PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

किन चलिरहेको छ शीर्ष नेताविरुद्ध ‘नो नट अगेन' क्याम्पेन?



प्रकाश भण्डारी

किन चलिरहेको छ शीर्ष नेताविरुद्ध ‘नो नट अगेन' क्याम्पेन?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली फेरि पनि प्रधानमन्त्री बन्न चाहन्छन्। एमालेसँग मिल्ने शक्तिलाई साथमा लिएर तेस्रो पटक प्रधानमन्त्री बन्नु ओलीको चुनावी रणनीति हो। चुनाव घोषणा अझै नभए पनि ओलीले प्रधानमन्त्री बन्ने घोषणा वर्ष दिन पहिल्यै गरिसकेका छन्। ‘सधैँ अदालतले परमादेशबाट प्रधानमन्त्री बनाइदिदैन। हामी फेरि जनमत लिन्छौँ,’ प्रधानमन्त्रीबाट बाहिरिएपछि बालुवाटारबाट बालकोट पुग्दा ओलीले २०७८ असार ३० गते भनेका थिए

तेस्रो पटक नै प्रधानमन्त्री हुने इच्छा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पनि छ। पछिल्लो भारत भ्रमण होस् या सार्वजनिक भाषण, प्रधानमन्त्री बन्ने इच्छा ठम्याउन मुस्किल छैन प्रचण्डको। ‘माओवादी पार्टीलाई देशको बागडोर फेरि एकपटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन,’ शुक्रवार प्रचण्डले भनेका थिए।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट कारबाहीमा परेका अध्यक्ष बाबुराम भट्टराई नयाँ पार्टी बनाउने गृहकार्यमा छन्। एकपछि अर्को गर्दै शक्ति गुमाएका भट्टराईलाई फेरि प्रधानमन्त्री बन्न अनुकुल छैन। तर, पनि शक्तिमा फर्कन इच्छा व्यक्त गरिरहेका छन् बाबुराम। अर्का अध्यक्ष उपेन्द्र यादवले जसपालाई क्षेत्रीय दल बनाउन खोजेको आरोपले पुष्टि हुन्छ शक्तिमा फर्कने बाबुरामको इच्छा। माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानलाई समाजवादी केन्द्रमा मिलाए शक्तिमा पुगिने भट्टराईको बुझाइ छ।

एक/एक पटक प्रधानमन्त्री भइसकेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालको दौड हेर्दा पनि थाहा हुन्छ उनीहरुको टार्गेट प्रधानमन्त्री बन्नु नै हो। भलै उनीहरुका लागि पनि भट्टराईलाई जस्तै परिस्थिति अनुकूल भने छैन। नेपाल-खनाल मात्रै होइन प्रचण्ड-बाबुरामदेखि बामदेव गौतमसँगको समाजवादी केन्द्रसँगै लुकेको स्वार्थ हो प्रधानमन्त्री पद। गठबन्धन गरेर फेरि पाँच वर्ष कांग्रेसले नै सरकार चलाउनबाट रोक्नु अर्को रणनीति पनि छ समाजवादी मोर्चाको।

एमालेलाई नै साथमा लिएर प्रधानमन्त्री बन्ने रोडम्याप गौतमको पनि छ। किनभने तत्कालीन नेकपाको किचलोमा पनि ओलीले गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि उनी पुलकित नै भए। अहिले पनि ओलीलाई परिस्थितिले समाजवादी मोर्चामा ल्याउने बुझाइमा छन् गौतम। ‘एमालेलाई परिस्थितिले ल्याउँछ नि समाजवादी केन्द्रसम्म। यदि वाम मोर्चा बनेर निर्णायक स्थितिमा पुगियो भने एमाले पनि आउनुपर्ने स्थिति बन्न जान्छ,’ गौतम निकट नेता निमकान्त पाण्डेले भने।

स्थानीय तहको निर्वाचन परिणामअनुसार पहिलो शक्तिका रुपमा उदाएको कांग्रेसले फेरि पनि आफ्नै पार्टीको सरकार बनाउने योजना अघि सार्नु अनौठो भएन। पार्टी सभापति र अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रधानमन्त्रीको दौडमा सामेल हुने नै भए। किनकी संसद्मा पहिलो दल नहुँदा नहुँदै पनि ओलीले चालेका संसद् विघटनको कदमका कारण प्रधानन्त्री बन्न पुगेका शेरबहादुर देउवा कम्युनिस्ट पार्टी विभाजित भएको अवस्थामा चुनावमार्फत प्रधानमन्त्री बन्ने रणनीतिमा हुने नै भए।

तर, देउवालाई नै रोक्ने नेपाली कांग्रेसभित्रै गृहकार्य भने भइरहेको छ। महामन्त्री गगन थापाले आफू अबको प्रधानमन्त्रीको दाबेदार भएको घोषणा गरिसकेका छन्। त्यसो त, अनौपचारिक रुपमै भए पनि देउवा पत्नी आरजु राणा देउवासमेत प्रधानमन्त्रीका लागि अघि सर्न थालेको चर्चा हुन थालेको छ। प्रचण्डसँग भारतमा भेट, आरजुले भारतसँग बढाइरहेको हिमचिमले पनि उनी प्रधानमन्त्री बन्ने चर्चालाई बढावा दिइरहेको छ।

‘नो नट अगेन’ किन?

देउवा पत्नी आरजुदेखि पूर्व प्रधानमन्त्री र दोस्रो तहसम्मका नेताले प्रधानमन्त्रीका लागि इच्छा व्यक्त गरिहेकै समयमा ‘नो नट अगेन’को पोस्टर भाइरल छ। प्रधानमन्त्री बन्ने पूर्व प्रधानमन्त्रीको दौडमा ब्रेक लगाउन चाहन्छ - नो नट अगेन। हालसम्म असंगठित रुपमै चलिरहेको उक्त अभियानलाई व्यापक बनाउने मध्यका एक हुन स्वतन्त्रतर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बनेका सुशिल थापा। पाको उमेरका र गलत पृष्ठभूमिबाट आएकालाई नीति निर्माणमा र देशको नेतृत्वमा पुग्नबाट रोक्ने उद्देश्यले ‘नो नट अगेन’ चलेको थापाले बताए।

कुनै पार्टी र व्यक्तिविरुद्ध नभई ६०/७० वर्ष माथिका र गलत पृष्ठभूमिका व्यक्तिका विरुद्ध भएको थापाको तर्क छ। ‘आफ्नो क्याण्डिडेट जिताउनपर्छ भनेर गलत बात लगाउनेको पछि हामी लाग्दैनौँ। स्वतन्त्र उम्मेदवार जति सबै सही छन् भन्ने पनि हाम्रा लागि स्वीकार्य छैन। त्यतातिर नअल्झिकन ग्रेटर गुड अफ द कन्ट्री हेर्नुपर्‍यो भनेर राम्रो मान्छे आउनका लागि ह्यासट्याग चलाएका हौँ,’ उनले भने।

थापाको फेसबुकबाट


कस्तालाई चुनावमा अघि सार्ने र दलभित्रकै पनि कुन व्यक्तिलाई समर्थन गर्ने भन्नेबारेमा भने उक्त अभियानले केही तय गरेको देखिन्न। हिलिङ नेपालका अभियन्तासमेत रहेका थापा दक्ष व्यक्तिहरुलाई राजनीतिमा आउन पनि पुराना नेतालाई बिदा गर्नुपर्ने बताउछन्।

‘कुनै पनि पोलिटिकल पार्टीको देशप्रति कमिटेड र योङ मान्छे आउँदाखेरि समस्या छैन। जुन जुन इस्युमा कुरा मिल्छ सँगै जाने हो। चुनाव आउन्जेलसम्म हाम्रो संजालभित्र जुन जुन मान्छे आउनुहुन्छ र हाम्रो कन्भरसेसन कस्तो हुन्छ भने कोही पनि मानिस एउटा दक्षता नभएर पोलिसी मेकिङमा पठाउनु भएन,’ थापाले भने।

पूर्व प्रधानमन्त्रीमात्रै समस्या होइन

नो नट अगेनको पोस्टर ट्वीट गर्दै विवेकशील साझाका पूर्व अध्यक्ष रबिन्द्र मिश्रले पूर्व प्रधानमन्त्रीलाई मात्रै चुनावमा पराजित गरेर समस्याको समाधान नहुने तर्क गरेका छन्। सरकारी तलब खाने र पेशाकर्मीको 'दलीय' भातृ संगठन, सर्वोच्च र अख्तियार जस्ता निकायको राजनीतिकरण गर्ने लगायतलाई बहिस्कार गर्नुपर्ने मिश्रको भनाइ छ।

 

पूर्व प्रधानमन्त्रीलाई हराउन भन्दै समाजिक सञ्जालमा पोस्टर भाइरल बनाए पनि अहिलेका नेताको विकल्प खोज्न भन्दै राजनीतिमै होमिएकाहरु भने सम्भावित हारका कारण पन्छिन थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेका शीर्ष नेताको विकल्प खोज्नुपर्ने भन्दै पार्टी घोषणा गरेका थिए। तर, शीर्ष नेता विरुद्धमा चुनाव नलड्ने लामिछानेले बताएका थिए।

‘मलाई त झापा, डडेल्धुरा र चितवनबाट चुनाव लड्न मन छ। म डराएको होइन। तर, सरकारले कस्तो चुनाव गराउँछ भन्ने इतिहास थाहा छ। हामीलाई हार्ने सुविधा छैन,’ लामिछानेको भनाइ थियो।

पुराना नेता रोक्न स्वतन्त्रको लहर

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरु पनि स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए। काठमाडौं महानगरमा एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंहलाई बालेनले पराजित गर्दा धरान उपमहानगरमा पनि हर्क साम्पाङ र धनगढी उपमहानगरमा गोपी हमाल दलका उम्मेदवारलाई हराउँदै स्वतन्त्रबाटै मेयर बनेका छन्।

जसको प्रभाव स्वरुप प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा शीर्ष नेताहरुलाई नै हराउन सकिने भन्दै गृहकार्यमा केही स्वतन्त्र उम्मेदवार लागिरहेका छन्। देउवालाई साझा सवाल कार्यक्रममा प्रश्न गरेर चर्चित बनेका सागर ढकालले देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका छन्। ‘डडेलधुराको क्षेत्रबाट चुनावमा उठी देउवालाई ससम्मान पूर्ण रूपमा वृद्ध भत्तासहित आराम दिने निर्णय गरेको छु,’ ढकालको घोषणामा भनिएको छ।

जलवायु विज्ञ अरनिको पाँडेले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी घोषणा गरेका छन्। उक्त क्षेत्रमा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रकी नेतृ तथा उर्जा मन्त्री पम्फा भुसाल निर्वाचित भएकी थिइन्।

भुसालका विरुद्धमा अहिले पाँडेले उम्मेदवारी घोषणा गरेका हुन्। हचुवा निर्णय गर्ने प्रणालीलाई सुधार्न उम्मेदवारी दिएको पाँडेको घोषणामा उल्लेख छ। ‘हचुवा निर्णयहरु हुने गरेकाले त्यस्तो परिपाटी  सुधार गर्ने’, आफ्नो उम्मेदवारी किन भन्दै उनले भनेका छन्। स्वतन्त्रहरुले स्थानीय तहमा जित निकालेको भए पनि आउने प्रतिनिधिसभाको निर्वाचनमा जित्ने बलियो आधार नदेखिए पनि उनीहरुको उम्मेदवारी दिने क्रम भने बढ्दो छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव जितेका थिए। अहिले त्यहाँ स्वतन्त्रबाट पुकार बमले उम्मेदवारी घोषणा गरिसकेका छन्।

‘नो नट अगेन’ र नेतामाथिको आक्रोश फ्याक्टर

चुनाव घोषणा गर्ने तयारी भइरहँदा नो नट अगेनलाई व्यापक बनाउनुको पछाडि राजनीतिक दलका नेतामाथिको आक्रोश अर्को कारण भएको अभियानमा संलग्नहरु बताउँछन्। हुन त यसअघि पनि शीर्ष नेतामाथिको आक्रोश बेलाबखत देखिने गरेको थियो।

साउन ९ गते प्रज्ञा प्रतिष्ठानमा आयोजित देउवा सहभागी कार्यक्रममा युवाहरुले कालो झण्डा देखाएका थिए। पूर्व प्रधानमन्त्री प्रचण्डलाई २०७६ फागुन १८ गते जुत्ता प्रहार भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेसको महाधिवेशन उद्घाटनमा २०७८ मंसिर २४ गते ‘नेतालाई जनताले चोर भन्छन्’ भन्दै अभिव्यक्ति दिएपछि प्रचण्डले प्रतिवाद गरेका थिए। तर, प्रतिवाद गर्दै प्रचण्डले कार्यक्रममा सहभागीलाई चोर भन्छन्? भन्दै प्रश्न गरेपछि सहभागीले भने लिङ्देनको भनाइमा सही थपेका थिए।

नेतामाथि आक्रोश बढ्न थालेपछि स्वतन्त्र उम्मेदवारले चुनावमा बाजी मार्न सकिने विश्लेषण गरिरहेका छन्। स्थानीय तह निर्वाचनका बेलामा काठमाडौं महानगरका एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितप्रति आक्रोश व्यक्त गर्दै प्रश्न गरेपछि स्थिति असहज बन्न पुगेको थियो। यौन दुर्व्यवहारको आरोपका लागेका कारण स्थापित आलोचित हुँदै आएका थिए। उनलाई उम्मेदवार बनाएकैमा उनकै दल एमालेभित्र पनि नेताहरु असन्तुष्ट थिए।

‘पुराना नेतालाई पूजा गर्नुपर्ने केही कारण छैन’

नो नट अगेन चलाइरहेकाहरुलाई सामाजिक संजालमा भाइरल बन्न पूर्व प्रधानमन्त्रीविरुद्ध लागेको आरोप पनि लागिरहेको छ। उनीहरुको अभियानले अहिलेका नेतालाई रोक्ने ल्याकत नराख्ने भन्दै सामाजिक सन्जालमै नो नट अगेनलाई व्यङ्ग्य गर्नेहरु पनि नभएका हैनन्।

तर, राजनीतिक विश्लेषक पुरन्जन आचार्य भने उक्त अभियानलाई बिम्बका रुपमा बुझ्नुपर्ने तर्क गर्छन्। ‘कम्तिमा पनि अनुहार फेरिँदा देशको पनि अनुहार फेरिन्छ कि भन्ने बिम्ब हो यो। यसलाई अन्यथा भन्न मिल्दैन,’ आचार्यको मत छ। आचार्य पूर्व प्रधानमन्त्रीविरुद्धको अभियानलाई युवा आक्रोशसँग पनि जोडर हेर्छन्। वर्षौसम्म उनै नेताहरुबाट शासित हुँदा पनि देशको अवस्था परिवर्तन नभएपछि अहिले आक्रोश बढेको आचार्यले बताए।

आचार्यको फेसबुकबाट


 

उनले भने, ‘शेरबहादुर नै पहिलोपटक प्रधानमन्त्री भएको अहिले वर्षौंको फरक भइसक्यो। यो बिचमा केही पनि डेलिभरी भएको छैन। यो मुलुक अगाडि बढेको छैन। बेरोजगारी, अभाव, महँगी भ्रष्टाचार सबै यिनीहरुकै अनुहारमा देखिन्छ नि। यिनीहरुलाई नै पूजा गर्नुपर्ने केही कारण छैन। यिनीहरुले जितेर आए भने चलाउने यसरी नै हो।’

आचार्य प्रतिनिधिसभामा शीर्ष नेताका विरुद्धमा उभिने उम्मेदवारको जितलाई नकार्दैनन्। तर, देशव्यापी रुपमा भने त्यो सम्भव छैन। स्थानीय तह निर्वाचनको परिणामकै आधारमा प्रतिनिधिसभाको निर्वाचनमा जित निकाल्न स्वतन्त्रहरुलाई मुस्किल छ। ‘सम्भावना नै नभएको होइन। जति सजिलै स्थानीय निर्वाचनमा जित भएको थियो प्रतिनिधिसभामा जित्न गाह्रो छ। अर्बानबेस काठमाडौं, पोखरा, विराटनगर धनगढीतिर अलिकति परिवर्तन पार्टीभन्दा बाहिर पनि निस्कँदाखेरि मतदाताको निजी स्वार्थमा धक्का लाग्दैन, त्यस्तोमा सम्भव होला। मुलुकभरि नै त्यसको कल्पना गर्दाखेरी अतिशयोक्ति हुन्छ,’ आचार्यले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell