PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीको मनोदशा : अघिल्लो निर्वाचनमा देउवाको जस्तै



नेत्र तामाङ

ओलीको मनोदशा : अघिल्लो निर्वाचनमा देउवाको जस्तै
फाइल तस्विर : ओलीको सचिवालय

अघिल्लो संघीय निर्वाचनमा नेपाली कांग्रेस वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा उत्रँदै थियो। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेपछि आत्तिएको थियो कांग्रेस, त्यतिबेला चुनावी प्रधानमन्त्री रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाको बोलीबाट त्यो प्रष्ट हुन्थ्यो।

देउवा जहाँ पुग्थे, एउटै बोली हुन्थ्यो -कम्युनिस्टले जिते रुन समेत पाइँदैन।

२०७४ मंसिर १० र २१ गरि दुई चरणमा निर्वाचन हुँदै थियो। त्यसअघि असोज १७ गते एमाले र माओवादी केन्द्रबीच तालमेलमा निर्वाचनमा जाने सहमति भइसकेको थियो।

चुनावको आधा महिनाअघि कात्तिक २१ गते तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी घोषणापत्र संयुक्त रुपमा सार्वजनिक गरेका थिए।

त्यसअघि नै कांग्रेसले कात्तिक १४ गते घोषणापत्र सार्वजनिक गरेको थियो। चुनावी घोषणापत्र सार्वजनिक गर्दा सभापति देउवाले भनेका थिए, ‘कम्युनिस्ट शासन आए कहाँ पाउँछ अधिकार? अन्याय भयो भने रुन पाइन्नँ, रुन पाइन्नँ।’

कांग्रेसलाई धेरैले मन पराउन छाडेको छनक देउवाले त्यतिबेलै दिएका थिए। 'कांग्रेस पार्टी कसैलाई मन परोस् या नपरोस् तर आवश्यकता भइसक्यो देशको लागि,' त्यतिबेला देउवाले भनेका थिए, 'कांग्रेसले नजिते डर त्रासको साम्राज्य सुरु हुन्छ यहाँ।'

त्यसपछि देउवा जुन चुनावी कार्यक्रममा पुग्थे, त्यहाँ फेरि दोहोर्‍याउँथे -कम्युनिस्टले जिते रुनसमेत पाइँदैन।

पार्टीमा त्यतिबेला देउवामाथि चौतर्फी विरोध सुरु भइसकेको थियो। त्यसमाथि वाम गठबन्धनले देउवा आत्तिएका थिए - कांग्रेस चुनावमा पराजित हुँदैछ। त्यसैले पनि उनी छोटो समयमै देशभरका २५ जिल्लामा चुनावी कार्यक्रममा पुगे। तर, उनको दौडाहा खेर गयो। प्रतिनिधिसभाको निर्वाचन प्रचारमा निस्कनसाथ कांग्रेसले आफ्नो पक्षमा प्रत्यक्षमा ७० सिटसहित बहुमत आउने दाबी गरेको थियो। तर, दाबी गरेजस्तो नतिजा आउन सकेन। रोचक पक्ष त के रह्यो भने देउवा पुगेका २५ जिल्लाबाट कांग्रेसको पक्षमा एउटा पनि सिट आएन। प्रत्यक्षमा कांग्रेसले २३ सिटमा चित्त बुझायो। त्यसपछि देउवामाथि चुनावी हारको दोष थुप्रियो। भलै केन्द्रीय समितिमा सबै अपजसको भारी आफूले बोक्न नसक्ने भन्दै देउवा पन्छिए।

अहिले चुनावी दृश्य बदलिएको छ। १४ औं महाधिवेशनबाट पार्टीमा देउवाले आफ्नो शक्ति दोब्बर पारेका छन्। देउवाले पार्टीमामात्र शक्ति बढाएनन् आफ्नो नेतृत्वमा स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको जस पनि लिएका छन्।

अघिल्लो निर्वाचनमा बलियो देखिएका ओलीले प्रचण्डसँग काँधमा काँध मिलाएर हर्षित मुद्रामा कांग्रेसप्रति लक्षित गर्दै भनेका थिए, ‘एमाले र माओवादी मिलेर पटकपटक सरकार चलाएकै हो, अहिले चुनावमा मिल्दा कसैले खुट्टा बजार्ने, कसैले कपाल लुछ्ने जस्ता काम गर्न थालेका छन्।’

राजनीतिक रस्साकस्सीमा कहिले दलहरु जुट्छन् त कहिले फुट्छन्। अहिले त्यसैगरि परिदृश्य फेरिएको छ। चुनाव कांग्रेस सभापति देउवाले नै गर्ने भएका छन्। झन्डै दुई तिहाईको मत पाएर सत्तामा पुगेका ओली अहिले सडकमा छन्। दुई पटक संसद विघटन गरेका ओलीकै कारण पाँच दलीय गठबन्धनको नेतृत्व गरेर देउवा अहिले सत्ता हाँकिरहेका छन्। देउवा सत्तारुढ दललाई तालमेल गरेर चुनावमा जाने तयारीमा जुटिसकेका छन्। अनि परिदृश्य नबदले ओली यो निर्वाचनमा अघिल्लो निर्वाचनमा देउवाको जे हाल थियो त्यही हालतमा पुग्ने देखिन्छ। यो झलक स्थानीय निर्वाचनले दिइसकेको छ।

एमाले अध्यक्ष ओली आउने चुनावी परिणामको अनुमान गरेरै क्रोधित हुन थालेका छन्, सशंकित बन्न थालेका छन्।

उनका पछिल्ला गतिविधिबाट यो प्रष्ट हुन्छ। झापा पुगेर आफ्ना कार्यकर्तामाथि खनिएबाटै ओलीको मनोदशा बुझ्न सकिन्छ। दमकमा भएको अगुवा कार्यकर्ता भेलामा ‌ओलीको प्रस्तुति हेर्दा एमाले कमजोर भएको प्रष्ट देखिन्छ। हुँदाखाँदाको सत्ता अधिनायकवादी कदमका कारण छाड्नुपरेको ओलीको शक्ति एकोहोरो ह्रास हुने क्रम जारी छ। कुनै बेला प्रेसमाथि एकपछि अर्को आक्रमणमा उत्रने ओली पछिल्लोपटक नरम हुन थालेको उदाहरण हिमालयन होटलमा सम्पादकहरुसँगको ‘सिटिङ’ले पनि प्रष्ट नै पार्छ। बालुवाटारमा सारङ्गी रेटेर होस् या पाँचथर पुगेर नेपाल केक काटेर चर्चामा आएका ओली पछिल्लोपटक क्यारमबोर्डदेखि टेबलटेनिस खेलेर भुँइमान्छेको मन जित्ने प्रयासमा पनि देखिन्छन्। बालुवाटारबाट बाहिरिएपछि बालकोटको बार्दलीमा पुगेर गर्जेका ओलीको शान अहिले ओइलिएको छ।    

जसरी २०७४ सालको निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भयो - अहिले सत्ता गठबन्धन चुनावमा तालमेलमा उत्रिए एमालेको हालत उस्तै हुन्छ भन्ने त्रास ओलीमा छाइसकेको छ। यही भएर होला ओलीले दमकमा कार्यकर्तालाई २०६४ सालको निर्वाचनलाई सम्झँदै चेतावनी दिन भ्याइहाले। आफ्नै कार्यकर्ताले अरुलाई भोट हालेर आफूलाई हराएको स्मरण गराउँदै उनले आगामी निर्वाचनमा यस्तो गल्ती गर्ने छुट कसैलाई नभएको चेतावनी दिएका छन्।

संविधानसभा सदस्यको लागि २०६४ सालमा भएको निर्वाचनमा ओली माओवादीका विश्वदीप लिङदेनसँग पराजित भएका थिए। तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मानेको दाबी ओलीले गरे।

उनले स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा एमाले हार्नुको कारणबारे पनि कार्यकर्तालाई प्रश्न गरेका थिए ओलीले। उनले दलको झण्डा बोकेर विरोधीलाई भोट हालेर जिताउने छुट कसैलाई नभएको भन्दै आक्रोश व्यक्त गरे। दमक नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामकुमार थापा विजयी भए भने उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार रेगिना भट्टराई।

उनले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई बिहीबार भने, ‘२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो तर जिताएर पठाएको मान्छे आज कहाँ छ?’

झन्डै १५ वर्षअघिको त्यो घटना सम्झिएर किन झस्किए ओली? प्रष्टै छ : अधिनायकवादी कदम चालेर पोलपोलमा टाँसेको नयाँ युगको फोटो र डमी फोटो आतंक चलाएका ओली अहिले कतै १५ वर्षअघिको प्रकरण दोहोरिन्छ कि भन्ने त्रासमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell