। सागमा इन्डिभिजुअलमा तेस्रो, टिममा दोस्रो भएकी थिइन् उनी।

'नेशनलमा आउने बित्तिकै तीन महिनाकै अन्तरालमा खेलेर मेडल टच गर्दा साह्रै खुशी लागेको थियो। त्यसपछि सागमा मेडल पाउँदा,' खेलकुदमा लागेपछिको सुखद क्षणबारे उत्साहित हुँदै उनले सुनाइन्।

फेन्सिङ खेलबारे कमैले मात्र बुझेको हुँदा मानिसलाई बुझाउन भने सकस हुन्छ। 'फेन्सिङ? तरबार? चोट लाग्दैन? घाइते हुँइदैन?' यस्ता प्रश्न उनले सँधै जस्तो सुनिरहने प्रश्न हो।

'फेन्सिङ भनेको केहो भनेर सोध्छन? यस्तो यस्तो भनेर भन्यो। मान्छे बुझ्दैनन्। बल्ल आजकाल बुझ्दैछन्। चोट लाग्छ भनेरै सोच्छ। तरबार खेलाउने भन्छ तरबार पनि फरक हुन्छ। काट्ने खालको तरबार होइन भनेर सम्झाउनु पर्छ,' उनले भनिन्।

यो खेलमा खर्च त्यतिकै हुन्छ। विभागीय खेलाडी भएकाले बाहिरका खेलाडी भन्दा सुरक्षित त छिन् उनी तर पनि खर्च भने राम्रै गर्नुपर्ने हुन्छ।

जानुका भन्छिन्, 'धेरै खर्च हुने भनेको तरबारमा नै हो। हप्तामा दुई तीनवटा ब्लेड भाँचिन्छ। महिनामा १०/१५ हजार जान्छ। नेशनलमा चाहीँ सामान्य ड्रेस लगाउन मिल्छ। इन्टरनेशनलका लागि चाहिँ ड्रेस महँगो हुन्छ।'

उनको विधामा होलबढी टार्गेट हुन्छ। त्यस्तैले शारीरिक रुपमामात्रै ‘फिट’ भएर पुग्दैन। मानसिक रुपमा पनि प्रतिद्वन्द्वीविरुद्ध तरबार चलाउन चनाखो हुनुपर्छ।

'फिजिकल्ली फिट हुनुपर्छ। मेन्टल्ली चनाखो हुनुपर्छ। टेक्निकलमा पनि बलियो हुनुपर्छ। म इभी। होलबडी टार्गेट हो,' उनले सुनाइन्,'हामीसँग इक्युपमेन्टकै संकट छ। फेन्सिङको विकास हुन पर्छ। मानिसहरुले भर्खर बुझ्दैछ। अझ धेरै खेलाडी आउनुपर्छ।'

उनको सपना ओलम्पिक खेल्ने छ। तर, ओलम्पिक पुग्‍नका लागि ‘क्वालिफाइ’ नै हुनुपर्छ। वाइल्ड कार्डको विकल्प फेन्सिङसँग छैन। या त वरीयतामा माथि आउनुपर्छ।

'वरीयतामा आइन्छ कि भन्ने आशा छ। अझ मेहेनत गरेर धेरै प्रतियोगिता खेल्न सके राम्रो हुन्थ्यो,' उनले आफ्नो लक्ष्य सुनाइन्।



ट्रेन्डिङ पोस्ट

Ncell