
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग भेट्ने इच्छा अधुरै रहेको बताएका छन्। आज बिहान जापानको राजधानी टोकियो पुगेका पूर्व प्रधानमन्त्री प्रचण्डले जापान आउँदा आबेसँग भेट्नेबारेमा कुराकानी भइरहेको बताएका हुन्। आबेको एक महिनाअघि चुनावी सभाका क्रममा गोली हानेर हत्या गरिएको थियो।
‘आबेसँग भेट्ने इच्छा थियो। उहाँसँग भेट्ने भनेर दूतावासमार्फत कुरा भइरहेको थियो। नेपाल र जापानको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेबारेमा उहाँसँग कुरा गर्ने लक्ष्य थियो। जापानमा बिरैले हुने दु:खद् घटना भएको छ’, प्रचण्डले भने।
उनले जापानका सत्तारुढ दलका नेताका साथै सांसदहरुसँग भ्रमणका क्रममा छलफल हुने बताएका छन्। छलफलमा दुई देशबिचको सम्बन्धलाई बिस्तार गर्ने वातावरण बनाउन आफू लाग्ने उनले बताए।
सम्बन्धित समाचार : टोकियो पुगे प्रचण्ड, जापानका लागि नेपाली राजदूत सुवेदीले गरे स्वागत
पाँच दिने भ्रमणका क्रममा टोकिया पुगेका उनले आफ्नो भ्रमण सफल बनाउने जिम्मेवारी त्यहाँ रहेका नेपालीहरुकै हातमा रहेको बताए।
‘कति फलदायी गराउने भन्ने कुरा जापान मै रहेका नेपालीहरुको हातमा छ। कस्तो कस्तो कार्यक्रममा सहभागी गराउन हुन्छ। बिहानको स्वागतले भ्रमण सफल हुने कुरामा विश्वस्त छु,’ उनले भने।
जापान सबैको लागि प्रेरणाको स्रोत भएको भन्दै उनले धवस्त बनाइएको देश कसरी विकसित भयो भनेर सबैले सिक्नुपर्ने बताए। नेपाली जनताले राजनीतिक स्थायित्वसँगै विकास र समृद्धि खोजेको भन्दै उनले नेतृत्वले इमान्दार बने विकास गर्न सकिने बताए।