PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फेन्सिङको अनिश्चित भविष्यमा आफ्नो भविष्य खोजिरहेकी शिक्षा, तरबार बोकेको हातमा समाउन चाहन्छिन् स्टेथोस्कोप



हेम रोकाहा

फेन्सिङको अनिश्चित भविष्यमा आफ्नो भविष्य खोजिरहेकी शिक्षा, तरबार बोकेको हातमा समाउन चाहन्छिन् स्टेथोस्कोप

७ वर्षअघि। शिक्षा नापितको जीवनमा अप्रत्यासित मोड आयो। सानैदेखि निकै लगाव रहेको जिम्नास्टिक उनले एकाएक त्याग्नुपर्‍यो। कारण बन्यो भूकम्प।

भूकम्पका कारण ट्रेनिङ गर्ने जिम्नास्टिक हल तथा दशरथ रंगशाला पनि क्षतिग्रस्त बनेपछि उनको जिम्नास्टिक यात्रामा ‘ब्रेक’ लाग्यो। त्यसअघि उनको जिम्नास्टिक करियरको रफ्तार बढ्दो क्रममा थियो।

जिम्नास्टिक टुर्नामेन्टमा सहभागी हुन उनी काजकास्थानसम्म पनि पुगिसकेकी थिइन्, ११ वर्षको उमेरमै। देशभित्रकै प्रतियोगिताहरुमा पनि उनले विभिन्न पदक जितिसकेकी थिइन्। अझै धेरै केही गर्नु थियो उनलाई। तर, ७/८ वर्षदेखिको मेहनत पानीमा बग्ने भएपछि भक्कानिइन् शिक्षा।

शिक्षालाई अर्को कुनै खेलमा अघि बढ्न उनका बुबाले सल्लाह दिए। खेल रोज्ने जिम्मा पनि उनैलाई दिए। टेबलटेनिस, ब्याडमिन्टन खेल्ने कि भनेर पनि सोचिन्। यसैबिच शिक्षाको नजर पर्‍यो फेन्सिङमा। त्यसबेला दरबारमार्गको शेर्पा मलमा यसको ‘डेमोन्स्ट्रेसन’ भइरहेको थियो।

नयाँ खेल, नयाँ अवसर। शिक्षाले फेन्सिङ नै रोजिन्। तर, यसको ट्रेनिङ हलहरु थिएन। शिवपुरी स्कुलमा यसको ट्रेनिङ लागि स्थान बनाइएको थियो, अन्य खेलसँगै। सुरुको तीन वर्ष उनले त्यहीँ ट्रेनिङ गरिन्।

फेन्सिङमा पनि उनको रुचि ‘सेबर’मा छ। फेन्सिङको तीन वटा विधा हुन्छ : फोइल, सेबर र एपे। हरेकमा फरक तरबारको प्रयोग हुन्छ र हरेकमा फरक नियम।

सेबरमा प्रयोग हुने तरबार फोइलको भन्दा थोरैमात्र सानो हुन्छ। यसलाई फेन्सिङको सबैभन्दा छिटो हुने खेल मानिन्छ। यसमा तरबारको टुप्पोले नै प्रतिस्पर्धीलाई घोच्नु पर्छ भन्ने हुँदैन। प्रतिस्पर्धीको कम्मरभन्दा माथिको भागमा तरबारले छोए अंक पाइन्छ।

पढ्नुस : महङ्गो खेल, थोरै लगानी : छोटो समयमै अन्तर्राष्ट्रिय पदक ल्याएको ‘फेन्सिङ’बारे थाहा छ?

करिब चार वर्षभन्दा बढी भयो शिक्षाले फेन्सिङ खेल्न थालेको। यस अन्तरालमा उनले ५/६ वटा प्रतियोगितामा भाग लिइसकेकी छिन्। २०७७ सालमा भएको राखेप च्याम्पियनसिपमा शिक्षाको टिमले सिल्भर मेडल जितेको थियो। त्यसपछि नेपालगंजमा भएको अर्को प्रतियोगितमा व्यक्तिगत र टिमतर्फ दुवैमा ब्रोन्ज जितिन्।

त्यसपछि १३ औँ साग भयो। त्यसमा उनले सिल्भर हात पारिन्। र, केही समयअघि मात्रै भएको वीर गणेशमान फेन्सिङ च्याम्पियनसिपमा उनले व्यक्तिगततर्फ गोल्ड जितिन् भने टिममा ब्रोन्ज आयो।

अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव

शिक्षा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पोल्यान्ड पुगेकी थिइन्। १४ वर्षको उमेरमै पोल्याण्डको तोरुनमा भएको वर्ल्ड जुनियर च्याम्पियनसिपमा उनले सहभागी भएर अनुभव बटुल्ने मौका पाएकी थिइन्।

त्यतिखेर उनी फन्सिङको उच्च निकाय एफआइ फेडेरेसनकै क्याम्पमा सहगाभी थिइन्। त्यो ट्रेनिङ क्याम्पमा पर्दा उनले अन्य इन्टरनेशनल फेन्सरहरुसँग घुलमिल हुने मौका पाइन्। त्यतिबेला नेपालमा उनले अनुभव गरेको फेन्सिङभन्दा बाहिरको अवस्था आकाश पातालको फरक भन्ने थाहा पाइन्।

‘अब हामीहरुको एउटामात्रै हल छ, एक दुई जनामात्रै कोचहरु हुनुहुन्छ, थोरै फेन्सरहरु छ। उनीहरुको एउटा फेन्सरको एउटा कोच हुन्छ। नभए एउटा क्लबमै पर्सनल कोच हुने रहेछ,’ उनले भनिन्, ‘कम्पिटिसन पनि हप्तै पिच्छे हुन्छ। ट्रेनिङ गर्ने ठाउँहरु पनि धेरै छ। एउटा ठाउँमा भएन भने म अर्को ठाउँमा जान्छु भन्न पनि पाउँछ। धेरै अप्सनहरु छ।’

अन्य देशका खेलाडीहरु प्रायःजसो पूर्ण रुपमा नै खेलमा लाग्ने गरेको शिक्षा बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो त त्यसरी लाग्न कि क्लबहरु आर्मी एपीएफमा जोइन् हुनुपर्छ, हामी सिभिलहरु त स्पोर्ट्समा मात्रै लाग्न त सक्दैन नि त। उनीहरुलाई चाहीँ फुलटाइम स्पोर्ट्स मात्रै गर्छु भन्यो भने त्यो फेसिलिटी पनि छ।’

अन्तर्राष्ट्रिय खेल खेल्दा नेपालमा खेलेको भन्दा निकै फरक लाग्यो उनलाई।

अन्तर्राष्ट्रिय फेन्सिङको अनुभव सुनाउँदै उनले भनिन्, ‘हामीले यहाँ खेलेको भन्दा बाहिरको खेल धेरै नै फरक हुन्छ। यहाँ गर्न सक्छु भनेको कुरा त्यहाँ पुगेर गर्न सकिरहेको हुँदैन। अनएक्सपेक्टेड्ली गेम टर्न भइदिन्छ। उनीहरुको लेभल नै धेरै हाइ छ हामीहरुको लेभल भन्दा। हामी यहाँको बेस्ट भएपनि त्यहाँ लास्ट तिर नै हुन्छ।’

उनीसँग हालसम्म चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ। त्यसमा पनि उनलाई साग गेम्सका क्षणहरु अलि बढी विशेष लाग्छ। जतिबेला उनको टिमले फाइनलमा भारतसँग खेलेको थियो।

‘इन्डिभिजुअलमा फर्स्ट पुल राउन्डमा चाहीँ राम्रो भइरहेको थियो। पछि नकआउट राउन्डमा चाहिँ बिग्रियो। तर, टिम इभेन्टमा चाहीँ हामी फाइनलमा पुगेथ्यौँ भारतसँग। त्यो बिच्चको पिस्ट (फेन्सिङ खेल्ने ठाउँ)मा खेल्दा छुट्टै थियो भाइब्स,’ शिक्षाको मुहारमा उत्साह देखियो।

पढाइमा पनि अब्बल

फेन्सिङ त शिक्षाको ‘प्यासन’ भइहाल्यो। तर, उनलाई विज्ञान विषय पढ्न पनि निकै मन थियो। बुबाले अरु विषय लिए खेलमा सजिलो हुन्छ भन्ने सल्लाह दिएका थिए। तर, अन्त्यमा उनले विज्ञान विषय नै लिइन्।

नयाँ बजारस्थित प्राइम ग्लोबल स्कुलमा कक्षा १२ मा पढ्छिन् उनी अहिले। जुन उनको घरबाट नजिकै छ। फेन्सिङको लागि नै सहज होस् भनेर उनले घरनजिकैको कलेज रोजेकी हुन्। पढाइ बिहान भएकाले उनको ट्रेनिङ चाहीँ बेलुका। पहिले दिउँसोको पढाइ हुँदा ट्रेनिङको लागि उनलाई निकै धपेडी भएको थियो। त्यसपछि उनी बिहानको कक्षामा सरिन्। पढाइ र खेलको दबाबका बिच पनि उनले कक्षा ११ मा राम्रै गरिन्। शिक्षकहरु पनि उनको निकै तारिफ गर्छन्।

कक्षा ११ को नतिजामा शिक्षा ‘टप थ्री’मा आएको बताउँछन् स्कुलका प्रोग्राम डाइरेक्टर लिला बहादुर कुँवर।

कुँवरले भने, ‘शिक्षा हाम्रो वान अफ द बेस्ट स्टुडेन्ट हो। उनी टप थ्री भित्रको स्टुडेन्ट हो। उसले निकै मेहेनत गरिररहेको छ। साइन्स पढेर मेडिकल फिल्डमा जान्छु भनेर उसले पहिल्यै योजना बनाएर अघि बढेको छ।’

शिक्षा आफ्नो कक्षाको ‘क्लास प्रिफेक्ट’ हुन्। त्यो अर्थमा उनी अनुशासनमा कमी हुने कुरै भएन। शिक्षकहरुसँगको उनको व्यवहार पनि राम्रो छ।खेलका कारण पनि उनले कहिले काहीँ पढाइमा पूर्ण रुपमा ध्यान दिन सक्दिनन्। नभए अरुबेला भने उनले आफ्नो १०० प्रतिशत नै दिएको प्रोग्राम डाइरेक्टर कुँवरले बताए।

‘उसले दुवैतिर टाइम म्यानेज गरिरहेको छ। हामीले चाहिँ स्यालुट गर्नुपर्छ उसको मेहनतप्रति,’ उनले सुनाए। आन्तरिक परीक्षा र ट्रेनिङको समय जुद्धा स्कुलले पनि सम्भव भएसम्म समय मिलाइरहेको उनको भनाइ थियो।

शिक्षा पहिले त नियमित नै हुन्थिन् ट्रेनिङमा। अहिले चाहीँ पढाइले गर्दा हप्ताको तीन दिनमात्रै उनी प्रशिक्षणमा हुन्छिन्। ‘टाइम म्यानेज गर्न नि गाह्रै छ। पढाइलाई पनि सँगै लानु पर्‍यो। पढाइ गरेन भने त गाह्रो छ,’ शिक्षा भन्छिन्।

पहिले त उनी फेन्सिङ खेल्छिन् भनेर कलेजमा उनका साथीहरुलाई थाहा थिएन। अहिले भने उनीहरुले पनि पत्तो पाइसके।

शिक्षा भन्छिन्, ‘साथीहरु पनि मोटिभेट हुन्छ मबाट, साइन्स लिएको मान्छे स्पोर्ट्समा पनि लागेको भनेर।

डाक्टर बन्ने सपना

बाल्यकालदेखि नै खेल क्षेत्रमा लागेकाले ‘स्पोर्ट्स’ छोड्न नसक्ने बताउँछिन् शिक्षा। कुनै न कुनै रुपमा यसमा जोडिइरहने उनको लक्ष्य छ। यो उनको लागि ‘एडिक्सन’ जस्तै बनेको छ। सम्भव भएसम्म फेन्सिङ र पढाइलाई सँगै लैजानु उनको लक्ष्य छ।

‘बाहिर अथवा नेपालमै पढेँ भनेपनि दुवैलाई सँगै लान मन छ। फेन्सिङ भनेको प्यासन जस्तो पनि भयो। एकेडेमिक्समा पनि छुट्टै लक्ष्य छ। मेरो अभिभावकहरुले पनि त्यही गर भनेर साथ दिनुभएको छ।’

फेन्सिङमा लागिसकेपछि पढाइ र यसलाई सँगसँगै लैजाँदा केही दबाब भने पक्कै पनि छ उनलाई। तर पनि उनी फेन्सिङमा रमाउन भने छाडेकी छैनन्।

‘फेन्सिङमा जोइन गरिसकेपछि पढाइको प्रेसर पनि निकै हुन्छ। तर, यहाँ जति ट्रनिङ गरेपनि रमाइलो लाग्छ। एउटा इन्टरटेनमेन्ट पनि भइराछ फेन्सिङ,’ उनले सुनाइन्।

खेलमा मात्रै लागेर जीवन धान्ने कुरामा भने सशंकित छिन् उनी। उनको लक्ष्य चिकित्सक बन्ने पनि छ। र, त्यसै अनुसार उनले पढाइमा मेहनत गरिरहेकी छिन्। अन्कनाउँदै आफ्नो भविष्यबारे उनले बेलिविस्तार लगाइन्, ‘जीवनभर नै स्पोर्ट्समा लाग्छु भन्ने त छैन किनकी मेरो इन्ट्रेस्ट मेडिकल लाइनमा पनि छ। तर, स्पोर्ट्समा मात्रै लागेर जीवन धान्न त अहिलेको अवस्थालाई हेर्दा अलि गाह्रै छ, कि त क्लबहरुतिर लाग्नुपर्‍यो। स्पोर्ट्समा राम्रो भयो भने यसैलाई प्राथमिकता पनि दिन सक्छु।’

बुबाको नजरमा 'स्वतन्त्र चरी'

धापासीस्थित एक सहकारी संस्थाको माथिल्लो तल्लामा एउटा हल छ। काठमाडौं फेन्सिङ एकेडेमीको सो हलमा शिक्षालगायत केही फेन्सरहरु एकछिनको वार्मअप पछि एकअर्का विरुद्ध तरबार लिएर उत्रिन्छन्।

अधिकांश समय शिक्षालाई एकेडेमीसम्म पुर्‍याउन बुबा अनिल नापित नै पुग्छन्। अलिकति बुबा हुनुको जिम्मेवारी अनि धेरै माया र छोरीको हौसला बढाउनका लागि। कहिलेकाहीँ बिहान ट्रेनिङ हुँदा शिक्षा आफैँ साइकल लिएर एकेडेमी पुग्छिन्, बिहानपख ट्राफिक अलि कम हुने भएकाले पनि। साँझ सवारी साधनको आवतजावन अलि बढी हुने गर्छ। त्यसैले धेरैजसो समय बुवाले नै पुर्‍याउने र ल्याउने गर्छन्।

शिक्षालाई खेलाडी नै बनाउने उनको योजना त थिएन तर छोरी स्वस्थ र बलियो होस् भन्ने हेतुले उनले जिम्नास्टिकमा लगाइदिएका थिए। जिम्नास्टिकमा उनको प्रदर्शन निकै राम्रो हुँदै गएको थियो। झापामा भएको मदन भण्डारी अन्तरस्कुल प्रतियोगितामा गोल्ड मेडल जितेपछि सबैले शिक्षाको तारिफ गर्न थाले।

‘उसले निकै इन्ट्रेस्ट दिएर राम्रो खेल्दै गएपछि एकजना गुरुहरुले मलाई छोरी राम्रो खेल्छ जिम्नास्टिक, उसलाई म काजकास्तान लान्छु भन्नुभयो। सात कक्षामा हुँदा। मलाई पनि खुसी नै लाग्यो हुन्छ भनेँ,’ उनको मुहारमा खुसी देखियो।

छोरीको सफलतामा कत्ति पनि ‘क्रेडिट’ लिन चाहँदैनन् उनी। छोरी आफ्नै परिश्रमले सफल भएको उनी बताउँछन्।

‘उ खेल्दै गयो। उसलाई इन्ट्रेस्ट हुँदै गयो। राम्रो खेलाडी हुँदै गयो। अपोर्चुनिटी राम्रो खेल्दै गएपछि पाउने रहेछ नि। पोल्यान्डमा भएको जुनिएर च्याम्पियनसिपमा भाग लियो। राखेप च्याम्पियनसिप खेल्यो,’ उनी खुसी सुनिए।

खेलमा होस् या पढाइमा उनले छोरीलाई कुनै पनि दबाब दिने गरेका छैनन्। बरु कहिलेकाहीँ हौसला बढाउँछन् अनि सल्लाह पनि दिन्छन्।

‘यही गर यही बन भनेर मैले चाहीँ दबाब दिने गरेको छैन। खेलमा उसको करियर बन्दै गयो। उसको साइन्स पढ्ने इन्ट्रेस्ट थियो पहिलेदेखि। साइन्स पढ्ने भनेपछि पूरै पढेको पढ्यै गर्नुपर्छ भन्ने कन्सेप्ट छ नि त। हुन पनि नेपालमा कोटानै कम हुन्छ हरेक कुराको। त्यसैले मैले पनि उसलाई सकेसम्म पढ नत्र अरु अप्सन पनि छदैछ भनेर भनेको छु,’ छोरीको चाहनाअघि निरिह देखिए उनी, ‘नभए अरु सब्जेक्ट लिएर गेम खेल्यो भने अझै राम्रो हुन्छ कि भन्ने मेरो धारणा थियो तर उसले साइन्स (बायो) नै चुज गर्‍यो।’

बुबा अनिलको खेलाडी पृष्ठभूमि नभए पनि उनी आफ्ना दुई छोरीलाई खेलमा निकै समर्थन गर्छन्। छोरीले खेलमै अब केही गर्नुपर्छ भन्ने उनलाई लागेको छ। कान्छी छोरी १२ वर्षकी भइन्। उनी पनि जुडो खेल्छिन्। जुडोमा उनले पनि केही मेडलहरु घर ल्याइसकेकी छिन्। त्यसो त जवानीमा उनले पनि केही समय कराते खेले। २०४७/४८ तिर उनले करातेमा ग्रीन बेल्टसम्म पाएका थिए। पछि उनले त्यसलाई निरन्तरता दिएनन्।

फेन्सरसँगै आर्टिस्ट

शिक्षा 'आर्ट' गर्न पनि माहिर छिन्। घरका भित्ताहरु उनले कोरेका ड्रइङ/पेन्टिङले सजिएका छन्। ‘साइन्स पढेको भएर दुई वर्ष जति भयो केही गरेको छैन। नत्र राम्रो गर्छ,’ बुबाले छोरीको तारिफ गर्दै भने।

‘लक डाउनको बेला अलि गर्‍यो। एकेडेमीको हलमा पनि उनले बताएको आर्ट झुन्डिएको छ,’ छेउमै रहेकी शिक्षाकी आमा सिर्जना श्रेष्ठ नापितले थपिन्।

त्यतिमात्रै होइन शिक्षा संगीतमा रुचि राख्छिन्। उनी गिटार पनि राम्रो बजाउने बुबाले बताए। ‘तर, अहिले ठूलो भएपछि अलि लजाउँछ,’ उनले भने।

जिम्नास्टिक छोड्नु पर्दा शिक्षा बुबासँग निकै रोएकी थिइन्। त्यतिबेला उनलाई छोरीको निकै माया लाग्यो, अनि उनैले अर्को खेलमा लाग्न पनि सल्लाह दिएका थिए।

‘जिम्नास्टिकलाई नै कन्टिन्यू गर्न पाएको भए उनीहरुको एउटा राम्रो नयाँ टिम हुन्थ्यो। चार जनाको टिम थियो उनीहरुको सानै देखि खेलेको। त्यसमा अहिले कोही टेनिसमा गयो। कोही छोड्दियो। उ चाहीँ फेन्सिङमा,’ विगत सम्झिँदै उनले भने।

छोरीले अझै राम्रो गर्दै जाओस् भन्ने उनको कामना छ। खेल राम्रो हुन राम्रो ट्रेनिकको अपेक्षा पनि उनले गरेका छन्। भन्छन्, ‘राम्रो ट्रेनिङ भए अझै राम्रो हुन्थ्यो होला।’

प्रतियोगिताहरुबाट पुरस्कार स्वरुप जितेको पैसा शिक्षा आफ्नै लागि खर्चिन्छिन्।

‘साग गेमको पुरस्कारले साइकल किनेछ, दुवैजना अहिले साइक्लिङ पनि गर्छन्,’ बुबा अनिलले हाँस्दै भने। खेलको लागि मात्रै शिक्षाको वर्षमा ५० हजार जति खर्च हुन्छ।

आफ्नो लक्ष्यमा सफल हुन पक्कै पनि लगाब, अनुशासन र कडा मेहेनत चाहिन्छ नै। र, त्यसको लागि उनी तयार पनि छिन्। ६ पटक वर्ल्ड च्याम्पियन भइसकेकी युक्रेनकी ओल्हा हर्लानलाई उनले आफ्नो प्रेरणाको स्रोत बनाएकी छिन्। खेल र दैनिकीमा जस्तै खानेकुरामा पनि अनुशासित छिन् शिक्षा। उनलाई जस्तो पायो त्यस्तो खान मन पर्दैन। आफ्नो लागि आफैँ डाइट प्लान बनाएर स्वस्थकर खानेकुरा खाने गर्छिन् उनी।

‘म आफ्नो डाइट प्लान आफैँ बनाउँछु, रिसर्चहरु गरेर। बाहिरको खानेकुरा केही पनि खान्न। कहिलेकाहीँ त्यस्तै पर्‍यो भने मात्रै। जंक फुडहरु खान्नँ। बोइल गरेको खानेकुराहरु धेरै खान्छु। मेरो डाइट प्रोटिन बेस्ड धेरै छ,’ उनले भनिन्।

ओलम्पिक खेल्ने लक्ष्य

नेपालभित्र हुने प्रतियोगितामा आफ्नो स्तरप्रति सन्तुष्ट नै सुनिन्छिन् शिक्षा। यहाँका प्रतियोगिताहरुमा मेडल चाहिँ आइरहेकै हुन्छ उनको, व्यक्तिगर र टिमतर्फ पनि। अब आफ्नो लक्ष्य भनेको अन्तर्राष्ट्रिय स्तरमा केही गर्ने रहेको उनी बताउँछिन्।

‘मलाई चाहीँ फेन्सिङबाट केही गर्नुछ इन्टरनेशनल लेभलमा। नजिकको लक्ष्य भनेको त र्‍याङ्किङ सुरु गर्नुछ। त्यसपछि विस्तारै इन्टरनेशन पोडियममा पनि आफ्नो प्लेस राख्नु छ,’ प्रतिबद्ध सुनिइन् शिक्षा।

त्यसपछिको उनको लक्ष्य भनेको ओलम्पिक खेल्ने रहेको छ। अबको ५/६ वर्षमा विश्व वरीयतामा पनि माथि आउने गरी उनले मेहेनत गरिरहेको सुनाइन्।

उनले भनिन्, ‘मेरो एम भनेको सकेसम्म ओलम्पिक्सको लागि नै सेलेक्ट हुनु हो। धेरै गाह्रो छ त्यसको लागि। अनि ५० को र्‍याङ्किङमा पुग्ने लक्ष्य पनि छ। पुग्छुकि नाई त थाहा छैन तर ट्राई चाहीँ गर्छु।’

सरकारसँग अपेक्षा

फेन्सिङ नेपालमा विस्तारै बामे सर्दै छ। यो पुरानै खेल भएपनि नेपालको लागि भने नयाँ नै हो। यस्तोमा सरकारले सकेसम्म धेरै भन्दा धेरै प्रतियोगिताहरु गर्नुपर्ने उनी बताउँछिन्।

‘त्यस्तो गर्‍यो भने नयाँ फेन्सरहरु पनि आउँछ। भएका फेन्सरहरुले पनि अझै मेहेनत गर्न थाल्छ। अब गेम नै भएन, कम्पिटिसन नै भएन ट्रेनिङ मात्रै गरेको गरेइ गरेर त केही मतलब नै हुँदैन’, उनी गुनासो गर्छिन्, ‘आफ्नो क्षमता देखाउन नै पाइदैन। आफू यो लेभलमा पुगेको रहेछु भनेर आफूलाई थाहा पनि हुनुपर्छ। अब के-के कुरा इम्प्रुभ गर्ने भन्ने थाहा हुनुपर्छ। त्यसको लागि चाहीँ कम्पिटिसनहरु अलि धेरै हुनुपर्छ जस्तो लाग्छ।’

अहिले वर्षमा एक/दुई वटा मात्रै प्रतियोगिता हुन्छ। त्यही एक/दुईटा प्रतियोगिताको लागि उनीहर वर्षभरी नै ट्रेनिङ गर्छन्।

‘के छ मेरो लेभल भनेर हेर्न पनि गाह्रो हुन्छ। एउटा गेम हुन्छ अब कहिलेकाहीँ लकले पनि साथ दिँदैन’, उनी असन्तुष्टि पोख्छिन्, ‘फेरि हामीहरुको गेम जहिले हुन्छ, एक्जाम पनि त्यहीबेला हुन्छ। दुवैसँगै भएर स्टडी र गेमलाई सँगै लान पनि गाह्रै हुन्छ। कहिले राम्रो पर्फर्मेन्स दिन सक्छ, कहिले सक्दैन।’

अनि, सरकारसँग अलि राम्रो ट्रेनिङ हलको अपेक्षा पनि गर्छिन् उनी।

हेर्नुस भिडियो स्टोरी :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell