PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

‘नेकपा’मा अल्झियो समाजवादी केन्द्र : बाबुराम र बामदेवसँग एकता भए प्रचण्ड-नेपालले तोड्लान् कांग्रेससँगको सहकार्य?



प्रकाश भण्डारी

‘नेकपा’मा अल्झियो समाजवादी केन्द्र : बाबुराम र बामदेवसँग एकता भए प्रचण्ड-नेपालले तोड्लान् कांग्रेससँगको सहकार्य?

काठमाडौं : नेकपा समाजवादी केन्द्र बनाउन पछिल्लो समय कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुको दौडधुप बढेको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी, नेपाल जसपाका अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमलगायतका नेताहरुले समाजवादी केन्द्र बनाउन छलफल तीव्र पारेका छन्।

औपचारिक तथा अनौपचारिक रुपमा भेटवार्ता पनि बाक्लिएको छ। नकेपा (एमाले)बाट राजीनामा दिएर एकता अभियान चलाइरहेका गौतमले नयाँ पार्टी घोषणा गरेपछि पनि वाम एकताका लागि जोड दिइरहेका छन्।

बाबुराम र जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षबिचको टकराब बढ्दै गएपछि भट्टराई पार्टीबाटै बाहिरिने निर्णयमा पुगेका छन्। भट्टराई र गौतमले चाँडै समाजवादी केन्द्र बनाएर अघि बढ्नुपर्नेमा जोड दिइरहेको भए पनि सैद्धान्तिक विषय भने मिल्न सकेको छैन। जसकारण समाजवादी केन्द्र घोषणा हुन नसकेको हो।

‘नेकपा’ले अल्झायो समाजवादी केन्द्रलाई

भट्टराईले माओवादी परित्याग गरेर २०७२ सालमै नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए। संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी राजपासँग एकता गरेर जसपा बनाएर सक्रिय थिए बाबुराम। तर, पछिल्लो समय यादवसँगको तिक्तताका कारण बाबुराम अलग हुने बाटोमा छन्।

फेरि समाजवादी केन्द्र बनाउने गृहकार्यमा पुगेका भट्टराई समाजवादमा जोड दिइरहेका भए पनि सैद्धान्तिक रुपमा कम्युनिस्ट हुन नसक्ने बताइरहेका छन्। जसकारण समाजवादी केन्द्र बन्न नसकेको एकता अभियानका सचिवालय सदस्य निमकान्त पाण्डेले जानकारी दिए।

‘भट्टराईले नेकपा नामसँग सहमति जनाइराख्नु भएको छैन। यताकाले नेकपा छोड्ने अवस्था छैन,’ उनले भने।

भट्टराई तत्काल आफ्नो नयाँ पार्टी घोषणा गर्ने या समाजवादी केन्द्र बनाएर अरु नेतासँग एकता गर्ने भन्नेमा टुंगोमा पुगेका छैनन्। अर्कोतिर प्रचण्डले जसपाका अध्यक्ष यादवलाई पनि समाजवादी केन्द्रमा सहभागी गराउनुपर्ने बताइरहेका छन्। तर, यादव भने तत्काल समाजवादी केन्द्रमा सहभागी हुने पक्षमा छैनन्। भट्टराई पक्ष समाजवादी केन्द्रका लागि गृहकार्य गरिरहेकाले यादव सकारात्मक नभएका हुन्।

चुनावअघि वाम मोर्चा!

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस गठबन्धनप्रति इमान्दार नबनेको निष्कर्ष निकालेका प्रचण्ड-नेपाल चुनावमा कांग्रेसको विकल्प खोज्न थालेका हुन्। त्यसका लागि कम्तिमा पनि वाम मोर्चा बनाएर चुनावमा जानुपर्ने अडानमा प्रचण्ड-नेपाल छन्। तर, वाम मोर्चाका लागि एमाले भने सकारात्मक छैन।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी र एकीकृत समाजवादीलाई वाम मोर्चाबारे छलफल गर्न पहिले कांग्रेससँगको सहकार्य तोड्नुपर्ने शर्त राखेका छन्

एमाले सकारात्मक नभएपछि एमाले बाहेकका वाम दलहरुलाई समेटेर मोर्चा बनाउनुपर्ने पक्षमा प्रचण्ड-नेपाल लाग्दा कांग्रेससँगको सहकार्य जारी राख्ने या तोड्ने भन्नेबारे भने निष्कर्ष निस्किएको छैन। एकीकृत समाजवादीका उपममहासचिव जगन्नाथ खतिवडाले वाम मोर्चा बनाउनेबारेमा एमाले तयार नभएकोले अहिलेकै सत्ता गठबन्धनको निरन्तरता हुने बताए।

‘एमालेसँग चुनावी कुरा गर्नका लागि एमाले त्यो मानसकितामा देखिएको छैन। एमाले अन्तिम समयमा पासा पल्टाउने भन्ने हिसाबमा लागेको छ,’ खतिवडाले भने।

उनले अहिले छलफल र मोर्चा बनाउनका लागि नजिकिएका नेताहरुबिच भने सहकार्य हुने बताए।

‘बामदेव र बाबुराम शक्ति नभइ व्यक्ति मात्र’

समाजवादी केन्द्र बनाउन तीव्र गृहकार्यमा लागेका भट्टराई र गौमतलाई अरु नेताहरुले भने उनीहरुसँग खासै शक्ति नभएकाले व्यक्तिगत हिसाबमा मात्रै सोच्नुपर्ने बताउन थालेका छन्। माओवादी केन्द्र र एकीकृत समाजवादीले भने आफू पार्टीको हिसाबमा रहेकाले तत्कालै एकता गर्न विभिन्न अप्ठेरो रहेको बताएका छन्।

‘चुनावअघि कसैसँग पनि पार्टी एकता हुँदैन। बाबुराम र बामदेव शक्तिबाट व्यक्तिमा रुपान्तरित हुनुभएकोले पहलकदमी लिनु स्वभाविक हो तर हामी व्यक्तिबाट शक्तिमा रुपान्तरित हुँदै छौँ। हामीले समग्रमा सोच्नुपर्ने हुन्छ। उहाँहरु व्यक्तिका रुपमा सोचिरहनुभएको छ,’ उनले भने।

माओवादी केन्द्र र एकीकृत समाजवादीभित्रका नेताहरुले बामदेव र बाबुरामसँगको एकता गरेर मात्रै चुनावमा जाँदा एमालेसँगको शक्तिलाई कमजोर पार्न नसकिने र कांग्रेससँगको सम्बन्ध पनि बिग्रिने बताइरहेका छन्।

कांग्रेससँगको सहकार्य के होला?

स्थानीय तह निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर एमालेका विरुद्धमा उभिएका प्रचण्ड-नेपाल फेरि पनि कांग्रेससँगको सहकार्यलाई जारी नै राख्ने पक्षमा छन्। तर, त्यसका लागि बलियो मोर्चा बनाएर कांग्रेससँग लबिङ गर्ने तयारीमा प्रचण्ड-नेपाल छन्।

एमालेसहितको बाम मोर्चा बनेमा भने कांग्रेससँगको सहकार्य टुट्न सक्ने नेताहरुको भनाइ छ।

कांग्रेससँगको सहकार्यलाई जारी नै राख्नुपर्नेमा प्रचण्ड-नेपाललाई अर्को बाध्यता बनेको छ स्थानीय तह निर्वाचनको परिणाम। माओवादी तेस्रो शक्तिका रुपमा छ भने एकीकृत समाजवादी पाँचौं नम्बरमा पुगेको छ।

एमाले बलियो शक्ति भएकाले एमालेसँगको सहकार्यबिना कांग्रेसको विपक्षमा उभिन नसक्ने माओवादी केन्द्र र समाजवादीका नेताहरुको मत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell